मुख्य समाचार

उपचार सेवा नहुँदा जुम्लामा मोतिविन्दुका बिरामी मर्कामा

धनबहादुर क्षेत्री

जुम्ला– जुम्ला आखाँ उपचार कन्द्रमा मोतिविन्दुको उपचार हुन नसक्दा बिरामी मर्कामा परेका छन्। मोतिविन्दु भएका आखाँका बिरामीले महँगो खर्च गरेर सुर्खेत नेपालगन्जमा पुग्नुपर्ने वाध्यता छ। नेपाल नेत्रज्योति संघका नेत्र अधिकृत कालीबहादुर रावतका अनुसार वर्षमा ३ सय जनासम्म मोतिविन्दुका बिरामी आउने गरेकोमा कम्तिमा पनि ५० जना रेफर हुने गरेका छन्। अधिकांश मोतिविन्दु भएका बिरामीलाई आखाँ शिविरका माध्यमबाट उपचार गर्दै आएकोमा अघिपछि आएका बिरामीलाई भने रेफर गर्नुपरेको हो।

'मोतिविन्दुको शल्याक्रिया सेवा जुम्लामा नहुँदा उपचार र आउ-जाउ खर्च मात्रै २०-३० हजारभन्दा बढी हुन्छ। सम्बन्धित आखाँ अस्पतालमा शल्यक्रिया खर्च न्यूनतम ५ हजारदेखि १४ हजार रुपैयाँसम्म पर्छ,' उनले भने, 'नेत्ररोग विशेषज्ञ जिल्लामै हुँदा ८-१० हजारमै उपचार सकिन्छ।' 

'प्रत्येक वर्ष दुई पटक निःशुल्क आखाँ शिविरको आयोजना गरेर मोतिविन्दु भएका बिरामीको शल्याक्रिया गर्दै आएका छौं, नेत्र अधिकृत रावतले भने, 'त्यो भन्दा पहिले क्षेत्रगत रुपमा शिविर  राखेर मोतिविन्दुका बिरामीको पहिचान गर्दै आएका छौं।' 

आखाँ अस्पतालमा बिरामीको संख्या बढ्दै गएको अवस्थामा आखाँ अस्पताल स्थापनामा जोड दिनुपर्ने उनको भनाइ छ। 

अहिले दैनिक १० देखि १५ जनासम्म आखाँका बिरामीले केन्द्रमा उपचार गराउँदै आएका छन्। धुँवा-धुलोसँगै, चोटपटक र घाँस दाउरा जाँदा छारो बिझ्ने समस्यका कारण आँखामा समस्या आउने गरेको उनले बताए। 

केन्द्रले मोतिबिन्दुका साथै आखाँमा काँडाले गहिरो घोचेको खण्डमा र आँखा फुटेको अवस्थामा बिरामीलाई रेफर गर्दै आएको छ। अहिले महिनामा ५ जना मोतिविन्दुका बिरामी रेफर हुँदै आएका छन्। सामान्य शल्यक्रिया भने आखाँ उपचार केन्द्रमै हुन्छ। जटिल प्रकारका उपचारका लागि रेफर गर्नुपर्ने वाध्यता रहेको उनले बताए। केन्द्रमा सामान्य शल्यक्रियाका लागि चाहिने सबै उपकरण भए पनि मोतिविन्दु उपचारका लागि कुनै साधन छैन। 

मोतिविन्दुका बिरामीको संख्या बढ्दै जाँदा प्रत्येक चौमासिकमा निःशुल्क आखाँ शिविर सञ्चालन गरेर मोतिविन्दुका बिरामीको उपचारलाई सहज बनाउँदै जाने नेत्र ज्योति संघ जुम्लाले जनाएको छ। आखाँ उपचार केन्द्रमा नेत्र अधिकृत, नेत्र सहायक र एक जना कार्यालय सहयोगीको मात्रै दरबन्दी छ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live