मुख्य समाचार

ग्रान्डीसँग १० करोड र बिएण्डबि अस्पतालसँग १ करोड रुपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– राजधानीका दुई ठूला अस्पताल बिरुद्ध आफ्ना बिरामीमाथि लापरबाही गरिएको भन्दै मुद्दा दायर गरिएको छ । ग्रान्डी इन्टरनेशनल हस्पिटल विरुद्ध रु १० करोड  र बिएण्डबि हस्पिटल बिरुद्ध रु १ करोड क्षतिपूर्ति मागदावी सहित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।


अस्पतालहरुले उपचारमा लापरबाही गरी ज्यान जोखिममा पारेको तथा उपभोक्ताको आर्थिक हानी गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालको अगुवाईमा उक्त मुद्दा दायर गरिएको हो । काठमाडौंस्थित मञ्चको केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो ।


पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालको लापरबाहीका कारण ३० वर्षीय छोरा सुदीप विष्टको मृत्यु भएको उनकी आमा चुडा कुमारी विष्टले बताइन् । उनले भनिन्, ‘छाती दुख्यो भनेर मोटरसाइकलको पछि बसेर अस्पताल पुगेको छोरा चिकित्सकका लापरबाहीका कारण गुमाउनुपर्यो ।’ उनले हृदयाघातको आशंका भएकाले आफूहरुले त्यसको उपचार लागि आग्रह गर्दा पनि डाक्टरले ग्याँष्ट्रिकको उपचार गरिरहँदा छोरा गुमाउनु परेको उनले बताइन् । ‘उपचारका क्रममा पनि सही सूचना नदिनु र मृत्युपछि पनि रिपोर्ट दिन अस्पतालले आनाकानी गर्नुले उपचारमा लापरबाही  भएको पुष्टि गर्छ,’ चुडाकुमारीले भनिन् ।  
गत कार्तिक ६ गते दिउसो विष्ट उपचारका लागि अस्पताल पुगेका थिए । काठमाडौं ग्रीनल्यान्ड निवासी विष्ट सोही दिन आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो । उपचार भइरहेको भन्दै आफूहरुबाट अस्पतालले ९ लाख २० हजार ९४ रुपैयाँ ९४ पैसा असुलेको तर भोलीपल्ट बिहान १० बजे मृत घोषणा गरेको आफन्तले बताएका छन् ।


उनीहरुले अस्पतालले भनेजति रकम जम्मा गरेको र लागेको रकम बुझाउन मञ्जुर भएको अवस्थामा विशेषज्ञ उपचार सेवा प्रदान गर्ने र गरेको भनेर झुक्याएको भन्दै मञ्चको कानूनी उपचारको सहयोगमा जिल्ला क्षतिपूर्ति समिति काठमाडौंमा उजुरी गरेका छन् ।


बिएण्डबि बिरुद्ध राईको मुद्दा


यसैगरी ललितपुर ग्वार्काेस्थित बिएण्डबि अस्पताल बिरुद्ध भने इन्द्र कुमारी राईको उपचारमा लापरबाही भएको भन्दै मुद्दा दायर गरिएको हो । राईका श्रीमान् अञ्चल राईले बिएण्डबि अस्पतालमा आफ्नी श्रीमतीको पटक–पटक उपचार गराउँदा १७ लाख ५८ हजार ९ सय ७० खर्च भएको तर सही उपचार नगरेको भन्दै मुद्दा दायर गरेका हुन् ।


गलत उपचारका कारण साइड इफेक्ट भएर बिरामी अवस्था झन् गम्भीर भएको तर अस्पतालले उपचार गर्नुको सट्टा डिस्चार्ज गरेको राईले पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘निको गराउने भन्दै उपचारमा ठूलो खर्च गराएपछि झन् साइड इफेक्ट समेत थपेर जबरजस्ति डिस्चार्ज गरिदियो अस्पतालले ।’ उनले जिल्ला क्षतिपूर्ति समिति ललितपुरमा मुद्दा दायर गरेको जानकारी दिए ।


पछिल्लो समय उपचारमा लापरबाही बढिरहेको भन्दै आफूहरुसँग कानूनी सहायता माग्ने उपभोक्ता बढेको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । उपभोक्तालाई हानी पुर्याइरहने र  एप्लाइड साइन्स भनेर पन्छाइरहने परिपाटीको अन्त्य हुनुपर्ने उनको धारणा छ । उनले भने, ‘मेडिकल नेक्लिजेन्सीका विषयमा नागरिक तहबाट मात्रै होइन, सरकारले नै छानविन गर्नुपर्छ ।’


मञ्चका महासचिव तथा फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईले जनस्वास्थ्य ऐन ल्याउन जरुरी भएको बताए । उपचारका क्रममा उपभोक्तामाथि  ठगी बढेको भन्दै उनले यस्तो बताएका हुन् ।


मञ्चकै अगुवाईमा यसअघि पाटन अस्पतालले उपचारमा लापरबाही गरेबाफत पीडित दुर्गा घिमिरेलाई १५ लाख रुपैयाँ  र शिक्षण अस्पताल र ओम अस्पतालले बैकुण्ठ अधिकारीको उपचारमा लापरबाही गरे बाफत ४२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको जानकारी उक्त कार्यक्रममा दिइएको थियो ।

 


swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने