फिचर

मुटुरोग : बिरामी बढेको बढ्यै, उपचार सेवा सीमित

img

प्रवीण ढकाल

काठमाडौं-  गत पुस १९ मा स्याङ्जा–१ का प्रतिनिधिसभा सदस्य नारायण मरासिनीलाई हृदयाघात भयो । आँधीखोला गाउँपालिका क्षेत्रमा रहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्तै उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो । समयमै अस्पताल पुर्‍याइएका उनको अस्पतालले आवश्यक उपचारपछि काठमाडौं रेफर गर्‍यो।

अस्पतालले हृदयाघात भएको र बन्द भएको नसा तत्काल खुलाउनुपर्ने बताएपछि मरासिनीलाई हेलिकोप्टरमा सहिद गंगालाल हृदय केन्द्र ल्याइयो । त्यहाँ उपचार सफल भएपछि उनी डिस्चार्ज भएका छन्।

तर, सोही दिन मध्याह्न हृदयाघात भएका सर्लाही हरिपूर्वा नगरपालिकाका सहदेव यादवको भने ४७ वर्षको उमेरमा निधन भयो । छाती दुख्यो भन्दै बेहोस भएका उनलाई आफन्तले उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल पुर्‍याएका थिए । तर, उनको बाटोमा आउँदा नै निधन भइसकेको थियो ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीका अनुसार यादवलाई अस्पताल ल्याउन ढिला भएका कारण मृत्यु भएको थियो । ‘समयमै ल्याएको भए सायद उनी बाँच्न सक्थे,’ उनले भने । 

सर्लाहीका यादवले उपचार नपाउँदै ज्यान गुमाउनुपरे पनि सोही दिन साँझ नारायणगढ बजारमा हृदयाघात भएका चितवनकै १ व्यापारीको (बिरामीको आग्रहमा नाम गोप्य राखिएको) भने चितवन मेडिकल कलेजमा सफल उपचार भयो । डा रेग्मीका अनुसार नारायणगढ बजारमा हिँडिरहेका उनको एक्कासी छाती भारी हुँदै दुखेपछि अस्पताल आएका थिए । ‘हामीले परीक्षण गरेर हेर्दा उनलाई हृदयाघात भइसकेको रहेछ,’ उनले भने, ‘त्यसपछि तुरुन्तै एन्जिओप्लास्टी गरेर उनको बन्द भएको नसा खोलिदिएका छौं ।’

पुस १९, एकै दिन देशका ३ स्थानमा हृदयाघातका ३ बिरामी फेला पर्नु कुनै संयोग होइन, यो त उदाहरण मात्र हो । मुटुरोगको उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरेका नेपालभरका २० वटा संस्थामा हरेक दिन हृदयाघात र मुटुका अन्य रोगका बिरामी दैनिक थपिँदै गइरहेको अस्पतालकै तथ्यांकले देखाउँछ ।

मुटुरोगको उपचार हुने सरकारको केन्द्रीय अस्पताल ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’को तथ्यांकले पनि नेपालमा मुटुरोगका बिरामी बढिरहेको पुष्टि गर्छ । अस्पतालमा आर्थिक वर्ष २०७१÷७२ मा १ लाख १५ हजार ८ सय ६८ जनाले बहिरङ सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा १ हजार ४ सय ४० जनाको मुटुको शल्यक्रिया भएको थियो । जसमध्ये १ हजार १ सय ७५ ओपन हार्ट सर्जरी, १ सय १८ क्लोज हार्ट सर्जरी र १ सय ३७ अन्य सर्जरी भएका थिए ।

यस्तै, ५ हजार २ सय ८२ जना बिरामीको क्याथ ल्याब मार्फत विभिन्न उपचार भएको थियो । क्याथ ल्याबबाट उपचार गराउनेमध्ये ३ हजार २८ को मुटुको एन्जिओग्राफी, १ हजार १ सय ६१ बिरामीको एन्जियोप्लास्टी र बाँकीले अन्य सेवा लिएका थिए ।

अघिल्लो आर्थिक वर्षमा आइपुग्दा उपचारका लागि आउनेको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा अस्पतालबाट ओपिडी सेवा लिनेको संख्या १ लाख ४७ हजार ४ सय ५ छ । गत वर्ष १ हजार ६ सय ८३ जनाको मुटुको शल्यक्रिया भएको थियो भने ७ हजार ७ सय १५ बिरामीले क्याथल्याब मार्फत एन्जिओप्लास्टी, एन्जियोग्राफी, पेसमेकर लगायतका सेवा लिएका थिए ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण मुटुरोगका आकस्मिक बाहेक शल्यक्रियाका लागि अहिले झन्डै १ वर्षसम्म पालो कुर्नपर्ने वाध्यता छ । बिरामीको चाप बढे अनुसार मुटु उपचारको सेवा विस्तार नहुँदा बिरामीले लामो समयसम्म कुर्नुपर्ने भएको अस्पतालको कार्डियोलोजी विभाग प्रमुख डा दिवाकर शर्मा बताउँछन् । 

उपचार सेवा दिने संस्था कम

डा शर्माले नेपालमा पछिल्लो समय जीवनशैली र खानपानका कारण हृदयाघात, एन्जाइना, हार्ट फेल जस्ता समस्या बढिरहेको बताए । ‘बिरामीको चाप तीव्र रुपमा बढेको छ,’ उनले भने, ‘त्यस अनुसार उपचार केन्द्र र निदानात्मक सेवाको विस्तार हुन सकेको छैन ।’ 

उनका अनुसार नेपालमा मुट रोगीको संख्या थपिँदै गएको कुरा काठमाडौं बाहिर जिल्ला–जिल्लामा हुने मुटुको स्वास्थ्य शिविरमा भेटिने बिरामीको संख्याले पनि पुष्टि गर्छ । ‘पहिला–पहिला शिविरमा जाँदा फाट्टफुट्ट उच्च रक्तचाप तथा मुटुको नसा सम्बन्धी बिरामी भेटिन्थे,’ उनले भने, ‘अहिले त हरेक शिविरमा जाँदा २५ देखि ३० प्रतिशतमा रक्तचाप लगायतका मुटुका समस्या देखिन थालेको छ ।’ उनले समयमै यो समस्या समाधान नगर्ने हो भने भोलिका दिनम झन् भयाभह अवस्था आउनसक्ने चिन्ता व्यक्त गरे ।

नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट बढ्दो जनसंख्यासँगै बढिरहेका मुटुरोगीको आधारमा नेपालमा उपचार केन्द्र निकै कम रहेको बताउँछन् । ‘विगतमा काठमाडौंमा मात्र केन्द्रित मुटु उपचार सेवा अहिले राजधानी बाहिर पनि पाउन थालिएको छ,’ उनले भने, ‘सेवा विस्तारको यो दर भने सुस्त छ । बिरामीको चापका आधारमा अहिले भइरहेको सेवाले धान्न सकेको छैन ।’

उनका अनुसार अझै पनि धेरै नेपाली हृदयाघात, हर्ट फेल तथा मुटुका अन्य रोगका कारण उपचार नपाई मृत्युको मुखमा पुगिरहेका छन् । ‘मुटुरोगका बिरामी देशभर छन् । तर समयमा उपचार नपाएर हजारौं बिरामीले ज्यान गुमाउनुपर्ने वाध्यता छ,’ उनले भने ।

डा भट्ट ढिलै र सुस्त गतिमा भए पनि काठमाडौंमा मात्र साँघुरिएको उपचार सेवा बाहिर सुरु हुनुलाई मुटु उपचारको क्षेत्रमा सकारात्मक फड्कोका रुपमा लिन्छन् । ‘रोगको फैलँदो दरका आधारमा हेर्दा सेवा विस्तार सुस्त भएको देखिन्छ,’ डा भट्टले भने, ‘तर, सुरुवात राम्रो भएको छ । मुटु उपचार केन्द्र तथा विभागमा लगानी गर्नेहरु बढिरहेकाले अब छिट्टै सेवा विकास र विस्तार अगाडि बढ्छ भन्ने संकेत देखिएका छन् ।’ उनले मुटुको विशेषज्ञ सेवासँगै आधारभूत सेवाको विस्तारले अकालमा ज्यान गुमाउनुपर्ने वाध्यता कम भएर जाने बताए ।

विकसित देशमा मृत मुटुको सफल प्रत्यारोपणबारे अभ्यास भइरहेको समयमा नेपालमा भने बल्ल मुटुका आधारभूत सेवा राजधानीबाहिर विस्तार हुँदै गएका छन् । नेपाली परिवेश र रोगका आधारमा यो विस्तारलाई उपलब्धिमूलक मान्नुपर्ने ग्रान्डी अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिस्ट डा मिलनप्रकाश श्रेष्ठ बताउँछन् । उनका अनुसार अझै पनि कसैलाई हृदयघात वा मुटुको कुनै ठूलो समस्या प¥यो भने जिल्लाबाट हेलिकोप्टरमा राखेर राजधानी ल्याउनुपर्ने अवस्था छ ।

‘अकस्मात कसैलाई महेन्द्रनगर, धनगडी वा अन्य पहाडी जिल्लामा हृदयाघात भयो भने हेलिकोप्टरमा राखेर काठमाडौं ल्याउनुपर्ने अवस्था छ,’ डा श्रेष्ठले भने, ‘यति बेलासम्म बिरामीको बाटोमै मृत्यु भइसकेको हुनसक्छ ।’ उनले ग्रामीण भेगमा कोही बिरामी भएमा यातायातका साधन खोज्दैमा ज्यान जाने अवस्था रहेको बताए । 

मुटुका समस्या अनुसार यसको उपचार पनि फरक–फरक हुन्छ । केही रोग औषधिबाट निको हुन्छ भने केहीमा ठूला शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । सामान्यतः मुटुको उपचार क्याथल्याबमा बिनाचिरफार (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर आदि) गरिन्छ । यस्तै, चिरेर गर्नुपर्ने शल्यक्रियामा बाइपास सर्जरी तथा ओपन हार्ट सर्जरी पर्छन् ।

जनशक्ति र बिरामी अनुपात

नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा हालसम्म दर्ता भएका मुटुरोग विशेषज्ञको संख्या १ सय १० जना छन् । यसमा कार्डियाक सर्जन र कार्डियोलोजिस्ट दुवै पर्छन् । नेपालका करिब ३ करोड जनसंख्यालाई जम्मा १ सय १० जना मुटुरोग विशेषज्ञले सेवा दिनुपर्ने अवस्था छ । यसमा पनि केही डाक्टर विदेशिएका छन् । जनसंख्याको आधारमा हेर्ने हो भने, १ जना मुटुरोग विशेषज्ञको भागमा २ लाख ७२ हजार मानिस पर्न आउँछन् । यो भनेको विशेषज्ञ डाक्टरको संख्या अत्यन्त कम छ भन्ने हो । काउन्सिलका अनुसार नेपालमा हरेक वर्ष १० जनाभन्दा बढी मुटुरोग विशेषज्ञ दर्ता भइरहेका छन् । 

डा प्रकाशराज रेग्मीका अनुसार नेपालमा मुटुरोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान छ । यस हिसाबले १ सय १० जना डाक्टरले ४५ लाख बिरामी हेर्नुपर्ने अवस्था छ । 

नेपालभर अहिले महिनामा औसत ५ सय जति क्याथल्याबसँग सम्बिन्धित उपचार भइरहेका छन् । जसमध्ये २ सय जतिको स्टेन्ट राख्ने गरिएको छ भने, ३ सयको हाराहारीमा ओपन हार्ट सर्जरी हुँदै आएको छ । 

गोल्डेन आवर

डाक्टरहरुका अनुसार मुख्य अस्पतालमा भर्ना गरिएका मुटुरोगीमध्ये ४० प्रतिशत हृदयघातका हुने गरेका छन् । हृदयाघात भएकामध्ये पनि ५० प्रतिशतको घर र बाटोमै मृत्यु हुने गरेको छ । अस्पताल पुगेका मध्ये पनि ३० प्रतिशतको उपचारका क्रममा मृत्यु हुन्छ । मुटुरोग विशेषज्ञहरुका अनुसार छाती दुख्न थालेको समयलाई हृदयाघातको सुरुवात मान्नुपर्छ । छाती दुख्न सुरु भएको १ घन्टाभित्र रगतको थेग्रो जमेर बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा एन्जियोप्लास्टीबाट  खोल्न सकिन्छ । मेडिकल भाषामा यसलाई ‘गोल्डेन आवर’ भनिन्छ । मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघातका कारण बेहोस भएका व्यक्तिलाई १ घन्टाभित्र उपचार सुविधा भएको स्थानमा पुयाइसक्नुपर्ने हुन्छ । गोल्डेन आवरमा अस्पताल नपुगेका धेरै मानिसको बाँच्ने सम्भावना कम हुन्छ । यस्तै, केही केहीका हकमा भने बेहोस भएर ढलेको ९० मिनेटसम्म पनि गोल्डेन आवर हुनेगर्छ । 

कहाँ–कहाँ क्याथल्याब सेवा ?

क्याथल्याब भनेको मुटुको शल्यक्रिया तथा उपचारका लागि तयार पारिएको उपकरण सहितको विशेष कक्ष हो । यस्तो कक्षमा विशेष प्रकारका मेसिनहरु राखेर मुटुको बन्द भएको नली खोल्ने काम गरिन्छ । 

क्याथल्याबमा मुटुको बिना चिरफार गरिने उपचार कोरोनरी एन्जियोप्लास्टी गरिन्छ । डाक्टरहरुका अनुसार यो उपचार विधिमा साँघुरिएको वा बन्द भएको मुटुको धमनी खोल्न १ विशेष प्रकारले तयार पारिएको बेलुन (क्याथेटर) को प्रयोग गरिन्छ । प्रविधिको विकाससँगै अहिले यो उपचार विधिमा साँघुरिएको नलीमा ‘स्टेन्ट’ प्रत्यारोपण गर्ने गरिन्छ । स्टेन्ट औषधिसहित र औषधिरहित २ थरीका हुन्छन् । धमनीमा बोसो जम्नबाट रोक्न अहिले औषधियुक्त स्टेन्ट प्रयोग गरिन्छ । औषधि सहितको स्टेन्ट महँगो उपचार विधिमा पर्छ । 

काठमाडौं उपत्यकामा गंगालाल, मनमोहन काडिर्योथेरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल), नर्भिक, वयोधा, मेडिसिटी, ग्रान्डी, पाटन, मानव अंग प्रत्यारोपण केन्द्र र गौतमवुद्ध कार्डियाक सेन्टरमा क्याथल्याब सेवा छ । उपत्यकाबाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, धुलीखेल अस्पताल, नोवेल मेडिकल कलेज विराटनगर, न्युरो कार्डियाक अस्पताल विराटनगर र भेरी अञ्चल अस्पतालमा क्याथल्याब सेवा उपलब्ध छ । यस्तै, पोखरामा १ र वुटवलमा २ स्थानमा क्याथल्याब सेवा छ।

के हो बाइपास सर्जरी ?

शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘कोरोनरी आर्टरी बाइपास सर्जरी’ भनिन्छ । एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा मुटुको बाइपास शल्यक्रिया गर्नुपर्ने हुन्छ । साधारणतः अलि धेरै ठाउँमा धमनी बन्द भएमा वा धमनीका शाखाहरु छुट्टिने ठाउँमा तथा धमनीको लामो भागमा रोकावट भएमा कोरोनरी बाइपास शल्यक्रिया गर्नुपर्ने मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका डा रत्नमणि गजुरेल बताउँछन् । ‘यस प्रक्रियाअन्तर्गत बिनाकुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ,’ उनले भने, ‘यसका लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ ।’ उनका अनुसार यस्तो सेवा सञ्चालन गर्न अब्बल जनशिक्त सहितको अप्रेसन थिएटर चाहिन्छ । मुटुलाई खोलेर गरिने यस्तो सर्जरीलाई ‘ओपन हार्ट सर्जरी’ पनि भन्ने गरिन्छ।

ओपन हार्ट सर्जरीमा के गरिन्छ ?

ओपन हार्ट सर्जरीका क्रममा मुटु र फोक्सोलाई पूर्ण रुपमा बन्द गराई ‘हर्ट लङ मेसिन’द्वारा मुटु र फोक्सोको काम गराउनुपर्ने हुन्छ । यस्ता हार्ट लङ मेसिन महँगो पर्ने हुँदा यो सेवा धेरै स्वास्थ्य संस्थामा विस्तार हुन ढिलाइ भएको हो । मुटु, फेक्सोसहित बिरामीको रक्तचाप, शरीरको तापक्रम लगायत विभिन्न काम उक्त उपकरणद्वारा गराई बिरामीको मुटुको शल्यक्रिया गरिन्छ।

सातै प्रदेशमा मुटु उपचार सेवा आवश्यक

डाक्टरहरुका अनुसार देश संघीय संरचनामा गएकाले अब हरेक प्रदेशमा मुटुका सबै उपचार सेवा प्रदान गर्नसक्ने सरकारी संस्था स्थापना हुनुपर्छ । काठमाडौं उपत्यका बाहिर विस्तार भइरहेका क्याथल्याब सेवाले बिरामीको बढ्दो चापलाई केही हदसम्म धाने पनि त्यो पर्याप्त नभएको वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी बताउँछन् । 

‘प्रादेशिक संरचना अनुसार मुटुको उपचार गर्ने अस्पताल बन्ने हो भने अहिले गंगालाल लगायतका अस्पतालमा रहेको चाप धेरै कम हुन्छ,’ उनले भने, ‘सहरीकरणसँगै देशका अधिकांश स्थानमा मुटुरोगी बढिरहेका कारण हरेक प्रदेशमा मुटु अस्पताल बन्नुपर्छ ।’

गंगालालका विशेषज्ञ डा शर्मा तत्कालै प्रदेशमा छुट्टै मुटु अस्पताल खोल्न सम्भव नभए सबै उपचार सेवा प्रदान गर्ने अस्पतालमा मुटुका लागि छुट्टै ठूलो विभाग बनाउने बेला आइसकेको बताउँछन् ।

‘मुटुरोगका लागि छुट्टै अस्प्ताल नै बनाइहाल्नु पर्छ भन्ने पनि छैन,’ उनी भन्छन्, ‘प्रदेशमा हुने जेनेरल अस्पतालमा मुटुको सबै उपचार हुनेगरी सुविधासहितको सेवा सुरु गर्ने बेला आइसकेको छ ।’ 

आकस्मिक प्राथमिक उपचार सेवाको विस्तार आवश्यक

डा भट्टका अनुसार हृदयघात हुनासाथ नजिकैको स्वास्थ्य केन्द्रमा आकस्मिक प्राथमिक उपचारको व्यवस्था मिलाउन सके पनि धेरैको ज्यान जोगिन सक्छ । 
‘ठूलै पूर्वाधार भएका र सर्जरी नै गर्नुपर्ने अस्पतालहरु सबैतिर हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘आकस्मिक अवस्थामा प्राथमिक उपचार गरेर ठूला अस्पतालमा रेफर गर्न सक्ने जनशक्ति र त्यसअनुसारको व्यवस्था भए धेरैको ज्यान जोगिनेछ ।’

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभरमा करिब ४ सय साना–ठूला अस्पताल तथा स्वास्थ्य केन्द्र छन् । तीमध्ये अधिकांशमा मुटुका रोग तथा हृदयघातका बिरामीलाई तत्काल चाहिने प्राथमिक उपचार सेवा प्रदान गर्ने दक्ष जनशक्ति र प्राविधिको विकास गर्न सके धेरैको ज्यान जोगाउन सकिने डा दिवाकर शर्मा बताउँछन् । 

‘मुटुरोगको पहिचान गर्न सक्ने र आकस्मिक अवस्थामा प्राथमिक उपचार गर्न सक्ने व्यवस्था मिलाउन सके धेरै फाइदा हुनेछ,’ उनले भने, ‘सेवा विस्तारका लागि करोडौं खर्चेर हरेक जिल्लामा ठूला–ठूला सेन्टरहरु बनाउनुपर्छ भन्ने छैन ।’ 

उनका अनुसार आकस्मिक सेवा प्रदान गर्नका लागि स्वास्थ्य संस्थामा दुखाइ कम गर्ने औषधिमा एस्प्रिन, इसिजी मेसिन, मुटुको गति हेर्ने मेसिन तथा मुटुको धड्कन बन्द हुँदा छातीमा विद्युतीय सक दिने मेसिन ‘डिफिब्रिलेटर’ जस्ता उपकरण भए पुग्छ । साथै, इको मेसिन, ट्रेडमिलजस्ता उपकरण समेत राखेर सेवा दिन सकिन्छ । सर्जरी नै गर्नुपर्ने वा एन्जियोप्लास्टी गर्नुपर्ने भएमा मात्र अन्यत्र रेफर गर्न सकिन्छ । 

हरेक वडामा रक्तचाप र सुगर जाँचको व्यवस्था

डा दिवाकर शर्मा उपचारात्मक सेवासँगै निदानात्मक सेवालाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । 
‘रोग लागिसकेपछि उपचार गर्ने कुरा एउटा पाटो हो,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त रोग लाग्नै नदिने वा सम्भावित जोखिमबाट पहिले नै जोगिनु राम्रो हो ।’ उनले नेपालमा अझै पनि रोगले च्यापेर अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने चलन रहेकाले गाउँगाउँमा मुटुरोग पहिचान गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । 

डा शर्माका अनुसार स्थानीय तहका हरेक वडामा रक्तचाप नाप्ने, रगतमा सुगरको जाँच गर्ने व्यवस्था गर्न सकिन्छ । उनी भन्छन्, ‘वडामा निःशुल्क रक्तचाप र सुगर जाँचको व्यवस्था भयो भने मानिसले समय–समयमा स्वास्थ्य जाँच गर्न पाउनेछन् । यसबाट रोगबारे पहिला नै वास्तिविक अवस्था जानकारी पाउने हुँदा अकास्मत हुने हृदयाघात जस्ता घातक समस्याबाट जोगिन सकिन्छ ।’

मुटु परीक्षण प्रविधि

मुटुको स्थितिको मूल्याकंन गर्न सबैभन्दा पहिला इलेक्ट्रो कार्डियोग्राम (इसिजी) गरी अनुसन्धान गरिन्छ । इसिजी मेसिनको सहायतामा मुटुको चाल ठीक छ÷छैन र हृदयाघातको सम्भावना के छ भन्ने जाँच गर्न सकिन्छ । मुटुको चाल पत्ता लगाउन गरिने यो सबैभन्दा सहज र सस्तो प्रविधि हो । मुटुको चाल ज्यादै छिटो भएमा, छाती दुखेमा, सास फेर्न गाह्रो भएमा बिरामीले तुरन्त इसिजी गराइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ । तर, इसिजीले मात्रै मुटुको सबै रोग पत्ता लगाउन नसक्ने भएकाले मुटुको इकोकार्डियोग्राफी (इको) गराइन्छ । 

मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका डा रत्नमणि गजुरेलका अनुसार इकोकार्डियोग्राफी भनेको मुटुको अल्ट्रासाउन्ड हो । इकोकार्डियोग्राम गराएमा मुटुमा भएका त्रुटि वा खराबी जन्मदादेखिकै हुन् वा पछि पैदा भएका हुन् भन्ने जानकारी पाउन सकिन्छ । ‘मुटुसम्बन्धी परीक्षणमा इकोकार्डियोग्राम अनिवार्यजस्तै छ,’ उनले भने, ‘तर, यसले मुटुको धमनीहरुलाई भने देखाउन सक्दैन । तसर्थ, सामान्य इकोकार्डियोग्रामले मुटुका सबै रोग पत्ता लगाउन सक्दैन ।’

डा गजुरेलका अनुसार मुटुका धमनीहरु खुल्ला छन् वा छैनन् भनी थाहा पाउन ट्रेडमिल परीक्षण गरिन्छ । यो परीक्षण गर्न बिरामीलाई इसिजीको सुपरीवेक्षणसहित ट्रेडमिलमा हिँड्न लगाइन्छ । यो परीक्षण गर्दा बिरामीलाई ट्रेडमिलमा मुटुको गति एउटा आवश्यक विन्दुसम्म नपुगुन्जेल हिँड्न लगाइन्छ र त्यो बेला इसिजीमा कुनै परिवर्तन हुन्छ कि हुँदैन भनी हेरिन्छ । यो परीक्षण शतप्रतिशत पक्का हुँदैन । यो केवल ८० प्रतिशत जति मात्र मिल्दोजुल्दो हुन्छ । त्यसैले इसिजीमा कुनै परिवर्तन भएको पाइएमा कोरोनरी एन्जियोग्राफी परीक्षण गरिन्छ ।

‘कोरोनरी एन्जियोग्राफी भनेको एक्सरे गर्ने विशेष प्रविधि हो । यस प्रविधि अन्तर्गत विशेष रङ्गीन तरल पदार्थ मुटुमा जाने धमनीमा पठाइन्छ,’ डा गजुरेलले भने, ‘यो परीक्षणद्वारा डाक्टरहरुले साँघुरिएका अथवा बन्द भएका धमनीहरुको अवस्था, प्रकृति र मात्रा तथा तिनको संख्या निक्र्यौल गर्न सक्छन् ।’ उनका अनुसार यो प्रक्रिया पूरा गर्न करिब १५–२० मिनेटको समय लाग्छ । त्यसपछि बन्द भएको नसा खोल्न एन्जियोप्लास्टी गर्ने गरिन्छ ।

उपचारका नाममा विकृति

मुटुरोगको सेवा विस्तारसँगै उपचारका नाममा विकृतिसमेत भित्रिएको छ । केही अस्पतालले मुटु उपचारको सेवा तथा आवश्यक दक्ष जनशक्ति नहुँदा पनि मुटुका सबै उपचार हुन्छ भन्दै बिरामीलाई भर्ना गर्दै आइरहेका छन् । मुटुरोग विशेषज्ञ नै नभएका अस्पतालले समेत मुटुका सम्पूर्ण उपचार गर्छु भन्दै बिरामीलाई भर्ना गरेर राख्दा धेरै बिरामीको अकालमा ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले उपचारको बहानामा बिरामी ठग्ने यस्ता संस्थाबारे गुनासो आइरहेकाले अनुगमन गरेर कारबाही गर्ने बताए । 

डाक्टरहरुका अनुसार यस्ता अस्पतालले बिरामीलाई ३ किसिमले ठग्दै आइरहेका छन् । पहिलो, अस्पतालले नियतशस बिरामीलाई होल्ड गर्ने । दोस्रो, डाक्टरहरुले नै आफूलाई ज्ञान नहुँदानहुँदै पनि उपचारमा हात हाल्ने । तेस्रो, सामान्य सेवा मात्र दिनेहरुले पैसाका लागि बिरामीलाई उपचारका नाममा ठग्दै आइरहेका छन् । कतिपय अस्पतालका डाक्टरले त उपचारका क्रममा आवश्यक पर्ने सामग्रीहरु बिक्री वितरणसमेत गर्दै आइरहेको गुनासो मन्त्रालयमा आएका छन् ।

मुटुका रोगहरु

आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ । तर, मुटका अन्य थुप्रै रोग हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डा प्रकाशराज रेग्मी बताउँछन् । तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैली सम्बन्धी मुटुरोग भनेर ३ भागमा बा“डिएको उनको भनाइ छ ।

जन्मजात मुटुरोगः कुनै केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ । डा रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्छ । उनका अनुसार गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ । फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ । उनी भन्छ, ‘गर्भधारण गरेको ३ महिनाको अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुनजान्छ ।’ 

डाक्टरहरुका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, आंैलाका टुप्पाहरु बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन् ।

बाथमुटुरोगः यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । यो ज्वरोलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ । 

जीवनशैलीसँग सम्बन्धित मुटुरोगः जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन् । मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ । डाक्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ । 

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।

त्यस्तै, मुटुरोगमध्ये उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ । 

हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । डा रेग्मीका अनुसार अधिकांश मानिस दम बढ्ने बित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुन्छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्या हुन्।


यो पनि पढौं :

यसकारण तन्नेरीमै बिग्रिदैछ नेपालीको मुटु, ५ वरिष्ठ मुटुरोग विशेषज्ञको धारणा

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live