समाचार

म्याग्दी : सामुदायिक स्वास्थ्य एकाइ स्थापना

None

काठमाडौं-

बाबियाचौर, म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको आर्वाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। 

भौगोलिक विकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्योपचार सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको हो। 

आर्वाङस्थित गाउँघर क्लिनकको भवनमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको शुक्रबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्दै दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै सहज र सर्वसुलभरुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य एकाइ स्थापना गरिएको बताए। 

स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकाले एक जना अहेबको व्यवस्था गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क वितरण हुने औषधि र उपचार सहयोगी सामग्री सहयोग गरेको छ। 

सामुदायिक स्वास्थ्य एकाइबाट साविक मराङ गाविसको ६ र ७ वडाका १२० घरधुरीमा बसोबास गर्ने करिब ८०० जनसंख्या लाभान्वित भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। 

यसअघि आर्वाङका बासिन्दा सामान्य बिरामी पर्दा दुई घण्टाभन्दा बढी पैदल हिँडेर मराङस्थित स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइने भएपछि स्थानीय बासिन्दा खुशीले गद्गद् भएका छन्। रासस
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने