मुख्य समाचार

किस्ट मेडिकल कलेज खोल्न उच्च अदालतको अन्तरिम आदेश


काठमाडौं- कर्मचारीको आन्दोलनका कारण एक महिनादेखि बन्द रहेको ललितपुरस्थित किस्ट मेडिकल कलेज तत्काल खोल्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

मेडिकल कलेज सञ्चालकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालतले अन्तरिम आदेश दिएको हो। अत्यावश्यकीय सेवामा बन्द-हडताल गर्न नपाइने सर्वोच्च अदालतको नजिरका आधारमा अन्तरिम आदेश जारी गरिएको हो।

दुवै पक्षको कुरा सुनेपछि न्यायाधीश भोलानाथ चौलागाईं र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले किस्ट तत्काल खोल्न अन्तरिम आदेश दिएको हो। इजलासले आन्दोलनरत कर्मचारीलाई के-कति कारणले अस्पताल बन्द गराइएको भन्ने विषयमा कारण समेत मागेको छ।

तलब वृद्धि, कर्मचारी कल्याणकारी कोष फिर्ता, मेडिकल कलेजको अस्पतालमा उपचारमा छुट लगायतका माग गर्दै कर्मचारीहरुले गत मंसिर ३० देखि किस्टमा आन्दोलन थालेका थिए। उनीहरुको आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन र अस्पतालको सेवा ठप्प भएको थियो।

मेडिकल कलेज बन्द भएपछि आन्दोलनरत कर्मचारीसँग सहमति हुने संकेत नदेखेपछि व्यवस्थापन पक्ष उच्च अदालत गएको थियो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने