विश्व स्वास्थ्य

प्रयोगशालामै उत्पादन भयो मानव डिम्ब, बैज्ञानिक भन्छन्–उत्साहजनक नतिजा


बीबीसी– प्रयोगशालामा पहिलोचोटि सफलतापूर्वक मानव डिम्बको उत्पादन गरिएको इडिन्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बताएका छन्।

यो प्रविधिले क्यान्सर रोगको उपचार गरिएका बालिकाहरूको प्रजनन क्षमता सुरक्षित राख्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

विज्ञानका लागि रहस्य नै रहेको मानव डिम्बको विकाससँग सम्बन्धित पाटो पनि यसबाट बुझ्न सकिनेछ।

विज्ञहरूका अनुसार यो उत्साहजनक र अद्वितीय उपलब्धि हो। तर चिकित्सकीय प्रयोजनमा ल्याउनका लागि यसमा थप सुधार हुनु पर्नेछ।

जन्मिदा महिलाहरूको डिम्बाशयमा अपरिपक्व डिम्बहरू हुन्छन् जुन यौवनकालमा पूर्ण रूपमा विकसित हुन्छन्।

दशकौँको प्रयासपछि अब डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ।

त्यसका लागि प्रयोगशालाको नियन्त्रित परिस्थितिमा अक्सिजन, हर्मोन र प्रोटिन एवम् डिम्ब हुर्काउन प्रयोग गरिने माध्यम आवश्यक पर्छ।

वैज्ञानिकहरूले यो सम्भव भएको देखाए पनि 'मलिक्युलर ह्युमन रिप्रडक्शन' जर्नलमा प्रकाशित पद्धतिमा थप सुधार आवश्यक छ।

जम्मा १० प्रतिशत डिम्ब मात्र परिपक्व हुने भएकाले यो कम प्रभावकारी मानिएको छ।

यसरी विकसित डिम्बहरूको निषेचन नगरिएको हुनाले ती कति उत्पादनशील हुन्छ त्यो अनिश्चित नै छ।

"मानव तन्तुको विकासको यो चरणसम्म पुग्न सम्भव छ भन्ने मान्यताको प्रमाण पाउनु धेरै उत्साहजनक हो," प्रा इभेलिन टेल्फरले बीबीसीलाई बताइन्। उनी अनुसन्धानकर्तामध्ये की एक हुन्।

उनका अनुसार डिम्ब विकास गर्ने परिस्थिति र डिम्बको गुणस्तर परीक्षणका लागि धेरै काम हुन आवश्यक छ।

"तर चिकित्सकीय प्रयोगमा बाहेक मानव डिम्ब विकास बुझ्नका लागि यो ठूलो उपलब्धि हो," उनले भनिन्।

मानव शरीरमा डिम्बको विकास धेरै नियन्त्रित परिस्थितिमा हुन्छ। केही डिम्बहरू किशोरावस्थामा विकसित हुन्छन् भने बाँकी अरू त्यसको बीस वर्षपछि।

विकासका क्रममा डिम्बले आफूसँग भएको आधा आनुवंशिक सामग्री गुमाउनु पर्छ। नत्र त्यसलाई शुक्रकीटले निषेचन गर्दा धेरै डीएनए हुन जान्छ।

त्यो अधिक परिणाम 'पोलर बडी' भनिने सूक्ष्म कोषमा विसर्जित हुन्छ। तर यो अध्ययनमा पोलर बडीहरू अस्वाभाविक रूपमा ठूला देखिएका थिए।

यो चिन्ताको विषय हो, प्रा टेल्फरले भनिन्।

तर प्रविधिमा सुधार गर्दा यसको समाधान हुन सकिन्छ भन्ने उनको धारणा छ।

बीस वर्षअघि सङ्कलन गरिएको मुसाको डिम्बमा यही प्रविधि प्रयोग गर्दा जीवित पशु उत्पादन गरिएको छ।

यही उपलब्धिलाई मानव तन्तुमा प्रयोग गरी अन्तत: क्यान्सरको उपचार गरेका बालिकालाई सहयोग गर्न सकिन्छ।

क्यान्सरको उपचार गर्न प्रयोग हुने किमोथेरापी र रेडिओथेरापीले बाँझोपन गराइदिन सक्छन्।

महिलाले आफ्ना डिम्बहरू मात्र हैन भ्रूण पनि उपचारपूर्व जमाएर सुरक्षित राख्न सक्छन्। तर बाल्यकालमा त्यसो गर्न सम्भव हुँदैन।

तर बालिकाहरूको डिम्बाशयको तन्तु त्यसरी सुरक्षित राखेर उपचार थाल्न सकिन्छ। पछि आफ्नै सन्तान पाउँने इच्छा हुँदा त्यो तन्तु यौवनकालमा डिम्बमा फेरि आरोपण गर्न सकिन्छ।

तर जमाइएको सामग्रीमा कुनै असामान्यता देखिए चिकित्सकहरू त्यसलाई जोखिमपूर्ण मान्छन्।

त्यो परिस्थितिमा प्रयोगशामाबाट उत्पादिन डिम्ब सुरक्षित विकल्प हुनेछ।

यस उपलब्धिलाई ज्ञानको दिशातर्फ एउटा 'वास्तविक कदम' मान्दै ह्यामर्स्मिथ अस्पतालका स्त्रीरोग विशेषज्ञ डा स्ट्यूअर्ट लाइभेरीले भने, "सानो सङ्ख्यामा गरिएको र थप सुधारको आवश्यकता भएपनि यो प्रारम्भिक कामले धेरै बिरामीका लागि आशा जगाउँछ।"

यूकेमा अनुसन्धानका लागि प्रयोगशालामा उत्पादित डिम्बहरूको निषेचन वैधानिक रूपमै गर्न पाइन्छ।

तर इडिन्बर्गको त्यो समूहसँग थप प्रयोग गर्ने अनुमतिपत्र छैन।

अनुमतिका लागि आवेदन दिने कि अनुमतिप्राप्त अर्को कुनै संस्थासँग मिलेर सहकार्य गर्ने भनेर उनीहरू छलफल गर्दैछन्।

क्याम्ब्रिज विश्वविद्यालयको गुर्डन इन्स्टिच्युटका प्रा अजिम सुरानीका अनुसार यी डिम्बका कोषहरू र सामान्य डिम्बको तुलना गर्न आणविक र क्रोमोजमको विश्लेषण आवश्यक पर्छ।

"आईभीएफमार्फत् यी डिम्बहरूको ब्लास्टोसिस्ट चरणसम्मको विकासको क्षमता परीक्षण गर्न उपयुक्त हुनसक्छ," उनले भने।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने