समाचार

एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै टेलिफोन नम्बर हुने

किरण भट्टराई 

काठमाडौं- सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ। 

देशभरबाट ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो। एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नम्बर १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नम्बर रहनेगरी व्यवस्था गर्नुपर्ने उल्लेख छ। 

निर्देशिकामा एम्बुलेन्स सञ्जाल तथा ट्रयाकिङ अन्तर्गत एउटै क्षेत्रमा सेवा पुयाउनेगरी एकभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेका अवस्थामा सबै एम्बुलेन्सलाई एउटै सञ्जालमा आबद्ध हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। 

एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एक केन्द्रीय ‘डिस्प्याच सेन्टर’ रहने र आवश्यकतानुसार अन्य स्थानमा पनि त्यस्ता सेन्टर रहन सक्ने निर्देशिकामा उल्लेख छ। त्यस्तो ‘डिस्प्याच सेन्टर’ सञ्चालनका लागि आकस्मिक उपचार वा एम्बुलेन्स सेवाको क्षेत्रमा ज्ञान र अनुभव भएको संस्थासँग सञ्चालन साझेदारी गर्न सक्ने उल्लेख छ। 

यसअघि प्रहरीलाई फोन गर्नुपरे १००, दमकललाई फोन गर्नुपरे १०१, ट्राफिक प्रहरीलाई फोन गर्दा १०३, बालबालिका हराएमा १०४ र फोन नम्बरबारे जानकारी लिन १९७ को प्रयोग हुँदै आएको छ। 

निजी क्षेत्रबाट काठमाडौं उपत्यकाभित्रका हकमा १०२ नंमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिए पनि सरकारी तहबाट भने कुनै नम्बर कार्यान्वयनमा छैन। स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा मेडिकल टिम्स इन्टरनेसनल (एमटिआई), नेपालको सहयोगमा धादिङमा परीक्षणका रुपमा ११२ नम्बरलाई एम्बुलेन्सको नम्बरका रुपमा प्रयोग गर्ने योजना बनाएको मन्त्रालयका उपसचिव राजीव पोखरेलले जानकारी दिए। 

सो नम्बरका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको र दूरसञ्चार प्राधिकरणसँग छलफल जारी रहेको उनले बताए। उनले भने, 'पहिलो चरणमा धादिङमा यो नम्बरलाई परीक्षणका रुपमा प्रयोग गर्छौं। भविष्यमा देशैभरि सोही नम्बरलाई प्रयोग गर्ने तयारी मन्त्रालयको छ।' 

यसले देशभरि एउटै एम्बुलेन्स नेटवर्किङ बन्ने र एम्बुलेन्स सेवा सहज र सरल रुपमा पाउन सकिने आफूहरुले विश्वास लिएको उनले बताए। मेडिकल टिम्स इन्टरनेनशल, नेपालका लागि देशीय निर्देशक विमल विष्टले आफूहरुले सञ्चालनमा ल्याएको ‘आपतकालीन चिकित्सा प्रणाली’ कार्यक्रम अन्तर्गत एउटै टेलिफोन नम्बरका लागि सरकारसँग सहकार्य गरिरहेको बताए। 

एउटा टेलिफोन नम्बर मात्रै हुँदा सेवाग्राहीलाई सम्झन सजिलो हुने र आपत्कालीन समयमा सेवाग्राहीले सहजै सम्पर्क गर्न सक्ने उनले बताए। जिल्ला जनस्वास्थ्य कार्याल, धादिङका प्रमुख महेश्वर श्रेष्ठले ११२ नम्बरलाई जिल्लामा एम्बुलेन्स नम्बरका रुपमा प्रयोगका लागि आफूहरुले केन्द्रमा सिफारिश गरिसकेको जानकारी दिए।

सो नम्बर सञ्चालनका लागि आवश्यक प्रक्रिया सुरु भएको र रेडियोमिटर राखेर डिस्प्याच सेन्टर स्थापनाको समेत काम अघि बढेको छ। जिल्लामा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जनस्वास्थ्य कार्यालयमा दर्ताका लागि ३० दिनको समय दिएर सूचना जारी गरिसकिएको र अब दर्ता नभएका तथा एम्बुलेन्सका लागि मापदण्ड पूरा नभएका एम्बुलेन्सलाई जिल्लामा सञ्चालनमा रोक लगाइने उनले बताए। 

एम्बुलेन्स निर्देशिकाले तोकेका मापदण्ड पूरा भएकालाई मात्रै सञ्चालन गर्न दिइने उनले स्पष्ट पारे। 

एम्बुलेन्स निर्देशिकाले चालकका हकमा कम्तीमा २५ वर्ष पूरा भएको, चालकका रुपमा न्यूनतम पाँच वर्ष काम गरेको, राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेबमोजिमको प्राथमिक उपचारको तालिम लिएको हुनुपर्ने व्यवस्था गरे  पनि यो पूर्णरुपमा कार्यान्वयनमा भने आउन सकेको छैन। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live