मुख्य समाचार

अनसन तोड्दै डा केसीले भने- 'प्रधानन्यायाधीशले राजीनामा नदिए फेरि अनसन बस्छु'

None

काठमाडौं-

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले न्याय बनाउने न्यायालय बनाएरै छोड्ने बताएका छन्।

न्यायालय न्याय बिक्री गर्ने ठाउँ हुन नहुने भन्दै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म न्यान हुन नसक्ने बताए। 'उहाँले राजीनामा दिनुभएन भने फेरि अनसन बस्छु,' उनले भने।

आज बिहान अनसन तोडेपछि बोल्दै उनले न्यायालयप्रति खबरदारी जारी रहने बताए।

अदावधि रहुन्जेल अब डा जगदीशप्रसाद अग्रवाल नै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन रहने भन्दै डा केसीले चार दिनका लागि माफिया र भ्रष्टलाई डिन बनाइएको बताए।

सर्वोच्च अदालतले आइओएमको डिनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई चार वर्षपछि गत आइतबार पुनर्बहाली गर्न आदेश दिएको थियो। प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पक्षमा फैसला सुनाएपछि केसी त्यसको विरोध गर्दै सोमबारदेखि अनसन बसेका थिए।

डिन नियुक्तिसम्बन्धी अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।

बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्न बुधबार आदेश दिएको थियो।

रिहाइ भए पनि उनी पुन: अनसन बसेका थिए। त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई आज  बिहान अनसन तोडाएका हुन्।

सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति गरेपछि उनी अनसन तोड्न सहमत भएका थिए। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने