मुख्य समाचार

चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेन्डा


काठमाडौं- चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बालुवाटारमा बस्न लागेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अयोगको बैठकमा सहभागि हुन पदेन सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका छन्।

डा गोविन्द केसीका माग र माथेमा कार्यदलको सुझाबका आधारमा सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ल्याएको थियो । अध्यादेश गत कार्तिक २४ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो।

अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन हुने व्यवस्था छ । शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोगको स्थापना गरिएको हो ।
आयोगको पहिलो बैठकमा उपाध्यक्ष नियुक्तीको विषय, कार्यालय स्थापना, आयोग कसरी अगाडि बढ्ने, सदस्यहरुको नियुक्ती लगायतका विषयमा छलफल हुने आयोगका सदस्य सचिव लालजंग चौहानले जानकारी दिए।

‘पहिलो बैठकमा आयोगका काम कारवाही कसरी अगाडि बढाउने, कार्यालय कहाँ रहने, उपाध्यक्ष नियुक्तीका लागि समिति बनाउने लगायतका एजेन्डामा छलफल हुने छ,’ उनले भने, ‘बैठकका लागि सदस्यहरु वालुवाटारमा जम्मा भएका छौं ।’

आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा रहने छ । उपाध्यक्ष भने हालसम्म नियुक्ती भएको छैन । यस्तै पदेन बाहेकका अन्य सदस्य पनि नियुक्त भएका छैनन् । अध्यादेशमा चिकित्सा शिक्षामा विशिष्ट योगदान पु¥याएका चिकित्साहरुमध्येबाट सरकारले उपाध्यक्ष नियुक्ती गर्ने व्यवस्था छ । आजको बैठकमा उपाध्यक्ष नियुक्तीका लागि समिति बनाउने छ ।

आयोगका शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने छन् । यस्तै, राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्न सदस्य, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायीक परिषद्का उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयूर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिलका अध्यक्षहरु सदस्य रहने छन् ।

 यसैगरी, चिकित्सा शिक्षा विज्ञहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिला सहित तीन जना, स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरुमध्येबाट कम्तीमा एक जना महिला सहित तीन जना, नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट कम्तीमा एक जना महिला सहित दुई जना, निजी मेडिकल र डेण्टल कलेज सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष, मेडिकल र डेण्टल बाहेकका निजी शिक्षण संस्था सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष पनि सदस्य रहने छन् ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने