प्रोफाइल

अघिल्लो पुस्ताका एक डाक्टर,  जसले २०२१ सालमा किताब पढ्दै सर्जरी गरे


काठमाडौं-

चिकित्सामा डिएम (पिएचडी सरह) सम्म अहिले नेपालमै पढाइ हुन्छ । त्यो पनि धेरै विषय र धेरै मेडिकल कलेजमा । पूर्व राष्ट्रपति डा रामवरण यादव स्वास्थ्य मन्त्री हुँदा नेपालमै विशेषज्ञताको अध्यापन सुरु भएको हो । त्यसका लागि महत्वपूर्ण जिम्मेवारी पाएका थिए, डा डिबी कार्कीले । वीर अस्पतालमा पिजिएमइसिसी भनेर सुरु गरिएको समितिका सदस्य सचिव थिए डा कार्की । काठमाडौं युनिभर्सिटी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज लगायतमा शैक्षिक जग बसाउन उनको महत्वपूर्ण योगदान छ। 

नेपालमा मुटु रोगको उपचार पद्दतिको विकास र सर्वसुलभ बनाउन पनि डा कार्कीले भूमिका खेलेका छन् । पहिलो पुस्ताका नेपाली डाक्टरमा मुटुरोगको उपचारमा कहलिएका डा कार्की आगामी फागुन २३ देखि ८२ वर्ष पूरा गरी ८३ लाग्दैछन् । उनले अझै पठनपाठन र चिकित्सकीय अभ्यासबाट विश्राम लिएका छैनन् । उनलाई विश्राम लिन दिइएको छैन भन्दा उपयुक्त हुन्छ । उनी कार्यरत काठमाडौं मेडिकल कलेजले जिम्मेवारी खुकुलो बनाउँदै गएको छ, तर मुक्त हुन दिएको छैन । बिरामी पनि डा कार्कीलाई अस्पतालमा नभेटे घरसम्मै आइपुग्छन्। 

डा कार्कीसँग भलाकुसारी गर्न उनको काठमाडौं पुरानो वानेश्वरस्थित निवासमा गयौं । उनले मेडिकल क्षेत्रमा पुर्‍याएको योगदान र अनुभवबारे सुन्नु थियो हामीलाई । प्रकृतिप्रेमी कार्कीको दुईतले घर फूलैफूलले घेरिएको थियो, उनी भने बिरामी । फूलसँग उनको मोह तस्बिर खिचाउने क्रममा पनि झल्किन्थ्यो। 

आफ्नो समयमा मुटुरोगका नाउँ चलेका डाक्टर कार्की फूललाई मुटुजस्तै ठान्छन्– प्रिय र कोमल । उनले घर वरिपरि फूल जोगाएजस्तै मान्छेका मुटु पनि जोगाएका छन् । उनी फूलले आफूलाई सक्रिय बनाइरहने बताउँछन् । ८ दशक पार गरिसक्दा पनि उनमा देखिने ऊर्जा र सक्रियताले त्यसलाई पुष्टि गरेको छ। 

शिक्षाका लागि संघर्ष
भोजपुरको छिनामखु गाउँमा जन्मिएका हुन् डा कार्की । परिवार खानदानी थियो । त्यसैले तमसुक लेख्न जान्नेगरीको पढाइ अनिवार्य थियो । पण्डित ल्याएर पढाइन्थ्यो । उनले नेपाली र गणित विषय पण्डितसँग घरमै पढे । उनको पढाइ परिवारका लागि पुग्दो भइसकेको थियो। 

उनकी माइली दिदीको विवाह सप्तरीको राजविराज अदालतमा जागिरे कृतिबहादुर खड्कासँग भएको थियो । ससुराली आउँदा सालोको पढाइप्रतिको लगाव देखेर उनी प्रभावित भएका थिए । सालोलाई तमसुक मात्रै लेख्ने भएको हेर्न चाहेनन् उनले। 

भोजपुरको गाउँमा स्कुल खुलेकै थिएन । त्यसैले, सालोलाई पढाउनका लागि भिनाजुले राजविराज ल्याए । त्यसबेला डा कार्की ११ वर्षका थिए।

घरमै नेपाली र गणित सिकेका उनलाई कक्षा ४ मा भर्ना गरियो । ‘पहाडमा जन्मेहुर्केको मलाई तराईको हावापानी पचेन’, उनले सम्झिए, ‘मलाई मलेरियाले समात्यो ।’ त्यसपछि अध्ययनका लागि उपयुक्त हावापानी भएको ठाउँ खोज्दै उनलाई भारत पश्चिम बंगालको खर्साङ पुर्‍याइयो । सेन्ट अल्फान्सिस स्कुलमा उनी कक्षा ५ मा भर्ना भए । ‘त्यहाँ पुगेपछि मेरो पढाइको स्तर अर्कै भयो । मेरो पढाइको जग एक वर्षमै बलियो भयो’, उनी पुराना दिनमा फर्किए, ‘५ कक्षामा हिन्दी भाषा बाहेक सबै विषयमा टप गरें । तर, किन किन मेरो मन त्यहाँ रमाएन । बिरानो ठाउँमा घरको सम्झनाले मलाई सताइरह्यो ।’ उनी १ वर्षको पढाइपछि खर्साङबाट भोजपुरै फर्किए। 

२००७ सालको सुरु तिर, प्रजातन्त्रका लागि लडाइँ सुरु भएको थियो । उनी सम्झन्छन्, ‘मेची तरेर आउने पुल थिएन, सिलिगुढीबाट जोगबनी हुँदै विराटनगर आउनुपथ्र्यो । त्यसबेला कांग्रेस कार्यकर्ता जोगबनीबाट ट्याक्टर रिजर्भ गरेर आन्दोलन गर्न विराटनगर आउँथे । त्यसैले त्यो बाटोबाट नेपाल आउन सकिएन । बाहुनी हुँदै पहाडतिर लागें।’ 
उनी गाउँ पुग्दा उनको घर कांग्रेसले कब्जामा लिइसकेका थिए । परिवारका सबैजना अर्को गाउँमा शरण लिएर बसेका थिए । गाउँमा बस्ने वातावरण नभएपछि फेरि उनी फर्केर राजविराज नै आए । पहिले पढेकै स्कुुलमा कक्षा ७ मा भर्ना भए। 

राजविराजबाट ७ कक्षा पास गरेपछि थप अध्ययनका लागि उनी काठमाडौं आइपुगे । पद्मोदय स्कुलमा उनी कक्षा ९ मा भर्ना हुन चाहन्थे । तर, ८ कक्षा पास गरेको प्रमाणपत्र नै थिएन । उनले उपाय निकाले, सर्टिफिकेट राजविराजमै छुटेको भनेर ९ कक्षामै नाम लेखाउने । ‘तर, प्राधानाध्यापकले मानेनन् । विकल्प स्वरुप एउटा शर्त तेस्र्याए, जाँच लिने र पास भए ९ मा नाम लेखाइदिने’, उनी भन्छन्, ‘म राजी भएँ । प्रवेश परीक्षा पास गरेर कक्षा ९ मा भर्ना पाएँ।’

२०११ सालमा पद्मोदयबाट प्रथम डिभिजनमा एसएलसी पास गरेका उनी बोर्डमा दोस्रो भए । एसएलसीमा ल्याएको अंकले त्रिचन्द्र क्याम्पसमा आइएससी पढ्न बाटो खुल्यो । सरकारी छात्रवृत्तिमा एमबिबिएस पढ्न भने पहाडको कोटाले उनलाई सजिलो बनाइदियो । दक्षिण भारतको म्याङ्लोरस्थित मणिपाल मेडिकल युनिभर्सिटीमा उनले एमबिबिएस अध्ययन गर्ने मौका पाए । अध्ययनपछि उनले वीर अस्पतालमा चिकित्सकीय सेवा दिँदा वरिष्ठ डाक्टरहरुबाट केही सिक्ने अवसर पनि पाए । त्यहाँ उनले अरु डाक्टरको मातहतमा बसेर काम गरे।

पहिलो शल्यक्रिया डाक्टरकै
आफ्नै जिल्लाबासीलाई सेवा दिने रहरले २०२० साल असार २६ मा उनी भोजपुर जिल्ला अस्पताल पुगेका थिए । उनी भन्छन्, ‘वीर अस्पतालमा सिकेको शल्यक्रिया भोजपुरमा पुगेर गर्ने इच्छा थियो।’

भोजपुरमा उनीअघि डा रहमान कार्यरत थिए । उनी पुग्दा डा रहमान दाँत दुखाइको पीडाले केही दिनदेखि छटपटिरहेका थिए । उनले अस्पताल पुगेपछि पहिलो उपचार नै डाक्टरको गर्नुप¥यो । उनले भने, ‘पुगेको भोलिपल्टै डा रहमानको दुखेको दाँत सर्जरी गरेर निकालिदिएँ ।’ संयोगले उनको पहिलो शल्यक्रिया डाक्टरकै भयो । डाक्टरको पनि उपचार गर्ने डाक्टर भनेर उनको चर्चा भयो। 

उनले त्यहाँ भ्यासेक्टोमी सेवा सुरु गरे । तीघ्राका हाड भाँचिएको एकजना बिरामीलाई आवश्यक सामान र उपकरणको अभावमै ठीक पारेको, आगोले पोलेर दुवै खुट्टा खुम्चिएको बिरामीको ब्लेडले छाला काटेर घाउमा ‘स्किन ग्राफ्ट’ गरेको, भैंसीले हानेर पेटबाट आन्द्रा बाहिर निस्केकी महिलाको शल्यक्रिया गरी ठीक पारेको घटना उनी अहिले पनि सम्झिन्छन् । उनको उपचारप्रतिको लगावले गर्दा भोजपुरबासीको मनमा उनी राम्रो डाक्टरका रुपमा बस्न सफल भए। 

करिब दुई वर्ष भोजपुरमा बस्दा उनले उपचारमा केही मौलिक प्रयोग पनि गरे । जुन सफल भए र उनले जस पाए । उनी सम्झिन्छन्, ‘डाक्टरमाथि त्यो समय बिरामीको शंका कम र भरोसा ज्यादा थियो । त्यसैले आँट गरियो । आफ्नो बुता बाहिरका बिरामीलाई पनि उपचार गरेर निको पारियो । विकल्प पनि त थिएन।’

किताब पढ्दै सर्जरी गर्दै
भोजपुरबाट सरुवा भएर उनी २०२१ साल पुस १ मा धरान अस्पतालमा आइपुगे । धरानमा उनले नयाँनयाँ अनुभव हासिल गर्ने अवसर पाए। 

एकजना बिरामीको उपचार उनले विद्यार्थीकालमा नदेखेको र सिनियरहरुसँग काम गर्दा पनि नसिकेको किसिमको गर्नुपर्‍यो । उनी सम्झिन्छन्, ‘एकदिन एउटा बिरामी मुख खोलेको खोल्यै अस्पताल आइपुगेका थिए । उनले मुख बन्द गर्न सक्दैनथिए । मैले कहिल्यै नदेखेको घटना थियो । तर, जोर्नी खुस्केर यस्तो हुन्छ भन्ने मलाई थाहा थियो । मैले तुरुन्तै ‘बेली र लव’को किताब पढेर उपचार गर्ने प्रक्रियाबारे जानकारी पाएँ । किताब पढ्दै गरेको उक्त शल्यक्रिया सफल भयो । बिरामी मुख खोल्न र बन्द गर्न सक्ने भए ।’
उनले धरान अस्पतालमा भ्यासेक्टोमी सुरु गरे । धरानकै मिलिटरी क्याम्पमा रहेका डाक्टर श्यामबहादुर पाण्डेसँगको सहकार्यमा उनले धेरैको भ्योसेक्टोमी गरे । त्यो बेला धरानमा बौलाहा कुकुर र सर्पले टोकेका बिरामी विरुद्ध दिइने भ्याक्सिन पाइँदैनथियो । ‘नगरपालिकासँग अनुरोध गरेर खर्च जुटाउँदै ब्रिटिस क्याम्पको सहयोगमा भ्याक्सिनेट माइक्रो भ्याक्सिन दिने कुरा सुरुवात गरें । जुन नेपालमै पहिलोपल्ट थियो’, उनले भने, ‘हामीले स्थानीय शिक्षक शिक्षिकालाई भ्याक्सिन दिने तालिम दियौं । जसबाट धरानबासीलाई ‘स्मल पक्स’ विरुद्ध भ्याक्सिन दिन सकिएको थियो।’

झन्डै ४ वर्ष धरानमा बसेपछि बेलायतमा विशेषज्ञता हासिल गर्न सरकारी कोटामा उनी छानिए । १७ जना इच्छुक डाक्टरमध्ये एमआरसिपीका लागि डा कार्की छानिन सफल भएका थिए । २०२५ साल भदौतिर उनी बेलायत पुगे । अध्ययन सकेर फर्किएपछि केही वर्ष कोशी अञ्चल अस्पताल र केही वर्ष वीरगञ्जमा काम गरेर उनी वीर अस्पतालमा सरुवा भएका थिए । त्यसपछि पनि उनले एफआरसिपी, एफन्याम्स, एफएससी लगायत डिग्रीहरु हासिल गरे। 

मुटुरोगको उपचारमा डा कार्की
डा कार्की मुटुरोगको उपचारमा पहिलो पुस्ताका कहिलिएका डाक्टर हुन् । इन्टरनल मेडिसिनमा एमआरसिपी गरेका उनको मुटुरोगतिर झुकाव भने ‘इको मेसिन’का कारण बढ्यो । मुटुको अवस्था बुझ्न वीर अस्पतालमा इको मेसिन ल्याउने भएपछि उनलाई तालिमका लागि अमेरिका पठाइयो । तालिम लिएर नेपालमा उपलब्ध इको मेसिन सञ्चालन गर्न थाले । उनले भने, ‘सुरुमा कान्ति हस्पिटलमा रहेको इको मेसिन सञ्चालन गरेको थिएँ ।’ इको मेसिनले मुटुको अवस्था जाँच गेर मात्रै भएन, समस्या देखिँदा औषधि उपचार पनि उनैले गर्नुपर्ने भयो । त्यसैले कार्डियोलोजीमा एक वर्षको तालिम लिन उनलाई नै पठाइयो । मुटुरोग सम्बन्धी जानकारी र उपचार प्रक्रियाबारे उनले एमआरसिपी गर्दा ध्यान दिएका थिए। 

त्यसबेला मुटुरोगमै चिकित्सकीय अभ्यास गर्ने डाक्टर धेरै थिएनन् । उनले तालिम लिएर आएपछि मुटुरोगमै केन्द्रित रहेर चिकित्सकीय अभ्यास थाले । आफूले लिएका तालिम र अनुभवले उपचारमा सफलता मिल्दै गयो। 

मुटुरोगको उपचार सर्वसाधरणको पहुँचमा पुर्‍याउन उनको ठूलो योगदान छ । उनले वीर अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका बेला नेपालमा मुटुको शल्यक्रिया सुरु भएको थिएन । पछि अस्ट्रेलियाको सिड्नीबाट डाक्टर आएर वीरमै मुटुको सर्जरी थाले । उनी सम्झिन्छन्, ‘वर्षमा एकपल्ट उताबाट डाक्टरको समूह आउँथ्यो । हामी बिरामीको सूची तयार पारेर राख्थ्यौं । छानेर १५ जनासम्मको शल्यक्रिया गरेर समूह फर्किन्थ्यो।’

पोस्ट ग्य्राजुएट सुरु गर्ने अवसर
मेडिकल शिक्षाको विकासका लागि डा कार्कीको महत्वपूर्ण योगदान छ । नेपालमा पोस्ट ग्य्राजुएट (विशेषज्ञ) तहको पठनपाठन सुरु हुनुमा उनको पनि भूमिका छ । डा कार्कीले वीर अस्पतालमा इन्टरनल मेडिसिन र मुटुरोग विभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका थिए । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्य मन्त्री थिए । एकदिन डा कार्कीलाई डा यादवले स्वास्थ्य मन्त्रालय बोलाएर भने, ‘नेपालमै पोस्ट ग्य्राजुएट पढाइ सुरु गर्नुपर्‍यो । यसको नेतृत्व तपाईं गर्नुहोस् ।’ उनलाई सदस्य सचिवको जिम्मेवारी दिइयो । 
समितिमा उनी लामो समय सदस्य सचिव रहे । जुन अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रुपमा स्थापित छ। 

यसैगरी, मुटुरोगको उपचारका लागि खुलेका विभिन्न संघसंस्थामा उनको नेतृत्वदायी भूमिका रह्यो । गंगालाल अस्पताललाई हृदयरोग केन्द्रका रुपमा विकास गर्न उनको योगदान उल्लेख्य छ । उनी यसलाई सञ्चालन गर्ने ‘हर्ट फाउन्डेसन’को सदस्यदेखि अध्यक्षसम्म भए । यसैगरी मुटुरोगका डाक्टरको समाज ‘इको–कार्डियो सोसाइटी’का अध्यक्षसमेत भए उनी । निजी लगानीमा खुलेको नर्भिक इन्टरनेसनल अस्पताललाई मुटुरोगका लागि लोकप्रिय बनाउन उनको पनि भूमिका छ । उनले नर्भिक  स्थापनाकालका केही वर्ष अस्पतालको अध्यक्षका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेका थिए। 

त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई शैक्षिक विकासमा सघाउन आग्रह गर्‍यो । उनी सिनेट सदस्य भएर त्यहाँ पुगे । काठमाडौं युनिभर्सिटीले पनि उनलाई सहयोगका लागि आग्रह गर्‍यो । ३ वर्ष आफ्नो सीपज्ञान उनले त्यहाँको शैक्षिक स्तर उकास्नमा लगाए ।

त्यसपछि काठमाडौं मेडिकल कलेज (केएमसी) ले विशेषज्ञ तहको पढाइ सुरु गरेपछि उनलाई बोलाइयो । उनी कलेजको मेडिसिन र मुटु रोग विभागका संस्थापक विभाग प्रमुख हुन् । केएमसीमा ९ वर्ष विशेषज्ञ तहका लागि बनेको बोर्डका अध्यक्ष बने उनी। 

सम्मान, कृति र जीवन
डा कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन् । उनले पाएका प्रमुख पदक र सम्मानमा शुभ राज्यभिषेक पदक, प्रवल गोर्खा दक्षिण बाहु चौथो, दीर्घ सेवा पदक, विशिष्ठ सेवा पदक, तेस्रो सार्क शिखर सम्मेलन पदक लगायत छन् । 
डा कार्कीका उच्च रक्तचापको परिचय, चिनीरोगको सफल चिकित्सा, रोग, खोप र बानी, रगत पातलो पार्ने औषधिको प्रयोग, स्वास्थ्य समस्या र समाधान, स्वास्थ्य सम्बन्धी मेरा अनुभव लगायतका कथाहरु कृतिका रुपमा प्रकाशित छन्। 

डा कार्कीले तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टकी छोरी सरला विष्टसँग २०२२ सालमा विवाह गरेका हुन् । उनकी जेठी छोरी डा सुमन थापा बालरोग विशेषज्ञ हुन् । माइली डेला र कान्छी सुजानले भने चिकित्सा पेशा रोजेनन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने