मुख्य समाचार

क्यान्सर विजेता अनुराग : केमो लिँदै गर्दा निर्देशन गरेका थिए ‘ग्याङस्टर'


चर्चित बलिउड निर्देशक अनुराग वशुको जीवन हिन्दी फिल्मको कहानीभन्दा कम छैन। छत्तिसगढको भिलाई सहरको गरिब परिवारबाट संघर्ष गरेर उनले बलिउडमा आफूलाई स्थापित गरे। उनको संघर्षसँग जब सफलताले घुँडा टेक्यो, त्यही बेला उनले क्यान्सरसँग संघर्ष गर्नुपर्‍यो। जब उनलाई थाहा भयो कि ब्लड क्यान्सरले ग्रसित बनाएको छ। त्यसपछि उनको शरीर बिस्तारै कमजोर हुँदै गयो। तर, उनको भित्री जुझारुपनले शरीरलाई कमजोर बनाउन दिएन। उनले यसलाई आफ्नो भाग्य मानेर स्वीकार गरे र यसविरुद्धको लडाइँको मैदानमा आत्मविश्वासको हतियार बोकेर उत्रिए। क्यान्सरविरुद्ध केमो लिँदै गर्दा उनले बनाए थिए फिल्म ‘ग्याङस्टर’। क्यान्सरसँगको लडाइँ जितेपछि उनले ‘बर्फी’, ‘लाइफ इन मेट्रो’लगायतका फिल्म बनाए। त्यसअघि नै बनाएका हुन्, ‘मर्डर’। उनी आफ्ना जीवनको यी दुई संघर्षको कथा यसरी सुनाउँछन् :

म छत्तिसगढको भिलाई सहरमा एक आम बंगाली परिवारमा हुर्केको हुँ। भिलाई एक यस्तो सहर हो, जो सांस्कृतिक रुपमा निकै सम्पन्न मानिन्छ। त्यसैले म त्यहाँ जन्मिन हुर्किन पाएकोमा आफूलाई माग्यमानी ठान्छु।

मेरा आमाबुवा थिएटरमा अभिनय गर्दथे। परन्तु ती दिन सफलताको सिँढी चढ्नका लागि केवल राम्रो पढाइ जरुरी रहेको सम्झिइन्थ्यो। थिएटरमा अभिनय गर्नु प्राप्तिभन्दा बढी कलाप्रतिको प्रेम थियो। जसोतसो हाम्रो घरबार त्यसैबाट चलेको थियो। 

त्यसैले मैले पनि इञ्जिनियरिङ पढेर आफ्नो वर्गउत्थान गर्ने सोच बनाएको थिएँ। इञ्जिनियरिङका लागि धेरै प्रवेश परीक्षा दिएँ। त्यो मेरो भाग्यको परीक्षा पनि थियो। तर, म असफल भएँ।

स्कुले दिनमा म सांस्कृतिक कार्यक्रममा बढी रुचि राख्थेँ। स्कुलका विभिन्न समारोहको सफलताका लागि गुरुहरु मतिर हेर्थे। मैले त्यही समय महसुस गरेको थिएँ कि म कथावाचनमा सिपालु छु।

त्यसपछि मैले इञ्जिनियर पढ्ने सोचाई त्यागिदिएँ। १२ कक्षा पास गरेपछि मैले बाआमासँग फिल्म निर्देशनमा जाने योजनाका बारेमा बताएँ। उहाँहरुलाई मनाउन एकदमै मुस्किल थिएन किनकि उहाँहरु कलाप्रेमी जमातकै एक हुनुहुन्थ्यो। त्यसपछि मैले थिएटरका कलाकारलाई नजिकबाट नियाल्न थालेँ। 

त्यो समय मुम्बई आउन सहज थिएन। मेरा लागि त झन् दिवा सपना जस्तै थियो। जब मैले ग्य्राजुएसन पूरा गरेँ, त्यसपछि मुम्बई लागेँ। मुम्बई पुगेको त थिएँ तर यहाँ टिक्न सजिलो छैन भन्ने मैले सुरुमै महसुस गरेँ। म निर्देशक बन्न चाहन्थेँ। यसको लागि  म कुन दिशातिर हिँड्नुपर्छ भन्ने अलिकति पनि मलाई थाहा थिएन। 

अरु त अरु फिल्म हस्तिका  नजिक पुग्न पनि निकै मुस्किल पर्यो मलाई। म धेरैपल्ट उनीहरुको नजिक जानबाट रोकिएँ। एकपल्ट मैले यतिसम्म महसुस गरेँ कि मुम्बई आउनु नै मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो। 

फेरि मैले एक दिन लक्ष्य तय गरेँ,  अबको १८ महिना संघर्ष गर्छु। त्यतिन्जेल पनि केही भएन भने म  झिटीगुन्टा बाँधेर फर्किन्छु। मैले यस्तो योजना पनि बनाएँ कि  कुनै पनि हालतमा फिल्मको सेटसम्म प्रवेश पाएँ भने केही न केही त गर्छु। 

त्यसपछि मैले फिल्म क्षेत्रका  सानातिना काम स्वीकारेँ। मैले ब्याकग्राउन्ड डान्सरको हैसियतमा काम गरेँ। सँगै मेकअप असिस्टन्टको काम लिएँ। त्यो समय स्याटलाइट टिभी खुब चलिरहेको थियो। मैले एक टिभी शो ‘तारा’का बारेमा जानकारी पाएँ। जहाँ मैले अडिसन दिएँ र असिस्टेन्ट डाइरेक्टरका रुपमा काम पाएँ। 

यसरी बिस्तारै मैले भिडियो शोहरु निर्देशन गर्ने मौका पाउँदै गएँ। काम सिक्दै गएँ। म ठूलो लक्ष्यका साथ आएको थिएँ। त्यसैले यी मेरा खुड्किला मात्रै लाग्थे। 

एकदिन महेश भट्टले मलाई फिल्म निर्देशनको प्रस्ताव गर्नुभयो। त्यो फिल्म ‘मर्डर’ थियो। जुन सुपरहिट भयो। त्यसपछि मेरो जीवन सफलताउन्मुख थियो। मेरो करिअरको ग्राफ उकालो लागिरहेको थियो। मेरो विवाह भइसकेको थियो र मेरी श्रीमती गर्भवती थिइन्। यही क्रममा एक दिन मलाई ठूलो झड्का लाग्यो।

मैले रगत बान्ता गरेँ। त्यसपछि अस्पताल लगियो। डाक्टरले बताए कि मलाई 'ब्लड क्यान्सर' भइसकेको छ। म यो विश्वास गर्न सकिरहेको थिइनँ कि यी सबैकुरा मलाई नै किन भइरहेका छन्?

क्यान्सर मेरो शरीरमा आगो जसरी फैलिरहेको थियो। म जिउने र मर्ने सम्भावनाको बीचमा थिएँ। डाक्टरले सम्भावनालाई ५०–५० प्रतिशत भनिरहेका थिए। 

एकदिन मलाई एउटा ठूलो अस्पतालमा सिफ्ट गरिँदै थियो। एम्बुलेन्सको यात्रा बडो भयावह थियो। मलाई स्वास लिन समस्या भइरहेको थियो। लागिरहेको थियो– कतै यही ट्राफिक जाममा परेर मेरो जीवनको अन्त्य त हुँदैन? 

म मेरो जन्मिँदै गरेको सन्तानको अनुहार हेर्न चाहन्थेँ। यही चाहनाले मेरो जीवनको धागो चुँडाल्न सकेको थिएन। म चाहन्थेँ कि तीन महिना अरु जिउन पाए पुग्थ्यो। किनभने मेरो सन्तान जन्मिन तीन महिना बाँकी थियो। त्यसपछि मैले स–साना लक्ष्य बनाउन सुरु गरिदिएँ। 

म त्यो कुरा गर्छु। जे म चाहन्छु। म सोच्ने गर्छु कि म जे गर्न गइरहेको छु, त्यसमा मज्जा आउँछ कि आउँदैन ? म मान्छु कि यदि म भाग्यमानी रहेछु भने मैले गरेको काममा मान्छेलाई मज्जा आउनेछ। 

बिरामी  हुनुभन्दा पहिला मेरो सोच यस्तो थिएन। म सोचिरहेको हुन्थेँ,  जे गरिरहेको छु, त्यसमा कति पैसा आउँछ? बिरामीपछि मेरो सोचमा यूटर्न आयो। आफू खुसी रहने हो र आफू वरिपरिकालाई खुसी पार्नुपर्छ। योभन्दा जरुरी संसारमा केही छैन। 

मैले ससाना कुरा गर्न सुरु गरेँ। यता मेरो शरीर रोगसँगै दिनदिनै परास्त भइरहेको थियो। म कतिदिन भेन्टिलेटरमा रहेँ। फेरि त्यहाँबाट फर्केर सामान्य बेडमा आएँ। म यस्तो सोच्थेँ कि भोलि बिहान देख्नका लागि रातभरि जिउँदो रहन्छु र बाहिर पनि निस्किन्छु। एकदिन म अस्पतालबाट बाहिर पनि निस्केँ। म ठिक हुँदै गएँ। तर, मलाई फिल्मको निर्देशन दिन सबै डराउन थाले। त्यसपछि फेरि म टिभी शोतिरै फर्किनुपर्यो। मैले सुरुवात शून्यबाटै गर्नुपर्ने भयो। यही दौरानमा मलाई फिल्म ‘ग्याङस्टर’ प्राप्त भयो। यो फिल्म मैले केमोथेरापी लिइरहेको समय गरेको थिएँ। 

यससँगै मैले लाइफ इन मेट्रोको घोषणा गरिदिएँ  र त्यसमा पनि काम गर्न सुरु गरिदिएँ। र, आज म त्यही गरिरहेको छु,  आफूलाई एउटा तार्गेट दिइरहेको छु। अर्को सालका लागि तार्गेट। अर्थात् फेरि एक वर्षको जीवनका लागि तार्गेट। जसले मलाई आगामी दिनका लागि बाँच्ने उत्प्रेरणा दिन्छन्। 

मलाई मेरा कामले मात्रै जिउँदो राख्न सक्छन् भन्ने मैले थाहा पाइसकेँ। जीवनले पनि यही अनुसार काम गर्ने रहेछ। म त्यस्तो कुनै विषयमा छुँदिनँ, जसले मलाई खुसी दिँदैन। फिल्म हिट होला कि नहोला, यसबारे त झन् म सोच्दै सोच्दिनँ। 

मैले कहिल्यै सोचेको थिएन कि आज म जहाँ छु, त्यहाँ पुग्छु। मैले एउटा बाटो समातेँ र हिडिरहेँ। गरेको बस् यत्ति हो। टिभीमा शो गरिरहँदा मलाई लागेको थिएन फिल्म पनि बनाउँछु। जे हुने रहेछ, त्यो त भगवानको इसारामा हुने रहेछ। 

म जहिल्यै भनिरहेको हुन्छु, दुनियाँमा दुई खालको मान्छे हुन्छन्। एउटा हथौडा जस्ता, अर्को किला जस्ता। किला जस्ता मान्छे गर्छन् र हथौडा जस्ता मान्छे गराउँछन्। 

तपाईं किला हुने हो कि हथौडा आफूले चुन्ने हो। किला हो भने भित्र छिर्दै जानुहोस्, हथौडा हो भने अर्कोलाई ठिक तरिकाले ठोक्नुहोस्। के बन्ने हो त्यो त तपाईंले चुन्ने हो। 

केनफोलिओज डटकमको ‘बशर कि विरासत’बाट 
अनुवाद : डिबी खड्का

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने