विश्व स्वास्थ्य

नयाँ अध्ययन : रगत परीक्षणबाट ८ प्रकारका क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने


सिएनएन– रगत परीक्षणबाट प्रारम्भिक चरणमै धेरै प्रकारका क्यान्सर पत्ता लगाउन सकिने एक अध्ययनले देखाएको छ। रगत परीक्षणबाटै शरीरको कुन भागमा क्यान्सर  भइरहेको छ भन्नेसमेत प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन्। 

रगत परीक्षणबाट ८ प्रकारका क्यान्सरका ट्युमर प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिने जोन्स हपकिन्स युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएका हुन्। गत बिहीबार ‘जर्नल साइन्स’मा प्रकाशित एक अध्ययनका अनुसार पाठेघर, आन्द्रा, पेट, प्यांक्रियाज, खानेनली, फोक्सो, कोलेरेक्टम र स्तन क्यान्सरको बारेमा उक्त विधिबाट पत्ता लगाउन सकिनेछ।  

यस प्रकारको रगत परीक्षणलाई एसइइके भनिन्छ। यसको शुल्क ५ सय डलर अर्थात् ५० हजार रुपैयाँभन्दा कम हुन सक्ने बताइएको छ। तुलनात्मक रुपमा क्यान्सर पत्ता लगाउने अन्य परीक्षणभन्दा यो कम शुल्क हो। क्यान्सर परीक्षणको यो विधिलाई क्लोनोस्कोपीसँग दाँजिएको छ। 

यो अध्ययनका लागि विभिन्न संगठन, अध्ययन समूहले लगानी गरेका छन् भने फर्मास्युटिकल कम्पनी, बायोटेक्नोलोजी र बिरामीले सहयोग गरेका थिए।

‘अहिलेलाई यो अध्ययन मात्रै हो। क्यान्सर पत्ता लगाउन गरिने यो खालको रगत परीक्षण प्रयोगमा ल्याउन अझै धेरै अध्ययन जरुरी हुन सक्छ। यसलाई प्रयोगमा ल्याउनुअघि धेरैमा परीक्षण गर्नुपर्ने हुन्छ,’ अध्ययनकर्ताले उल्लेख गरेका छन्। 

अध्ययनकर्तामा विश्वास जागेको छ कि भविष्यमा प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउन उनीहरुको तरिकाले फलदायी हुनेछ।

‘शल्यक्रिया र अन्य उपचार विधिबाट क्यान्सर उपचारको सफलता दर उच्च हुँदै गइरहेका छ। यदि लक्षण देखिनुपूर्व नै क्यान्सर पत्ता लगाउन सकियो भने उपचारमा अझै सहजता आउनेछ,’ अध्ययनकर्ता डा निकोलस पापाडोपउलस भन्छन्। उनी जोन हफकिन्स विश्वविद्यालयका अन्कोलोजी र प्याथोलोजीका प्रोफेसर पनि हुन्। 

‘यो पहिलो खुड्किलो हो,’ उनी अध्ययनका बारेमा भन्छन्, ‘नतिजा धेरै राम्रो आएको छ। अर्को खुड्किलोमा उक्लिनका लागि यो प्रशस्त हो। अब यो परीक्षण हजारौं व्यक्तिमा गरिनुपर्छ, जसलाई क्यान्सर भइसकेको छैन। त्यसपछि साँच्चिकै थाहा हुनेछ, हाम्रो परीक्षण विधिले कत्तिको राम्रो काम गर्छ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने