मुख्य समाचार

बाँकेको होलियाका २५ प्रतिशत बालबालिकामा  कुपोषणको समस्या 


नेपालगन्ज– राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेको बाँकेको होलिया गाउँका करिब २५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ।

जिल्ला जनस्बास्थ्य कार्यालय बाँकेले छ महिनादेखि ५ बर्ष सम्मका करिब ७ सय बालबालिकाको तौल र उचाई नाप्दा करिब २५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यमखाले पाइएको छ । बाँकेमा ६ महिना देखि ५ बर्ष समूहका ५२ हजार १ सय ५० बालबालिका छन्।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदन्डअनुसार  एक वर्ष उमेरको स्वस्थ बच्चाको तौल कम्तीमा १० किलो र उचाई ७५ सेन्टिमिटर हुनुपर्छ  तर होलिका गाउँका धेरैजसो बालबालिकाको अबस्था त्योभन्दा कम पाइएको छ।

राप्ती नदीको डुबान र बाढीले खेतीबालीमा क्षति पुर्‍याउने क्रम बढ्दै गएपछि  पछिल्ला वर्षमा उत्पादन घटेर खाद्यान्न संकट बढ्दै गएको छ । यहीकारण पर्याप्त पोषणयुक्त खाना नपाएका कारण बालबालिकामा कुषोषणको समस्या देखिएको हो । त्यसैगरी २०७४ भदौमा जिल्ला जनस्वास्थ्य कार्यालयले बाढी प्रभाबित क्षेत्रका ६ महिनादेखि ५ बर्ष सम्मका करिब ६ हजार ८ सय बालबालिकाको पाखुराको नापमार्फत् कुपोषणको अवस्था परीक्षण गरेको थियो । त्यसअनुसार करिब १२ प्रतिशतमा कुषोषणको समस्या देखिएको थियो ।

खाद्यान्नको अभावका कारण आमाको दुध कम आउने भएकाले आमाको दुधसमेत पर्याप्त नपाउँदा बालबालिकाहरु पुड्का र ख्याउटे हुने समस्या बढ्दै गएको छ । होलिया गाउका बालबालिकामध्ये करिब १० प्रतिशतमा ख्याउटे हुने समस्या पनि देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए ।

पछिल्ला वर्षमा बाल मृत्युदर घटे पनि बालबालिकाहरु कुपोषित हुने समस्या भने बढ्दै गएको छ । बालबालिकालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्ने जोखिम धेरै हुन्छ । बालबालिकामा हुने कुपोषणको समस्या कम गर्न आमा गर्भवती भएको अवस्थादेखि नै विशेष ख्याल गर्नुपर्छ ।

त्यस्तै सन् २०१६ मा गरिएको नेपाल डेमोग्राफिक हेल्थ सर्भेले ३६ प्रतिशत बालबालिकामा पुडकोपनको समस्या छ । त्यस्तै २९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल नबढेको, १० प्रतिशतमा ख्याउटे, ५३ मा रक्तअल्पताको समस्या भएको देखाएको थियो ।

पोषिलो खानाको अभावका कारण बालबालिकामा पुड्कोपन, तौल कम हुने   र रक्तअल्पताजस्ता समस्या देखिने प्रमुख खड्काले बताए । स्वास्थ्यकर्मीका अनुसार बच्चा जन्मिदा अढाई किलो तौल भए स्वास्थ्य मानिन्छ । ६ महिनामा दोब्बर र १ वर्षमा जन्मिएको भन्दा तीन गुणा तौल बढ्नु पर्छ । ५ वर्षको बच्चाको तौल १४ किलो १ सय ग्राम पुगेन भने कुुपोषण भएको मानिन्छ । 

तौल र उचाई नापेर बालबालिकाका देखिएको कुषोषणको अबस्था पत्ता लगाई उनीहरुको कुपोषणको अबस्थामा सुधार ल्याउनका लागि  उपचार लगायत विभिन्न कार्यक्रम सन्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए । 

कुपोषणका कारण बालबालिकाको  शारीरिक तथा मानसिक विकासमा समेत समस्या उत्पन्न हुने भएकाले कुषोषण घटाउन जनस्वास्थ्य कार्यालयले बाँकेका ८ वटा स्थानीय तहका स्वास्थ्य संस्थामध्ये १३ वटामा कुपोषणको समस्या देखिएको बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको छ । त्यसका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिने लगायत अन्य व्यवस्थापनको कामहरु भई रहेको छ ।

ती स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुपोषणका गम्भीर समस्या भएका बालबालिकालाई  २ महिना सम्मका लागि औषधीजन्य खाद्य सामग्री निःशुल्क रुपमा उपलब्ध गराइने छ । मध्यमखाले कुषोषणको समस्या भएकाहरुलाई पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराईने तयारी छ । कुषोषणसम्बन्धी गम्भरि समस्या देखिएका बालबालिकालाई नेपालगन्जस्थित पोषण पुनस्र्थापना केन्द्रमा भर्ना नै गरेर निःशुल्क उपचार गरिँदै आएको प्रमुख खड्काले बताए ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने