मुख्य समाचार

आइओएमको डीनमा डा अग्रवाल नै, पाए निरन्तरताको पत्र

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा डा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइएको छ।

त्रिभुवन विश्वविद्यालयले डा अग्रवाललाई आज डीनका रुपमा निरन्तर काम गर्न पत्र दिएको हो। पत्र पाएलगत्तै डा अग्रवालले पुन डीनका रुपमा काम अगाडि बढाउने बताए।

डीनबाट चार वर्षअघि बर्खास्तीमा परेका डा शशि शर्मालाई सर्वोच्च अदालतले पुस २३ मा पुनर्वहाली गरेपछि डा अग्रवालले डीनको जिम्मेवारी सम्हालेका थिएनन्।

अदालतले डा शर्माको पदावधि ४ दिन बाँकी रहेकाले त्यतिन्जेल डीनका रुपमा काम गर्न सक्ने भन्दै परमादेश जारी गरेको थियो। सोही आदेश अनुसार डा शर्माले फैसला भएकै दिन आइओएममा पुगेर पदबहाली गरेका थिए। शर्माको पदावधि सकिएपछि डीनका विषयमा विवाद निस्किएको थियो। त्रिवि पदाधिकारी पनि डा अग्रवाललाई डीनमा निरन्तरता नदिने खेलमा लागेका थिए।

कानुन व्यवसायीले भने डीनमा डा अग्रवालले नै निरन्तरता पाउने बताउँदै आइरहेका थिए। उनीहरुले डा शशि शर्मालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमा डा अग्रवालको नियुक्ति गैरकानुनी भन्न नमिल्ने उल्लेख भएकाले डीनमा डा अग्रवालले नै निरन्तरता पाउने बताएका थिए।तर, त्रिविले पत्र भने दिएको थिएन।

त्रिविले पत्र नदिएपछि डा गोविन्द केसीले १४औं अनशनमा सर्वोच्चको आदेश अनुसार डीनमा डा अग्रवाललाई नै निरन्तरता दिनुपर्ने माग पनि राखेका थिए। सरकारले डा केसीसँग उक्त विषयमा सम्झौता गरेको थियो।
सम्झौता मन्त्रिपरिषद्‌बाट अनुमोदन भएपछि शिक्षा मन्त्रालयले त्रिविलाई मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन गर्न पत्र पठाएको थियो। सोही पत्रका आधारमा त्रिविले डा अग्रवाललाई डीनमा निरन्तरता दिन पत्र पठाएको हो।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live