मुख्य समाचार

सप्तरीमा एचआइभी/एड्सबाट हालसम्म १३ जनाको मृत्यु, रोग लुकाउँदा संक्रमितको संख्या बढ्दो


राजविराज- सप्तरीमा ४६ वर्षीय एक पुरुषको एचआइभी/एड्सका कारण मृत्यु भएको छ। ६ महिनाअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सम्पर्कमा आएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

रोजगारीका क्रममा भारतको नयाँ दिल्लीमा कार्यरत उनको गत मंसिर १२ गते मृत्यु भएको अस्पतालले जनाएको छ। दिल्लीमा कार्यरत रहँदा बिरामी परेको र रगत चढाउँदा आफूलाई एचआइभी संक्रमण भएको उनले बताउँदै आएका थिए। केन्द्रले उनकी श्रीमती, एक छोरा र एक छोरीलाई पनि फलोअपमा राखेको छ।

योसँगै सप्तरीमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। एचआइको संक्रमण परीक्षण सुरु भएदेखि (२०६५ साल) ६ पुरुष, ५ महिला र एक तेस्रोलिंगी गरी १२ जनाको मृत्यु भइसकेको छ।

हालसम्म १९२ जना संक्रमित केन्द्रको सम्पर्कमा छन् भने १२१ जनाले औषधि सेवन गरिरहेका छन्। जसमा ४७ पुरुष, ६० महिला, ३ तेस्रोलिंगी र १२ जना बालाबालिका छन्। अस्पताल रेकर्ड शाखाका रामकुमार दियालीका अनुसार ६ बालक र ६ बालिकाले नियमित औषधि लिइरहेका हुन्।

२ महिनादेखि ७० वर्षसम्मका संक्रमितहरु रहे पनि २४ देखि ४५ वर्षका अधिक रहेको केन्द्रले जनाएको छ। औषधि सेवन गरिरहेका मध्ये ६३ जना सप्तरीका रैथाने र बाँकी अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरु छन्। हालसम्म फेला परेका १९२ मध्ये २ जना लागुऔषध प्रयोगका कारण र १९० जना यौन सम्पर्कका कारण संक्रमित भएको दियालीले जानकारी दिए।

खुल्न नसक्दा रोगी बढे
वैदेशिक रोजगारीका कारण बढ्दो असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगका कारण सप्तरीमा एचआइभी संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ। जिल्लाको दक्षिण-पश्चिम भेगमा बढी संक्रमित भेटिएका छन्। २०६५ सालसम्म १०-१५ जनाको संख्यामा रहेका संक्रमितहरुको संख्या पछिल्लो समय अत्यधिक वृद्धि भएको रेकर्डले पुष्टि गरेको छ। 

वैदेशिक रोजगारीका क्रममा पुरुषहरुमा रहेको संक्रमण महिला हुदै बालबच्चामा समेत पुग्ने गरेको केन्द्रकी कोअर्डिनेटर सुनिता यादवले जानकारी दिइन्।

आफूलाई लागेको रोग छरछिमेकले थाहा पाउने चिन्ता तथा केन्द्रसँग पर्याप्त साधन स्रोतको अभावका कारण संक्रमितहरु सिधै धरान तथा विराटनगर समेत जाने गरेको यादवले बताइन्। एचआइभी संक्रमण भए/नभएको छुट्याउन रगत जाँच गर्ने मेसिन, निर्धक्क सेवा लिन सक्ने वातारण सहितको भवन तथा पर्याप्त औषधि उपचारको व्यवस्था मिलाउन सके लुकेर बसेका संक्रमितहरु समेत सम्पर्कमा आउन सक्ने उनको भनाइ छ।

वैदेशिक रोजगारीमा गएर संक्रमित भएकाहरु स्वदेश फर्केपछि चेकजाँच नगराई बस्ने र रोग लागेको जानकारी पाएर पनि लुकाएर राख्ने प्रवृत्तिले संक्रमितको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकरलाल कर्णले बताए।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार हाल नेपालमा एचआइभी संक्रमितको संख्या ३९ हजार छ। तीमध्ये २६ हजार उपचारको क्रममा छन्। बाँकीको अवस्थाबारे भने सरकारलाई नै थाहा छैन। सन् १९८८ मा पहिलो पटक यो रोगको पहिचान भएको हो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने