फिचर

एउटा उदाहरणीय जिल्ला अस्पताल, जो बनिरहेछ मेडिकल कलेज र निजी अस्पतालको तारो

None

चितवन– चितवनको भरतपुरमा दुई ठूला मेडिकल कलेज छन्। मेडिकल हबको सम्भावना बोकेको चितवनमा निजी अस्पताल पनि बढ्दै गएका छन्। दुई वटा मेडिकल कलेजको बीचमा छ, सरकारी भरतपुर अस्पताल। सरकारी दृष्टिले यो जिल्ला अस्पतालको हैसियतमा छ। तर, सेवा–सुविधाका कारण यो अस्पताल मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरुको टाउको दुखाइको विषय बनिरहेको छ।

भरतपुर अस्पतालले आफूलाई जिल्ला अस्पतालको स्तरभन्दा माथि उठाएको छ। ६ सय बेडको अस्पताललाई बर्सेनि थपिँदै गएका विशेषज्ञ र अतिविशेषज्ञ सेवाले ‘रिफरल अस्पताल’को हैसियत बनाएको छ। न्यून शुल्कमा विशिष्ट सेवा दिइरहेका कारण सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दो छ।

आर्थिक वर्ष २०७२÷०७३ को तथ्यांक केलाउने हो भने यो अस्पतालबाट ओपिडी र इमर्जेन्सी सेवा २ लाख ८ हजार ३ सय ९८ जनाले लिएका छन्। भर्ना भएर उपचार सेवा लिने ४० हजार १ सय ८० जना छन्। यस्तै, प्रिभेन्टिभ सेवा १६ हजार ३ सय ८० जनाले लिएका छन्।

अस्पतालले खासगरी चितवन र आसपासका ८ जिल्लासहित देशका ३५ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ।

विशेषज्ञ सेवा निरन्तर वृद्धि

अस्पतालले निरन्तर रुपमा विशेषज्ञ सेवा वृद्धि गर्दै गएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनी भन्छन्, ‘हामी विशेषज्ञ सेवामा कुनै मेडिकल कलेज र निजी अस्पतालभन्दा कम छैनौं र अस्पताल निरन्तर विकास पनि गरिरहेका छौं।’

अस्पतालमा १४ वटा विभाग छन् र चिकित्सा शिक्षा कार्यक्रमहरु पनि सञ्चालनमा छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले पोस्ट ग्य्राजुएट तहका विद्यार्थीलाई अध्ययनका लागि यस अस्पतालमा पनि पठाउने गरेको छ। यसका साथै नेपाल सरकारको केन्द्रीय तहकै तालिम केन्द्रका रुपमा पनि यसलाई प्रयोग गर्ने गरिएको छ।

अस्पतालमा विशेषज्ञ सेवामा मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, साइक्याट्रिक र डम्र्याटोलोजी सेवा छन्। पछिल्ला वर्षहरुमा जोर्नी प्रत्यारोपण, स्पाइन सर्जरी, आर्थोस्कोपी, न्युरो सर्जरी सुरु गरिएको छ। पेट रोगमा अति विशेषज्ञ सेवा पनि दिन थालिएको छ भने चाँडै कार्डियोथोरासिक र मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्य लिइएको डा मरासिनी बताउँछन्।

डा मरासिनी भन्छन्, ‘चितवन मेडिकल हबका रुपमा विकास भइरहँदा हामीले सेवा विस्तार सोही रफ्तारमा गर्न सकेनौं भने गरिबले सुलभ उपचार सेवा पाउन नसक्ने अवस्था आउन सक्छ। हामी पनि विलय भएर जान सक्छौं। त्यसैले हामी चुस्त विकासमा लागेका छौं।’

अस्पतालले विस्तारित सेवा (इएचएस)मा पनि सर्जरी शुल्क २५ हजार रुपैयाँभन्दा बढी नलिने उनी बताउँछन्। भन्छन्, ‘टाउकोमा आउने समस्याको सर्जरी निजी वा मेडिकल कलेजले गर्ने हो भने दुईदेखि साढे दुई लाख रुपैयाँ धरौटी माग्छन्। यस्तो अवस्थामा गरिबले कसरी उपचार गर्न सक्छ? त्यसैले हामीले सुपथ शुल्कमा न्युरो सर्जरी पनि थालेका हौं।’

अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा पनि छ। १२ बेडमा दुई सिफ्ट डायलाइसिस भइरहेको डा मरासिनीले बताए। स्पाइन इन्जुरी भएकालाई रिह्याबिटेसनका लागि छुट्टै व्यवस्था गरिएको डा मरासिनी बताउँछन्।

उदाहरणीय अस्पताल

नेपाल सरकार अन्तर्गतका जिल्ला र अञ्चल अस्पतालमध्येमा एक उदाहरणीय अस्पताल हो यो। त्यसैले जिल्ला र अञ्चल अस्पतालहरुका बीचमा हुने हरेक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले यो अस्पताललाई उदाहरणका रुपमा पेश गर्छन्। यसबाट सिक्न रिफर पनि गर्छन्।

तर, अस्पतालको अवस्था दुई वर्षअघि खराब थियो। डा मरासिनी, उनको समूह र विकास समितिका पदाधिकारीहरुले सुधारको लक्ष्य लिएर यो अवस्थामा पु¥याएका हुन्। उनी आउनुअघि अस्पताल कति अस्थिर अवस्थामा चलेको थियो भने, दुई वर्षको अवधिमा लगालग चार जना मेसु फेरिएका थिए। यो अस्थिरताले सिंगो अस्पतालको सञ्चालन र सेवा प्रवाहमै असर परेको थियो। चितवनका निजी अस्पताल तथा मेडिकल कलेजले भरतपुर अस्पतालको विकासमा अवरोध खडा गर्ने गर्छन्।

डा मरासिनी आउँदासम्म अस्पतालमा ‘पावर ब्याकअप’ समेत थिएन। बत्ती जानासाथै शल्यकक्ष, एक्स–रे लगायत सारा सेवा बन्द हुने अवस्था थियो। वैकल्पिक ऊर्जाको व्यवस्था गरी उक्त समस्या समाधान हुँदा पनि बिरामीलाई ठूलो राहत मिलेको छ। त्यसपछि सरकारी अस्पतालमा काठमाडौं बाहिर पहिलो पटक भरतपुरमा घुँडाको आर्थोस्कोपी सर्जरी पनि सुरु भयो। यसमा घुँडाको जोर्नी नफुकाली दूरबीनबाट रोग पत्ता लगाई उपचार गरिन्छ।

डा मरासिनी मेसु भएर आउँदा ‘ए’ ब्लकको भवन बनिसकेर पनि प्रयोगविहीन अवस्थामा थियो। उनको प्रयासमा भवन सञ्चालनमा आयो। उक्त भवनमा २० बेडको आइसियू, १८ बेडको पोस्ट अपरेटिभ वार्ड, ६ वटा अपरेसन थिएटर सञ्चालन गरियो।

‘त्यहीँ हामीले मेडिसिन वार्ड र क्याबिन पनि सुरु ग¥यौं’, डा मरासिनीले भने।

अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना भएपछि बिरामीहरु लाभान्वित भएका छन्। ट्रमा सेन्टर ५० बेड क्षमताको छ भने १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ। अस्पतालले उक्त सेन्टरलाई थप विस्तार गर्दै लैजाने योजना बनाइसकेको छ।

अस्पतालले मुख र अनुहारका हड्डी भाँच्चिँदा गरिने शल्यक्रिया (ओरल एन्ड म्यागजिलो फेसियल सर्जरी) सेवा सुरु गरेको छ। यस्तै, अस्पतालमा १६ वटा नियोनेटल केयर युनिट र १२ बेडको छुट्टै एनआइसियू सेवा निःशुल्क उपलब्ध गराइएको छ।

यसैगरी, हिस्टो प्याथोलोजी सेवा, १२८ स्लाइस सिटी स्क्यान सेवा, अक्सिजन प्लान्टको सुरुवात, गुरुयोजना पास र अस्पताललाई प्राविधिकरण गर्ने योजना बनाइएको छ।

प्रसूति सेवा देशभरमै दोस्रो

धेरै प्रसूति सेवा दिने अस्पतालमा काठमाडौंको थापाथलीस्थित प्रसूति गृहपछि भरतपुर अस्पताल दोस्रोमा पर्छ। चितवन र आसपासका अधिकांशले प्रसूतिका लागि भरतपुरलाई नै रोज्ने गर्छन्।

प्रसूति सेवाका लागि जनशक्तिका हिसाबले पनि यही अस्पतालमा धेरै स्वास्थ्यकर्मी छन्।

यो अस्पतालमा वार्षिक करिब १२ हजारभन्दा बढीले प्रसूति सेवा लिन्छन्।  यस हिसाबले दैनिक करिब ४० जना सुत्केरी हुन्छन्। त्यसैले गुरुयोजना अनुसार प्रसूतिको छुट्टै ब्लक बनाउने योजना छ।

गरिब बिरामीका लागि वरदान

भरतपुर अस्पताल विपन्न वर्गका लागि वरदान नै बनेको छ। अस्पतालले गरिब तथा विपन्न नागरिक उपचार राहत कोष खडा गरेको छ। सरकारले दिने निःशुल्क उपचार सेवा पूर्ण नभएकाले त्यसलाई पूर्णता दिन यो कोष बनाएको मेसु डा मरासिनीले बताए। उनका अनुसार, अस्पतालले सामाजिक सेवा इकाइ मार्फत विभिन्न ११ वटा लक्षित समूहमा बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। गत वर्ष मात्र अस्पतालले ९७ लाख ८५ हजार ७ सय ९८ रुपैयाँ बरारको निःशुल्क उपचार सेवा दिएको छ।

भरतपुर अस्पताललाई अन्य सरकारी अस्पतालहरुमध्ये फरक बनाउने डा मरासिनीको समूहको लक्ष्य छ। उनी भन्छन्, ‘नेपालमा सरकारी भन्नेबित्तिकै नाक खुम्च्याउने चलन छ, तर विकसित देशमा सरकारी संस्था सबैभन्दा राम्रो हुन्छ। सरकारी बढी जिम्मेवार, बढी व्यवस्थित, धेरै सेवा र राम्रो जनशक्ति हुनुपर्छ।’

दिउँसो १ बजेपछि डाक्टर नभेटिने अरु जिल्ला र अञ्चल अस्पतालको रोगबाट पनि यो अस्पताल मुक्त छ। यसबाहेक यहाँका डाक्टरले निजीमा रिफर गर्ने गरेको गुनासो पनि कम रहेको डा मरासिनी बताउँछन्।

उनी भन्छन्, ‘यहाँ भेटिएको डाक्टरलाई अर्कोपल्ट बिरामी आफैंले निजीमा खोज्दै जानु अर्को कुरा हो। तर, यहाँका डाक्टरले क्लिनिकमा आफैं बोलाउँदैनन्। सुनियो भने कारबाही हुन्छ।’

अस्पतालले १० बजेदेखि २ बजेसम्म ओपिडी सेवा दिन्छ भने थप एक घन्टा इएचएस सेवा दिन्छ। इएचएसमा पनि ओपिडी शुल्क १ सय ५० मात्रै छ। सर्जरीमा पनि इएचएस सेवा छ। त्यो पनि बाहिरका अस्पतालभन्दा सस्तोमै हुने गरेको उनी बताउँछन्।

असफल बनाउन अनेक प्रयास

अस्पतालप्रति सेवाग्राहीको मात्रै होइन, डाक्टर र नर्सहरुको समेत विश्वास बढ्दो छ। त्यसैले निजी संस्था छाडेर यस अस्पतालमा काम गर्न चाहने डाक्टर र नर्सहरु पनि थुप्रै छन्। तीमध्ये कतिपय अस्पतालमा आइसकेका पनि छन्।

बिरामी र डाक्टर यस अस्पतालतिर केन्द्रित हुनु यहाँस्थित दुई मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाका लागि समस्या बनेको छ। त्यसैले अस्पताललाई असफल बनाउन उनीहरु निरन्तर लागिपरेका हुन्छन्। मेसु मरासिनीलाई सरुवा गराउने असफल प्रयास पनि पटक–पटक भइसकेका छन्।

पछिल्लो समय उनी अस्पतालको जग्गाका विषयमा रहेको सम्झौतामा पुनर्विचार गर्नुपर्ने बताउँदै आएका छन्। यसले अस्पतालको जग्गा निःशुल्क वा सस्तोमा लिएर रजाइँ गरिरहेकाहरुलाई समस्या पारेको छ। यही कारण उनीहरु मेसु डा मरासिनीलाई हटाउन चाहन्छन्।

२०१३ सालमा अस्पताल बन्दा ३१ बिगाहा जमिन छुट्याइएको थियो, जुन अहिले कागजमा मात्रै सीमित छ। अस्पताल भने ११ बिगाहामा खुम्चिएको छ। मेसु डा मरासिनी यो बिचमा आएका अस्पताल व्यवस्थापनको अदूरदर्शी निर्णयले यस्तो अवस्था निम्तिएको बताउँछन्। त्यसैले उनी भन्ने गर्छन्, ‘अस्पतालका लागि ती निर्णय हानिकारक छन्। त्यसैले जग्गा भाडामा वा निःशुल्क लिन गरिएका सम्झौतामा पुनर्विचार गर्नुपर्छ।’

अस्पतालको ९ बिगाहा जग्गा पुरानो मेडिकल कलेजका रुपमा चिनिने कलेज अफ मेडिकल साइन्सेसले भाडामा लिएको छ। सुरुमा प्रतिबिगाहा ५० हजार रुपैयाँ भाडा तोकिएको थियो र बर्सेनि ५ प्रतिशतले बढ्ने सम्झौता थियो। तर, डा मरासिनी मेसु हुनुभन्दा अगाडि व्यवस्थापनले प्रतिबिगाहा प्रतिवर्ष एक लाख रुपैयाँमा नौ बिगाहा जग्गा पुरानो मेडिकल कलेजलाई ५० वर्षका लागि (रकम नबढ्ने गरी) भाडामा दिने निर्णय गर्‍यो। यस्तै, सिटिइभिटीलाई साढे सात बिगाहा र आँखा अस्पताललाई साढे चार बिगाहा जग्गा निःशुल्क उपभोग गर्न दिइएको छ।

यसलाई मेसु डा मिरासिनीले अदूरदर्शी निर्णय भन्दै पुनर्विचारमा जोड गरिरहेका छन्।

उनको यो अडान ती निर्णयकर्ता र कलेज सञ्चालकका लागि टाउको दुःखाइ बनिरहेको छ। यसबाहेक पनि केहीलाई निःशुल्क र केहीलाई न्यून भाडामा दिइएका जग्गा फिर्ता गरी अस्पतालको आम्दानी बढाएर गरिबलाई थप निःशुल्क सेवा दिनुपर्नेमा डा मरासिनीको जोड छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने