विश्व स्वास्थ्य

अमेरिकामा एक युवतीको आँखाबाट १४ वटा कीरा निस्किएपछि…

None

पोर्टल्यान्ड (एजेन्सी)– अमेरिकामा एक युवतीको आँखाबाट १४ वटा कीरा निस्किएको छ। एबी बेकले नाम गरेकी युवतीको आँखाबाट निस्किएको कीराको लम्बाइ आधा इन्चीसम्म रहेको छ।

यसअघि यस्तो घटना जनावरमा मात्र पाइएकोमा पहिलो चोटि मानवमा देखिएको विज्ञहरुले बताएका छन्। यो घटनाले चिकित्सा विज्ञानलाई पनि आश्चर्यमा पारेको छ। 

वैज्ञानिकहरुले ‘थेलाजिया गुलोसा’ नामक संक्रमणका कारण यस्तो भएको बताएका छन्। आँखामा भेटिएका कीराहरू उत्तरी अमेरिका र दक्षिणी क्यानडामा पाइने बताइएको छ। 

२६ वर्षीया युवती अलास्कामा माछा मार्ने कम्पनीको डुंगामा काम गर्दै आएकी थिइन्। अहिलेसम्म उत्तरी अमेरिकामा १० व्यक्ति यस्तो प्रकारको संक्रमणबाट प्रभावित भएको बताइएको छ। ती सबैमा आँखाको संक्रमणबाट निस्किएका कीराहरू फरक-फरक पाइएको छ। 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) डिभिजन अफ पेरासिटिक डिजिजेज एन्ड मलेरियाका वैज्ञानिक र मुख्य शोधकर्ताहरूले भनेका छन्, ‘अमेरिकामा आँखामा कीराको संक्रमणको विषय अनौठो हो। कीराको प्रजाति थेलाजिया थियो। यसअघि यस्तो संक्रमण देखिएको थिएन।’ 

युवतीले बायाँ आँखा चिलाउन र पोल्न थालेपछि चिकित्सकलाई देखाएकी थिइन्। आँखा मिच्ने क्रममा सुरुमा उनको हातमा एउटा कीरा निस्किएको थियो। कीरा निस्किएपछि आँखा चिलाउने क्रम रोकिएको थिएन। तीन सातापछि फेरि त्यही आँखाबाट एक–एक गर्दै १४ वटा कीरा निस्किएपछि युवती आत्तिएकी थिइन्।  

एबीले यस सम्बन्धी जानकारी लिन इन्टरनेटमा निकै खोजिन्। तर, कुनै जानकारी नभेटेपछि आत्तिएर नेत्ररोग विशेषज्ञसँग सल्लाह लिन पुगेकी थिइन्। तर, उनले पहिलो पल्ट देखाएको चिकित्सकका लागि यस्तो समस्या अनौठो भएकाले उनले कुनै सुझाव दिन सकेनन्। यसपछि उनले पोर्टल्यान्डका नेत्र विशेषज्ञलाई देखाइन्। यसपछि उनलाई सिडिसीका वैज्ञानिकको टिमले उपचार गरेको थियो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने