मुख्य समाचार

जुम्ला : भूकम्प प्रतिरोधी स्वास्थ्यचौकी भवन, स्थानीयबासी खुसी

धनबहादुर क्षेत्री

जुम्ला– हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउँछन्। भवनको फेददेखि टुप्पोसम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन्। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका हुन्। स्वास्थ्य चौकी भवन बनाउने कामदार भक्त बहादुर रावत जिल्लाकै पहिलो भूकम्प प्रतिरोधी भवन भएको बताउँछन्। उनले भने, 'पटक-पटक प्राविधिक जनशक्तिको निगरानीका साथै दक्ष कामदारको प्रयोग र भवन आचारसंहिता अनुसार निर्माण भएकाले यो भवन भूकम्प प्रतिरोधी भएको हो।'

महावैपातारखोलाको भवन अहिले स्थानीयको आकर्षणको केन्द्र बनेको छ। स्थानीय कामदारले ढुंगाको मात्रै काम गरेका थिए। पम्लिङ, रगरोहनको काम बाहिरबाट झिकाइएका कामदारले गरेका हुन्। स्थानीय बखतबहादुर अधिकारीले स्वास्थ्यचौकी भवन हेर्न लायक मात्र नभई बलियो पनि भएको बताए। उनले भने, 'पहिले स्थानीय घर भाडामा लिएर काम चलाउँदै आएको स्वास्थ्यचौकीले अहिले भूकम्प प्रतिरोधी भवन निर्माण गरेको देख्दा अचम्मित छौं।'

३५ कोठे उक्त भवन अपांगमैत्री, बालबालिका र जेष्ठ नागरिक मैत्री पनि छ। बिरामीलाई लस्करै बस्न मिल्ने व्यवस्था पनि छ। यति ठूलो र बलियो भवन दुर्गममा अहिलेसम्म बनेका छैनन्। 'भवन निर्माण सुरु गर्दा स्थानीयले विरोध गरेका थिए। भवन निर्माणको काम सुरु हुँदा स्थानीयबासीले विरोध जनाएका थिए। तर, अहिले भवन बनेको देख्दा निकै पछुतो मान्ने गरेका छन्,' निर्माण कम्पनी चन्द्रा एन्ड वसन्त कन्ट्रक्सन प्राली ललितपुरका प्रतिनिधि विकलजंग शाहीले भने। 

उनका अनुसार स्थानीयबासीले पछिल्लो समय निकै सहयोग गरेका छन्। उनले भने, 'यहाँका कामदार र निर्माणकर्तालाई फूलमालाले बिदाइ गर्ने योजना बनेको छ।' 

सहरी विकास निर्माण विभाग भवन डिभिजन कार्यालय जुम्लाको १ करोड ६० लाख रुपैयाँ लागतमा भवन बनेको हो। 

स्वास्थ्यचौकीमा सोलार हिटर र पानी टयांकीको व्यवस्थापन भइसकेको छ। बिरामीले निर्धक्कसँग उपचार गर्न पाउने अवस्था सिर्जना भएको स्थानीयबासी बताउँछन्। 

भवन डिभिजन कार्यालयका ओभरसियर चन्द्र खड्का जिल्लामा पछिल्लो समय बनेका स्वास्थ्यचौकी भवन भूकम्प प्रतिरोधी बनेको बताउँछन्। उनले भने, 'गाडीको पहुँच पुगेको स्थानमा राम्रा भवन बनेका छन्। जिल्लाको बड्की, पाण्डवगुफा र पट्मारामा भूकम्प प्रतिरोधि भवन बन्न लागेका छन्।'

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live