मुख्य समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट सरुवा भएका राजेन्द्र पन्तले दिए राजीनामा

None

काठमाडौं– स्वास्थ्यमन्त्री दीपक बोहराले स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट सरुवा गरेको चार दिनपछि डा राजेन्द्र पन्तले सरकारी सेवाबाट राजीनामा दिएका छन्। 

डा पन्तले आज स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखामा घरायसी कारण देखाउँदै राजीनामा पत्र बुझाएका हुन्।

उनको राजीनामा भने स्वीकृत भइसकेको छैन। राजीनामा पत्र बुझाएको स्वीकार गर्दै डा पन्तले भने, ‘घरायसी कारणले गर्दा राजीनामा दिएको हुँ। आजबाट म आम नागरिक भएँ।’

सरकारी सेवामा डा पन्तको कार्यकाल अझै डेढ वर्ष बाँकी छ। अहिले उनलाई स्वास्थ्य मन्त्रालय तानिएको छ।

उनले राजीनामा दिनुको अन्य कारण नखुलाए पनि स्वास्थ्यमन्त्री बोहराले प्रक्रिया मिचेर कनिष्ठलाई महानिर्देशक बनाएपछि उनले राजीनामा दिएको मन्त्रालय स्रोत बताउँछ।

डा पन्तले संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयको पुनर्संरचना गर्ने लगायतका अन्य प्रशासनिक काम अगाडि बढाउने क्रममा विभिन्न अवरोध आइरहेको भने स्वीकार गरे।

‘एउटा रफ्तारमा काम भइरहेको समयमा अपत्यारिलो निर्णय आयो,’ उनले भने, ‘त्यसकारण यस्तो अस्थिरतामा बस्नुभन्दा छाड्नु नै उचित ठानेँ।’

मन्त्री बोहराले पुस ३० गते डा पन्तलाई महानिर्देशकबाट हटाएर पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा तारानाथ पौडेललाई महानिर्देशकमा नियुक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने