समाचार

जिल्ला अस्पताल बझाङलाई निक साइमन्सले बनाइदियो आवासगृह


काठमाडौं– जिल्ला अस्पताल बझाङलाई आवास गृह हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले करिब दुई करोड २० लाखको लागतमा उक्त आवासगृह निर्माण गरेको हो। 

अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सहज होस् भनेर आवासगृह निर्माण गरिएको इन्सिच्युटका कार्यकारी अधिकृत डा अनिलबहादुर श्रेष्ठले बताए।  

एक समारोहबीच स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुशीलनाथ प्याकुरेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनुप रेग्मीलाई उक्त आवासगृह हस्तान्तरण गरेका हुन्।

डा प्याकुरेलले भने, ‘ड्युटीमा रहेका कर्मचारीबाहेक अन्यलाई आवासगृहमा नराख्नुहोला।’ अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा सन्तोषजनक बन्दै गएको डा प्याकुरेलले बताए। उनले अस्पतालले विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा अनुज भट्टचनले स्वास्थ्य सबै मानिसको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नु अस्पतालको कर्तव्य रहेको बताए।

बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले स्वास्थ्य अतिआवश्यक विषय भएकाले यसमा सबै संवेदनशील बन्नुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने