समाचार

सोलुखुम्बु : स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार भत्ता

None

सल्लेरी, सोलुखुम्बु- मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएवापत गाउँपालिकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने भएको हो।

गाउँपालिकाको प्रथम गाउँसभाले सो निर्णय गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। गाउँपालिका– ३ पञ्चनबाट सो सेवा शुरु गरिएको छ। 

गर्भवती र नवजात शिशुको जीवनरक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले सो काम शुरु गरेको उनको भनाइ छ। उनले भने, ‘स्वास्थ्य संस्थामा प्रसूति गराएको रिपोर्ट पेश गर्ने हरेक आमाले गाउँपालिकाको तर्फबाट रु पाँच हजार पाउँछन्, यो सुविधा प्रदान गर्ने जिल्लाको पहिलो गाउँपालिका हो।’ साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या छ । 

भौगोलिक विकटता रहेको सो गाउँपालिकाका वडा नं ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भए पनि जीप सेवासमेत सञ्चालन हुन सकेको छैन। 

स्थानीयवासीले खोटाङको एेँसेलुखर्क हुँदै ट्र्याक्टरमार्फत सामान ढुवानी गरे पनि सदरमुकाम सल्लेरीलगायत अन्य स्थानमा जानका लागि करिब चार घण्टासम्मको पैदल हिँड्नुपर्ने बाध्यता छ । आकस्मिक बिरामी भएमा साविक जोखिम र जुबुका बासिन्दाले हेलिकप्टरकै प्रयोग गर्छन्। कतिपयले खर्च अभावकै कारण घरैमा प्रसूति गराउने हुँदा अकालमै आमा र शिशुको ज्यान जाने गरेकाले गाउँपालिकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईको भनाइ छ। रासस 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने