विचार/ब्लग

चिकित्सा शास्त्र कसले र किन पढ्ने ?

म सानो छदाँको कुरा झल्झली सम्झन्छु काठमाण्डुमा नै पनि जताततै डाक्टर वा वैद्यकविराजहरू सुलभ थिएनन्, कम्पाउण्डर भनेर चिनिने स्वास्थ्य सहायकहरू अलि सजिलै उपलब्ध थिए तर ती सबैको विश्वसनीयतामा कुनै प्रश्न थिएन। कसैले यो डाक्टर कस्तो होला जान्ने छ कि छैन होला अथवा चाहिदै नचाहिने अपरेशन गर्ने भनेर भनेको हो कि हैन होला बनेर सोधपुछ गरेको सुनिन्थ्यो।

 अहिलेको वातावरणमा सबैजसो सचेत बिरामी र बिरामीका परिबारका सदस्यलेले सोध्ने नियमित प्रश्न हुन् यी। यी प्रश्न स्वाभाविक मात्र हैन अत्यावश्यक लाग्छन् किनभने आजभोलि बिरामीको गलत निदान र उपचार भएको, शल्यक्रिया गर्न नपर्ने बिरामीको शल्यक्रिया गरेर बिरामीमाथि कल्पनै गर्न नसकिने विश्वासघात गरिएको वा गर्न खोजिएको जस्ता कुरा धेरै अविश्वसनीय लाग्दैनन्। यी कुरा चिकित्साशास्त्रको शिक्षाको गुणस्तरसित र नियमनकारीको उत्तरदायित्वसित प्रत्यक्ष सम्बन्ध भएका कुरा हुन् ।

चिकित्साशास्त्रको शिक्षामा अरु क्षेत्रमा जस्तै गुणस्तरको समस्या विकराल बन्दै गएको कुरा प्रा डा गोविन्द केसीका पटक–पटकका सत्याग्रहका कारण सर्वसाधारणले पनि बुझ्दै गएका छन् ।चिकित्सा र चिकित्सा शिक्षा क्षेत्रमा कार्य गर्ने समुदायले यो कुरा नीजि भनिएका मेडिकल कलेजको सञ्चालन नेपालमा पनि भई ती कलेजबाट चिकित्सक उत्पादन हुन थालेदेखि नै अनुभव गरेको थियो। विदेशमा पढेर आउने चिकित्सकमध्ये कतिपयको योग्यता अत्यन्त कमजोर भएको पहिले पनि अनुभव भएकै थियो जस्मा धेरैजसो नीजि मेडिकल कलेजकै उत्पादन थिए। तर पनि देशको शासनले सरकारी रूपमा गरिरहेको गुणस्तरयुक्त हेल्थ असिस्टेण्टको पढाइ बन्द गराउँदैआफ्नो न्यूनतम उत्तरदायित्व शिक्षा र स्वास्थ्यसेवालाई पनि व्यापारको क्षेत्र बन्न प्रोत्साहित गर्दै गयो।

यसरी सरकारले जनताको कर उठाउनुको सार्थकता पनि प्रमाणित गर्न नसकेकाले चिकित्साशास्त्रको शिक्षा पनि अनैतिक व्यापारको क्षेत्रका रूपमा मौलाउन थाल्यो। वास्तवमा वर्तमान परिस्थितिमा ठुलो परिवर्तन गर्न नसकिएमा कमजोरचिकित्साशिक्षाका कारण ठुलो सङ्ख्यामा कमजोर चिकित्सक उत्पादन भैरहने तथा सक्षम चिकित्सक देशबाट पलायन भैरहने कारणबाटअहिले नै धेरै समस्याग्रस्त भैसकेको चिकित्सासेवाको गुणस्तर र विश्वसनीयता अबको दुइ तीन दशकमा कल्पना नै गर्न नसकिने किसिमले गिर्ने र अहिले प्रतिवर्ष देशका जनताकोकरोडौं रुपैयाँ विदेशमा गरिने उपचारमा खर्च भएकोमा अरबौं पुग्नसक्ने र यसै पनि देशको औद्योगिक उत्पादन कम भएर खराब भएको आर्थिक अवस्था झन् कमजोर हुँदै जाने कुरा टड्कारो रूपमा देखिन्छ।

व्यापारको मुख्य उद्देश्यबाट चिकित्साशास्त्रको शिक्षा चल्ने वातावरण बनाउनमा शासनको प्रमुख हात भएको कुरामा विवाद नभए पनि यहि एक मात्र कारण भने हैन। चिकित्साशास्त्र पढ्ने कस्ले र किन भन्ने कुरामा शिक्षाविद्, अभिभावक र विद्यार्थीको विचार नै नपुग्नु र आपसमा खुला छलफल नहुनु, अनि माध्यमिक तथा उच्च माध्यमिक शिक्षाको तीव्र व्यापारीकरणले शिक्षाको वास्तविक स्तर दिनानुदिन कमजोर हुदै जानु पनि यसका सहायक कारण हुन्।

पुर्वीय चिकित्साशास्त्रका पिता चरकले हजारौ वर्ष पहिले चरकसंहितामा चिकित्सा शास्त्रको ज्ञान पैसा कमाउने उद्देश्यले उपदेश गरिएको हैन, वास्तवमा दुस्खीको दु:ख हरण गर्ने ‍एकमात्र उद्देश्य राखेर जो पनि राम्रोसित चिकित्साशास्त्रमा दक्षता प्राप्त गरको  चिकित्सक उपचारमा लागिरहन्छ उसले अत्यन्तै विशिष्ट मानसिक सुख प्राप्त गर्छूभन्दैचिकित्साशास्त्रको दुरुपयोग हुन नपाओस्, लोककल्याणमा रुचि हुनेले नै चिकित्साशास्त्र पढुन् भन्ने स्पष्ट मार्गनिर्देशन गरेको पाइन्छ।
 
चिकित्साको व्यापारीकरण गर्नाले यसबाट प्राप्त हुने असीम आनन्द र पुण्यबाट वञ्छित हुन पर्ने हुन्छ भनेर त्यस्तो काम गर्नबाट बच्न प्रेरणा पनि त्यहाँ दिइएको छ। वास्तवमा रोगीहरूलाई  रोगमुक्त गर्दा प्राप्त हुने आनन्दका बारेमा औपचारिकरूपमा आधुनिक चिकित्साशास्त्रको शिक्षामा पढाइँदैन न त अरु वादहरूभन्दा व्यापक रूपमा आफ्नो प्रभाव देखाएको उपभोक्तावादबाटप्रभावित अधिकांश अभिभावक यो आत्मसन्तुष्टिका कारणले आफ्ना सन्तानलाई चिकित्साशास्त्र पढाउने तर्फ आकृष्ट भएको भान हुन्छ।

पढाइमा कमजोर आफ्ना सन्तानलाई पनि धेरै पैसा तिरेर चिकित्साशास्त्र पढाउन थाल्दा मात्रै पनि इज्जत र उपलब्धि ठान्ने र त्यसमाथि ‌एमबबिबिएस उपाधि समेत दिलाउन सक्नु त स्वयम् ठुलो उपलब्धि हो भन्ने भ्रम धेरै अभिभावकमा देखिएको र ‌एमबबिबिएस उपाधि भए पनि ज्ञान र सीपमा कमजोर भएपछि जीवनभर सामाजिक र मानसिक रूपमा हीनताले ग्रस्त भएर बाँच्नुपर्ने सम्भावनाको कुनै आकलन गर्न नसक्ने अभिभावक र भर्ना हुन तत्पर विद्यार्थीका कारण व्यापारिक शिक्षा मौलाउन सकेको छ। फेरि पनि नियमनकारी निकायको पूर्ण हेलचेक्र्याइँ नै यस अवस्थाको कारक भएको कुरो भने बिर्सन मिल्दैन।

वास्तवमा विश्वविद्यालय जस्ता उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने प्राज्ञिक निकाय पनिज्ञानकै मात्र मापन गर्नमा पनि अत्यन्त कमजोर, जानी नजानी पनिदिइएका मध्ये ५०५ प्रश्नमा दिइएका चार उत्तरमा एउटा सही छान्ने जतिलाई सक्षम मान्ने, प्रवृत्ति र अभिरुचिको परीक्षण नै नगर्ने किसिमका नाममात्रका प्रवेश परीक्षा लिएर चिकित्साशिक्षामा अभिरुचि र अभिमुखीकरण नै नभएका अनिपढ्ने क्षमता र प्रवृत्ति नै भएका कारणकुनै किसिमको प्राज्ञिक शिक्षामा पनि अनुपयुक्त ठहरिनेविद्यार्थी समेत छान्ने काम गरेर यो बेथितिको र व्यापारीकरणकोवाहक तथा परिपोषक हुन पुगेका छन् ।

चिकित्सा शिक्षा जीव विज्ञानमा अभिरुचि र प्रवृत्ति भएका तथा रोगी वा पीडित व्यक्तिसप्रति मानसिक रूपमा संवेदना तथा सहानुभूति राख्नसक्ने, धैर्य, परिश्रम, सहनशीलता, जिज्ञासा जस्ता गुण भएका विद्यार्थीका लागि मात्र उपयुक्त विषय हो। वास्तवमा यी मानवीयगुण त जुनसुकै क्षेत्रमा काम गर्ने जोसुकैका लागि पनि वाञ्छनीय सद्गुण नै हुन्। त्यसमाथि चिकित्साशास्त्रजस्तो मानिसको जीवन र स्वास्थ्यसित सोझै जोडिएको अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि त ‍यी अनिवार्य नै छन्। यसै कुरामा जोड दिन चिकित्सीय मानविकी शिक्षा भनेर आजभोलि विश्वभरि नै चिकित्साशिक्षा अन्तर्गत यी गुणको विकास गर्न उपयुक्त क्रियाकलाप पाठ्यक्रममा समावेश गर्न पनि थालिएको छ। तर हाम्रो कुरा गर्ने हो भने व्यापारीकरणको मारमा परेका सबैजसो शैक्षिक निकायले कुरा बुझेर पनि नबुझेको जस्तो गरीरहेकै छन् जसले गर्दा जनसाधारणमा यो जसले पैसा तिर्नसक्छ उसले पढ्ने वा भर्ना हुने क्षेत्र हो भनेजस्तो भ्रम झनै बढीरहेको छ।

अर्कातिर साच्चै रुचि र संवेदना भएका अनि भविष्यमा दुर्गम क्षेत्रका जिल्ला वा गाँउमा गएर काम गर्ने संभावना धेरै भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरू चिकित्साशास्त्र पढ्नबाट वञ्चित हुनपर्ने जस्तो देशका लागि अत्यन्त निराशाजनक वातावरण बनेको छ। सानो सङ्ख्यामा नि:शुल्क सीटमा पढ्न पाएका विपन्न र जेहन्दार मध्येका तथा रुचि र सेवाभावका कारण पैसा तिरेरै भर्ना भएकाकतिपय विद्यार्थी पनि उनीहरूसँगै पढ्ने रुचि कम भएका र सेवाभाव नभएका पैसाका भरमा भर्ना भएका विद्यार्थीले सिर्जना गर्ने वातावरणको प्रभावमा आउनसक्ने भएकाले उनीहरूबाट पनि जे जति उत्कृष्ट सीप, संवेदनशीलता र सेवाको भावनाको आशा गर्न सकिन्थ्यो त्यति गर्न नसकिने चिन्ताजनक परिस्थितिले देशको समग्र भविष्य र स्वास्थ्यसेवाको भविष्य प्रति चिन्तनशील सबैको ध्यान आकृष्ट गर्छ।

उपयुक्त विद्यार्थी मात्रै चिकित्साशास्त्र पढ्न छानिने र आर्थिक अवस्थाकै कारण पढ्न नपाउने वातावरणमा आमूल परिवर्तन गर्न ढीलो गर्न नहुने कुरा सबै सम्बन्धित निकायले बुझ्नै पर्छ।  -

(लेखक चिकित्सा शास्त्र प्राध्यापन गर्छन्)


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने