प्रवास

कोरियामा जमेका नेपाली डाक्टर

शिव भुसाल

डा राजेशचन्द्र जोशी कोरियन बिरामीको साथ ।


दक्षिण कोरिया - दक्षिण कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रुपमा परिचित छ। कोरिया भन्नासाथ वैदेशिक रोजगारीमा नेपालीको पहिलो रोजाइको देश भनेर धेरैले बुझ्ने गर्छन्। तर, कोरियामा रोजगारीका लागि मात्र होइन अध्ययनका लागि नेपालबाट आउने विद्यार्थीको संख्या पनि उल्लेख्य छ।

कोरियामा आई चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्केका डाक्टरहरु प्रसस्त भेटिएला । तर, कोरियामै चिकित्सा शास्त्र अध्ययन गरी कोरियालाई नै कर्मथलो बनाउने डाक्टर भने नगन्य छन्। त्यसमा पर्छन्, डा राजेशचन्द्र जोशी । ललितपुरको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा पूरा गरेका जोशी २५ वर्षअघि सन् १९९२ मा डाक्टर बन्ने सपना बोकेर कोरिया छिरेका थिए । अमृत साइन्स क्याम्पसबाट आइएससी गरेका डा जोशी कोरियाको सरकारी स्वास्थ्य सेवाको उच्च पदमा पुगेका एक मात्र नेपाली मेडिकल डाक्टर हुन् । उनले यङ्नाम विश्वविद्यालयबाट सन् २००२ मा एमबिबिएस पूरा गरेका थिए।

त्यहीँका प्रोफेसर जङसङ दकको सहयोगमा उनले सन् २००५ मा चर्मरोग (डर्माटोलोजी) मा विशेषज्ञता हासिल गरे । डर्माटोलोजीमा पिएचडी गरेका डा जोशी सन् २००३ देखि नै थेगुको धोङसान अस्पतालमा कार्यरत थिए।

हाल डा जोशी ग्यङ्जु नगरपालिकाको जेरियाट्रिक अस्पतालमा ‘फेमिली मेडिसिन’ प्रमुखका रुपमा कार्यरत छन्।

जोशी प्रवाशमै रहे पनि कुनै न कुनै रुपमा नेपाल र नेपालीको सम्पर्कबाट भने टाढा छैनन् । कोरियामा रहेका नेपालीलाई परेका स्वास्थ्य समस्याको समाधानका लागि उनी विभिन्न माध्यमबाट संलग्न भइरहेका हुन्छन्। 

जोशी भन्छन्, ‘आफ्नो देशमा बसेर हाम्रा आमाबुवाको सहयोग गर्न मेरा विविध समस्याले पाएको छैन। तर, यहाँ रहेर पनि अनलाइन मार्फत तथा मेडिकल क्याम्पहरु राखेर नेपालीहरुको सेवामा लागिरहेको छु।’ 

उनले प्रवासी नेपालीका स्वास्थ्य समस्यामा प्रत्येक शनिबार साँझ अनलाइन मार्फत् परामर्श दिँदै आएका छन् भने कोरियामा रहेका नेपालीका लागि हरेक महिनाको पहिलो आइतबार निःशुल्क स्वास्थ्य परीक्षण क्याम्प सञ्चालन गर्छन् । डा जोशीले कोरियामा रहेका नेपालीलाई भाषादेखि स्वास्थ्य तथा विभिन्न समस्या परेका बेला सहयोग गर्दै आएका छन्।

त्यसैगरी, कोरियाको अस्पताल र चिकित्सकहरुको सहयोगमा हरेक वर्ष उनी नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर लिएर पुग्ने गर्छन्। 

स्वास्थ्य सेवाका अलावा जोशी कोरियाको ‘लभ जस्टिस कमिटी’मा समेत आवद्ध छन् । उक्त कमिटीमा उठेका प्रश्नहरु कोरियाको कानुन मन्त्रालयमा सिधा पुग्ने गर्छ। जोशीले विदेशीलाई परेका कानुनी समस्याहरु त्यहाँ राख्दै आएका छन्। उक्त निकायमा विदेशी नागरिकका रुपमा उनी मात्र सदस्य हुन्। त्यस्तै, जोशी  कोरियाको सरकारी स्वामित्वमा सञ्चालित केबिएस टेलिभिजनको मूल्यांकन समितिमा दोस्रो पटक नियुक्ति भएका छन्। उनी १२ सदस्यीय मूल्यांकन समितिका एक मात्र विदेशी नागरिक हुन्।

जोशी कुनै न कुनै रुपमा नेपाल र नेपालीको सेवामा लाग्न आफूले पहल गरिरहेको बताउँछन् । ‘नेपाल सरकारले देशका प्रत्येक जिल्लामा स्वास्थ्य चौकीहरु स्थापना त गरेको छ तर त्यहाँ औषधि लगायत विषेशज्ञ डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘त्यसको समाधानका लागि अहिलेको इन्टरनेटको जमानामा प्रत्येक स्वास्थ्य चौकीमा एक–एक वटा कम्प्युटर र अपरेटरको व्यवस्था गर्ने र औषधि पनि उपलब्ध गराउने, अनि त्यहाँका बिरामीहरुको समस्या अपरेटरले टाइप गरेर विशेषज्ञ डाक्टरलाई पठाउने हो भने यो माध्यमबाट पनि स्वास्थ्य सेवामा धेरै प्रगति गर्न सकिन्छ ।’ यो प्रविधिका लागि कोरियामै रहेका धेरै सहयोगी हातहरु जुटाएर काम गर्न सकिनेमा उनी विश्वस्त छन्। डा जोशीले त्यसका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

सन् २००८ मा डा जोशीले कोरियन नागरिक स इनसुकसँग विवाह गरे । कोरियन नागरिकसँगको विवाहपछि उनलाई कोरियामा मेडिकल प्राक्टिसको लाइसेन्स लिन केही सहज भयो । उनले पहिला चर्मरोगबाट लाइसेन्स लिएर पछि फेमिली मेडिसिन अध्ययन गरी त्यसमा पनि लाइसेन्स प्राप्त गरेको बताए। 

उनले नेपाल र कोरियाको स्वास्थ्य सेवामा धेरै फरक अनुभव गरेका छन् । कोरियामा निजी होस् वा सरकारी जुनसुकै अस्पतालमा काम गरे पनि त्यो डाक्टरले क्लिनिकमा गएर बिरामी जाँच्न नपाउने उनले बताए । ‘तर, नेपालमा भने एउटै डाक्टरले सरकारी अस्पतालदेखि निजी अस्पताल र क्लिनिकसम्म भ्याएका हुन्छन्,’ उनले भने। 

नेपाल सरकारले डाक्टरहरुले अध्ययनका लागि गरेको लगानी अनुसार पारिश्रमिक नदिँदा प्राइभेट प्राक्टिसमा रमाउनुपरेको उनको बुझाइ छ। भन्छन्, ‘सरकारी अस्पतालमा डाक्टरले वास्ता नगर्ने अनि निजी अस्पतालमा मिहिनेत गर्ने चलनले गरिब जनतालाई नै समस्या परिरहेको छ । धनीले त जसरी पनि उपचार गराउँछन्।’ 

त्यस्तै, नेपालका अस्पतालमा भर्ना भएको बिरामी वा बिरामीका कुरुवालाई पटक–पटक बाहिरबाट औषधि ल्याउन लगाउने चलन आफूलाई मन नपरेको उनले सुनाए । उनले भने, ‘कोरिया फरक छ । यहाँ बिरामी भर्ना भएपछि आवस्यक सम्पूर्ण औषधिको व्यवस्था भित्रैबाट गरिन्छ र एकमुष्ट रकम बिलमा उल्लेख गरिन्छ । त्यसले बिरामी र आफन्तलाई थप झन्झट हुँदैन।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live