मुख्य समाचार

फुटबलर पेले बिरामी भएर अस्पताल भर्ना भएको समाचार गलत

स्वास्थ्य खबरपत्रिका

लन्डन- महान् फुटबलर पेले बिरामी भएर अस्पतालमा भर्ना भएको भन्ने समाचार झुटो भएको उनका प्रवक्ता जोस फोर्नोस रोड्रिग्वेजले प्रस्ट पारेका छन्। 

लामो यात्राका कारण पेलेले थकान महसुस गरेपछि अस्पताल भर्ना गरिएको समाचार बाहिर आएपछि उनका प्रवक्ता रोड्रिग्वेजले सो खबरको खण्डन गरेका हुन्। 

उनका अनुसार पेले हाल आफ्नै घरमा आराम गरिरहेका छन्। 

७७ वर्षीय फुटबलर पेले यसै साताको अन्त्यमा फुटबल राइटर्स एसोसियसन (एफडब्ल्युए) ले आफ्नो सम्मानका लागि आयोजना गर्ने डिनरमा सहभागी हुन लन्डन पुगेका थिए।

तीन विश्पकप जित्ने एक मात्र खेलाडी पेले लगातार डाक्टरको निगरानीमा रहेको एसोसियसनले बताएको छ। तर उनका प्रवक्ताले भने पेले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएको कुरा झुटो भएको प्रस्ट पारे।

‘उहाँ लन्डनसम्मको लामो र तनावपूर्ण यात्रा गर्न चाहनुहुन्थेन। उहाँलाई थाहा छ कि यात्राका क्रममा कति विमान र विमानस्थल भएर गुज्रिनुपर्ने हुन्छ,' प्रवक्ता रोड्रिग्वेजले भने, ‘बस्, यत्ति मात्रै हो।’

गएको वर्ष मिर्गौला र प्रोस्टेटमा आएको समस्याका कारण पेलेलाई अस्पताल भर्ना गरिएको थियो।

हालसम्म संसारकै महान् खेलाडी मानिने पेलेले २१ वर्षको आफ्नो खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोलपोस्टमा छिराएका छन्।

फिफाको शताब्दी वर्ष खेलाडी घोषित फुटबलर पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको छ। १९७० को विश्वकपमा गरेको प्रदर्शनका आधारमा उनलाई गोल्डेन बल प्रदान गरिएको थियो।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live