मुख्य समाचार

शुल्क, सिट र परीक्षाका विषयमा चिकित्सा शिक्षा आयोगको पहिलो बैठकले गर्‍यो यस्ता निर्णय

img

प्रवीण ढकाल

काठमाडौं- चिकित्सा शिक्षा आयोगको पहिलो बैठक आज बालुवाटारमा बसेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पदेन सदस्यहरु उपस्थित थिए।

आयोगको उपाध्यक्ष र अन्य सदस्यहरु नियुक्ती नभएका कारण अध्यक्ष, सहअध्यक्ष र पदेन सदस्यहरु मात्र पहिलो बैठकमा उपस्थित भएका हुन् ।

बैठकले आयोगलाई पूर्णता दिन उपाध्यक्ष तथा सदस्यहरु छिटो नियुक्त गर्ने, उपाध्यक्ष नियुक्तीका लागि गठित लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिलाई छिटो नाम सिफारिस गर्न लगाउने, आयोगको कार्यालयको व्यवस्थापन सहित चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण, सिट निर्धारण र प्रवेश परीक्षाका विषयमा पनि निर्णय गरेको छ ।

आयोगले पूर्णता पाइनसकेका कारण तत्कालको समस्या समाधानका लागि आयोगले चिकित्सा शिक्षा ऐनकै दफामा रहेका व्यवस्था अनुसार शुल्क, सिट र प्रवेश परीक्षाका विषयमा निर्णय गरेको छ ।

ऐनले चिकित्सा शिक्षा अन्तर्गत स्वास्थ्य पेशा सम्बन्धि सबै विधा र तहमा दिइने चिकित्सा शिक्षा भनेर व्याख्या गरेको छ । त्यसकारण तत्कालै केही विषयको परीक्षा, भर्ना लगायतको काम नजिकिएका कारण समस्या समाधान गर्न एक पटकका लागि आयोग भन्दा बाहिरका संस्थाहरुबाट नै काम गर्ने गरि निर्णय भएको हो ।

आयोगको बैठकमा सहभागि एक सदस्यका अनुसार आयोगले प्रवेश परीक्षाका सम्बन्धमा दफा १६ को उपदफा १ बमोजिम अर्को व्यवस्था नभएसम्म पूर्ववत रुपमा सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थबाट नै हुने निर्णय भएको छ ।

विद्यार्थी भर्नाका लागि सिट निर्धारणका विषयमा सम्बिन्धत काउन्सिलबाट सिट संख्या तोकी आयोगबाट नाम अनुमोदन गराउने निर्णय भएको छ । यो ऐनको दफा १७ को उपदफा १ र दफा १३ को उपदफा ५ ‘क’ अनुसार निर्णय भएको हो ।

यस्तै, शुल्कका विषयमा यसअघि नै सरकारले गरेको निर्णय अनुसार नै गर्ने निर्णय पनि आयोगले गरेको एक सदस्यले स्वास्थ्यखबरलाई बताए । यो पनि ऐनको दफा १८ को उपदफा १ ‘क’ र उपदफा २ ‘क’ अनुसार निर्णय भएको छ ।

सरकारले डा गोविन्द केसीका माग र माथेमा कार्यदलको सुझाबका आधारमा ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ल्याएको हो। अध्यादेश गत कार्तिक २४ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो।

अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन हुने व्यवस्था छ । सरकारले शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोग बनाएको हो ।

आयोगमा शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने छन् । यस्तै, राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्न सदस्य, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायीक परिषद्का उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयूर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिलका अध्यक्षहरु सदस्य रहने छन् ।

यसैगरी, चिकित्सा शिक्षा विज्ञहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिला सहित तीन जना, स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरुमध्येबाट कम्तीमा एक जना महिला सहित तीन जना, नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट कम्तीमा एक जना महिला सहित दुई जना, निजी मेडिकल र डेण्टल कलेज सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष, मेडिकल र डेण्टल बाहेकका निजी शिक्षण संस्था सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष पनि सदस्य रहने छन् ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live