नर्सिङ

६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन 

None

काठमाडौं-

आइलिन कूम्बर १९५१ को जुलाईमा नर्स क्याडेटका रुपमा प्रवेश गर्दा १५ वर्षकी मात्र थिइन् । १९७६ जनवरीमा मात्र उनी रजिष्टर्ड नर्स भइन् । त्यसयताका कयौं दशकमा उनले आफ्नो करिअरमा थुप्रै उतारचढाव देखिन् । यो पेशामा उनले ६५ वर्ष बिताइसकिन् । अहिले ८१ वर्ष लागेकी उनको अझै पनि जागिरबाट रिटायर हुने सोच छैन । उनी यतिखेर वोर्दिङको शेफर्ड हाउसमा नर्सका  रुपमा कार्यरत छिन् । 
नेशनल हेल्थ सर्भिस (एनएचएस) १९४८ मा स्थापना हुँदा उनी मात्र ११ वर्षकी थिइन् । उनी २०१७ का लागि रोयल कलेज अफ नर्सिङबाट ‘उत्कृष्ट नर्स’ को पुरस्कारबाट सम्मानित भइन् । ८१ वर्षको उमेरसम्म पेशा नछाड्नुको कारणबारे उनी भन्छिन्, ‘एनएचएस बिस्तारै निजीकरण हुँदै गइरहेकामा म निकै नरमाइलो महसुस गरिरहेको छु ।’ हरेक संस्थाले आजकाल नाफा खोज्ने गरेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवा दिने संस्थाले नाफा खोज्नु नहुने बताइन् । 
देशले हरेक नागरिकलाई समान व्यवहार गर्नुपर्ने र सबैले समान रुपले स्वास्थ्य सेवा पाउनुपर्ने उनको भनाई छ । उनले अमेरिकामा बस्ने आफ्नो स्वर्गीय छोरीको साथीकी सानी छोरी पनि उपचार पाउन नसकेर मर्नुपरेको उदाहरण दिइन् । 
आर्थिक रुपले समस्यामा परेका मानिसको सहयोगका लागि आफू नर्सिङ पेशामा लागेको उनले सम्झिइन् । भन्छिन्, ‘डाक्टर र नर्सको समाजमा उत्तिकै महत्व छ, र उनीहरु सकेसम्म सहयोगी हुनुपर्छ ।’ नर्स पेशामालागेयता उनले स्वास्थ्य क्षेत्रमा थुप्रै विकास देखिसकिन् । जस्तै, पहिलो पेसमेकर, दादुराको पहिलो भ्याक्सिन, पहिलो अंग प्रत्यारोपण, रुबेला भ्याक्सिन, ठेउलाको उन्मुलन, आइभीएफको विकास आदि । 
दोस्रो विश्वयुद्धको सुरुवात हुनु केही अघि सन् १९३६ मा जन्मिएकी थिइन् उनी । युद्धमा परेका मानिसहरु देख्दादेख्दै र घरको वातावरणले सानै उमेरमा नर्स हुने चाहना पलायो उनलाई । यसमा उनको आमाको सहयोगी भावनाले पनि काम ग¥यो । ‘हामी सानो गाउँमा बस्थ्यौं, मेरी आमा तनावमा परेका मानिसलाई सहयोग गर्थिन्, सुत्केरी गराउन सहयोग गर्थिन्, उपचार  आवश्यक परेकाहरुलाई पनि सहयोग गर्थिन् र जब मानिसको मृत्यु हुन्थ्यो, उनीहरुको अन्त्येष्टिका लागि सहयोग गर्थिन्,’ उनी भन्छिन्, ‘साँच्चै मेरी आमाको ठूलो मुटु थियो ।’
बाबुले पनि मानिसहरुलाई सहयोग गर्नुपर्छ भनेर सिकाउने गरेको उनी सम्झिन्छिन् । ‘बाबुआमासंगको विशेष सम्बन्धले मलाई नर्स हुन सिकायो,’ उनी भन्छिन् । 
स्कुल छाडेर नर्सको क्याडेट कार्यक्रममा सहभागी हुन जाँदा उनी १५ वर्षकी मात्र थिइन् । उनले १८ वर्षको उमेरमा बिहे गरिन् । तर बिहेकै समयमा पतिको आमाको मृत्यु भएकाले उनका भाईबहिनीलाई स्याहार्न केहीसमय उनले नर्सिङ पेशालाई रोक्नुप¥यो । बिहेको १३ महिनामै उनले छोरीलाई जन्म दिइन् । तर, उनको पेशाप्रतिको भोक मरेको थिएन । त्यसैले उनले २० वर्षको उमेरमा सेन्ट जेम्स युनिभर्सिटी हस्पिटलमा नर्सिङ असिस्टेन्टका रुपमा काम सुरु गरिन् । त्यहाँ उनले १९७६ सम्म काम गरिन् । 
पेशाका क्रममा उनले थुप्रै तालिम लिइन् र तिनले उनको पेशालाई अझ व्यवसायिक बनायो । तीमध्ये मेन्टल हेल्थ नर्सिङ पनि एक हो । ‘मैले जहिले पनि मेन्टल हेल्थ नर्सिङलाई विशेष रुपमा महसुस गरें, मेरो विशेष कला भनेकै मानिसहरुका कुरा सुन्नु र उनीहरुलाई अलग तरिकाले सहयोग गर्नु हो,’ उनी भन्छिन् । 
रोयल कलेज अफ नर्सिङको एक आँकडाअनुसार अझै पनि बेलायतमा ४० हजार नर्सको अभाव छ । अलाइन स्पष्ट छिन्, किन युवाहरुको आकर्षणमा नर्सिङ पेशा परेन भनेर । ‘नर्स भर्ना गर्न कति समस्या छ भनेर मैले धेरै देखेकी छु, मलाई यो पेशा निकै मन पर्छ, र यो कति कठिन र तनावयुक्त छ भन्नेपनि मलाई थाहा छ ।’ उनी भन्छिन् । 
उनलाई अझै पनि यो पेशाबाट रिटायर हुन मन छैन । ‘म ६२ वर्ष पुगेपछि औपचारिक रुपमा रिटायर हुनुपर्ने थियो, तर त्यतिबेलै मैले काम नरोक्ने दृढ निश्चय गरेकी थिएँ,’ उनले भनिन् । ज्वरो आएर या अरु बिरामी भएर घरमा बस्नुपर्दा यो पेशा आफ्ना लागि कति महत्वपूर्ण रहेछ भन्ने महसुस हुने गरेको उनी बताउँछिन्। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने