विचार/ब्लग

'नेपाल चिकित्सक संघ'लाई 'डाक्टर सोसाइटी अफ नेपाल'को प्रेमपत्र

None

काठमाडौं-

प्रिय एनएमए,

लेख्न त तिमीलाई गोप्य रुपमा प्रेमपत्र नै पठाउन मन थियो। तर, खै यो एकोहोरो प्रेमले निकै पिरोल्दो रहेछ। जब-जब 'पत्र'मा तिम्रा लागि 'प्रेम' भर्ने प्रयास गर्छु, तब-तब पुराना आशाहरु छिया-छिया हुन्छन् र यही पत्रसँगै जलाउन खोज्छन् मलाई पनि। त्यसैले प्रिय, तिमी र मेरा अन्य सबै सरोकारवालालाई मेरो यो सामूहिक चिठी पढ्नू र सुनाइदिनू है! 

प्रिय,

आजसम्म याद छ मलाई त्यो दिन, तिम्रो एक आह्वानमा कसरी म देशैभरिबाट आफ्नो पेशा-व्यापार सबै छाडी तिमीले भेट्न बोलाएको ठाउँमा दौडिँदै आएथेँ। तिमीलाई तन-मन-धनले त साथ दिएकै थिएँ, तिमीलाई अझै ढाडस मिलोस् भनेर मैले आफ्ना सम्पूर्ण साथीभाइ, इष्टमित्र डाकी ल्याएको थिएँ। किनकि त्यो दिन तिम्रा लागि मात्र नभई मेरो लागि पनि महत्त्वपूर्ण दिन थियो! अर्थात् हाम्रो दिन थियो! हामी विजयी हुने दिन थियो। 

तर प्रिय, मेरो प्रेम एकतर्फी रहेछ। तिमीले मेरो यति चोखो मायामाथि कति सजिलै छल गर्यौ् है! दुख्छ मुटु, चिरिएर आउँछ मन, जब सम्झन्छु त्यही दिन! मेरो समर्पणमाथि तिमीले फोहोरी खेल खेलेको दिन! तिमीले खुट्टा कमाएको दिन! मेरो प्रेम हारेको दिन! हामी हारेको दिन! 

आज प्रणय दिवस, माया र पिरतीको दिन! आज तिम्रो याद आयो। 

मेरो आशा र भरोसालाई निराशाले माल्यार्पण गर्ने तिमी! मेरो बललाई विफल तुल्याउने तिमी। मेरो समर्थनलाई गलहत्याउने तिमी। समग्रमा मेरो मायालाई कुल्चिने तिमी। प्रणय दिवसमा नमीठोसँग तिम्रो याद आयो! 

हुन त त्यही दिनदेखि हराएका तिमी। तर मूर्ख म! यो फेब्रुअरीमा सम्झिई पो हाल्छौ कि भनी पर्खेँ। मैले फेरि पर्खे! एक हप्ता पर्खे! प्रेमिल साताको सातै दिन गयो। तर न तिम्रो मेसेज आयो, न कल। न कुनै वाचा पूरा गर्यौ!, न दियौ कुनै प्रतिफल।!

प्रिय, आज प्रणय दिवसमा आजभन्दा धेरै अगाडि तिमीलाई साथ दिने म र  म जस्ता धेरैलाई तिमीले दिएको 'प्रण' याद आइरहेको छ। ती तिम्रा प्रणले हामीलाई आशा दिए, सपना दिए, वाचा दिए। तर, बदलामा तिम्रा झुटा प्रणहरुले हाम्रो प्राण नै लिने भए!

प्रिय एनएमए, 

तिमी यतिविघ्न निर्दयी छौ र? सुनिन्छ,  तिमीलाई त कसैले संरक्षण गरेको छ रे! त्यसैले होला, असुरक्षित भई संवेदनशील पेशामा खटिनुको पिडा तिमीले नबुझेको। त्यसैले होला, तिमीले हाम्रो कार्यभारको जोखिम जोख्न नसकेको। त्यसैले होला, यो समाजले कुनै अनुसन्धान र प्रमाणबिना हामीलाई लापरवाहको ट्याग र हत्याराको माला पहिर्या इदिँदा तिमीलाई कुनै फरक नपरेको। 
भन न प्रिय, तिमी यतिविधि निष्ठुरी छौ र? हामी कुटिँदा-लुछिँदा र दोषबिना मुछिँदा तिमीलाई दुख्दैन र? 

खै, तिमीले आफ्नो सोच्ने परिवार को हो कुन्नि! मेरो त को नै छ र तिमी बाहेक? मेरो सुरक्षा कसले गर्छ? भन न प्रिय, म र म जस्ताले पाएको दैनिक ज्यालाले हाम्रो पेट भरियो कि नाइँ, खै अब कसले बुझ्छ?

तिमी भन्ने गर्थ्यौ, 'तिमी मेरी हौ, म हुँदाहुँदै तिमीलाई कसैले हात लगाओस् त! कसैले विनासित्ति तिमीलाई दोष लगाओस् त! त्यसलाई कानुनी सिस्नुले डामिदिन्छु, त्यसलाई बेलमा नछुट्नेगरी जेल हालिदिन्छु!' तिम्रो यही आडभरोसाका कारण म पनि निर्धक्क भएर तिम्रो हात समाएर हिँड्ने गर्थेँ। तर, तिमीले त आफ्ना सारा वाचा भुल्यौ।

प्रिय, म अझै तिमीलाई नै सम्झँदै छु। तिमीले गरेको प्रणमा प्राण भर्ने प्रयास गर्दै छु। 

प्रिय एनएमए, माया भन्नु प्राप्ति मात्र होइन। सत्य, निष्ठा र त्यागी भावनाले आफ्नो मान्छेलाई पुज्नु पनि माया हो रे। एक पटकको 'भुल'लाई माफीको 'फूल'ले स्विकारेर आफ्नो मान्छेलाई अर्को अवसरले स्वागत गर्नु पनि माया हो रे। तिमी त मेरै आफ्नो मान्छे। 

त्यसैले आऊ एनएमए, मेरो मर्मलाई फेरि एक पटक मनन गरेर हेर। यो साथलाई फेरि एक पटक ग्रहण गर। हामी र हाम्रा परिवारले गरिरहेका संघर्षलाई उचित प्रतिफल दिन र भोगिरहेका समस्यालाई सही सामाधान दिन मेरो हात समाऊ। 

'तिमी'मा म, 
'म'मा तिमी मिलेपछि,
न तिमी हार्छौ,
न म
जित्छौं त 'हामी'
'हाम्रो प्रेम'
'हाम्रो परिवार'

धेरै मायासहित-
तिम्री 'डाक्टर सोसाइटी अफ नेपाल' (DSON)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने