मुख्य समाचार

आइओएमका डीन डा अग्रवाल पुनः काममा फर्किए

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीन डा जगदिश प्रसाद अग्रवाल पुन काममा फर्किएका छन्। डीनबाट चार वर्षअघि बर्खास्तीमा परेका डा शशि शर्मालाई सर्वोच्च अदालतले पुस २३ गते पुनर्वहाली गरेपछि डा अग्रवालले डीनको जिम्मेवारी सम्हालेका थिएनन्।

अदालतले डा शर्माको पदावधि अझै ४ दिन बाँकी रहेकाले त्यतिन्जेल डीनका रुपमा काम गर्न सक्ने भन्दै परमादेश जारी गरेको थियो। सोही आदेश अनुसार डा शर्माले फैसला भएकै दिन आइओएममा पुगेर पदवहाली गरेका थिए। शर्माको पदावधी हिजोबाट सकिएको छ।

शर्माको पदावधी सकिएपछि आजबाट डा अग्रवालले पुन डीनको जिम्मेवारी सम्हालेका हुन्। डा अग्रवालले सर्वोच्च अदालतको आदेश अनुसार नै आफू नियमित काममा फर्किएको बताए। ‘अदालतको आदेशमा मेरो नियुक्ती गैरकानुनी नभएको भन्ने उल्लेख भएका कारण म पुन डीनको जिम्मेवारीमा आएको हुँ,’ उनले भने, ‘अहिले एमबिबिएस भर्नाका लागि ओपन हाउस काउन्सेलिङको काम भइरहेको छ। म त्यही कामम व्यस्त छु।’ 

कानुन व्यवसायीले पनि डीनमा डा अग्रवालले नै निरन्तरता पाउने बताउँदै आइरहेका थिए। उनीहरुले डा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशमै डा अग्रवालको नियुक्ति गैरकानुनी भन्न नमिल्ने उल्लेख भएकाले डीनमा डा अग्रवालले नै निरन्तरता पाउने बताएका छन्।

‘प्रा डा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको’, सर्वोच्चको फैसलामा भनिएको छ। डा अग्रवालले अदालतको यही आदेश अनुसार डीनको जिम्मेवारी पुन सम्हालेको जानकारी दिए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live