प्रवास

अमेरिका पुग्ने पहिलो नेपाली डाक्टर, ४५ वर्ष अघि कसरी अमेरिका पुगे ?

स्वास्थ्य खबरपत्रिका

डा. हरिहर शर्मा हाल अमेरिकास्थित न्यूयोर्कको कर्निङ सहरमा बस्छन् । उनी नेपालबाट अमेरिका जाने डाक्टरमध्ये सम्भवत पहिलो नै हुन् । सन् १९७१ मा उनी अमेरिका गएर बस्न थालेका हुन् । कर्निङको गथ्रीउ क्लिनिकमा कार्यरत उनी हालै नेपाल आएका थिए । उनीसँग स्वास्थ्य खबरपत्रिकाले गरेको कुराकानी :


मैले कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेको हुँ । कलकत्ता मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेको हुँ । छात्रवृत्तिमा पढेका कारण त्यतिबेला पाँच वर्ष सरकारले खटाएको स्थानमा जानुपर्ने हुन्थ्यो । त्यही अनुसार म चिकित्सकका रुपमा काम गर्न  स्याङ्जा पुगेँ । त्यतीबेला त सानो झुपडी जस्तोमा क्लिनिक जस्तो अस्पताल थियो । औषधि पनि निकै कम थियो । बिरामीलाई उपचार गर्न निकै समस्या थियो । त्यहाँ २ वर्ष काम गरेपछि हेटौँडा र भरतपुरमा काम गरेँ । स्वास्थ्य सेवा विस्तारकै क्रममा रहेका कारण सामान्य उपचार बाहेक अरु दिनसक्ने अवस्था थिएन । तर अहिले धेरै उपलब्धि भएका छन् । त्यतिबेलाको समयको तुलनामा नेपालको स्वास्थ्य सेवामा आमुल परिवर्तन आइसकेको छ ।


विकासित देशहरुसँगको तुलना गर्दा त पक्कै कम हुन्छ । तर अहिले गाँउ गाँउमा स्वास्थ्य संस्था पुगेका छन् । डाक्टर तथा स्वास्थ्यकर्मी पुगेका छन् । सन्तोष गर्ने ठाँउ पर्याप्त छ । तर यसको मतलव यो होइन कि त्यो अवस्थालाई त्यतिकै छाड्ने । स्वास्थ्य संस्था र सेवाको विस्तार बढेपनि पछिल्लो समय सेवाको विस्तार र विकासमा भने सुस्तता आएको छ । संस्था नपुगेको स्थानमा पुग्न सजिलो थियो । तर अब पुगेको स्थानमा गुणस्तरीय र सहज सेवा दिने समय आएको छ । अब नेपाल सरकारले त्यातातिर ध्यान दिन आवश्यक छ ।


नेपालमा सन् १९६५ सम्म सेवा गरेपछि म थप अध्ययनका लागि लण्डन पुगेँ । लण्डमा पाँच वर्ष वसेपछि अमेरिकाको एक अस्पतालले डाक्टर मागेको विज्ञापन एउटा जर्नलमा देखेँ । मैले त्यहाँ एप्लाई गर्दा नाम निस्क्यो । अमेरिकाबाट नै मसँग अन्तर्वार्ता लिन सञ्चालक लण्डन आए । मैले जाने निर्णय गरेँ । तर त्यतीबेला अमेरिकामा काला र गोराबिचको चर्को विभेद थियो । लण्डनमा म काम गरिरहेको स्थानका अग्रजले त्यस्तो विवादको समयमा नजान भने । लण्डनमै काम गर्न धेरै आग्रह गरियो । तर मैले नयाँ ठाँउमा जान्छु भनेर सन् १९७१ मा अमेरिका पुँगे ।


डेटरोइटको अस्पतालले मलाई कामका लागि बोलाएको थियो । त्यो अस्पतालले मलाई बस्न लगायत ठूलो पारिश्रमिक दिएर राख्यो । दुई वर्ष त्यहाँ काम गरेपछि म सन् १९७३ मा गथ्रिउ क्लिनिकमा काम गर्न सुरु गरेँ । उक्त क्लिनिक अमेरिकाका विभिन्न ८ वटा सहरमा छ । मैले काम गर्ने भनेको कर्निङको क्लिनिकमा हो । अहिले त ८० वर्ष पुगिसकेको छु । पहिला जस्तो पूर्णकालिन सेवा दिन सक्दिन । अफिसियल काम मात्र गर्छु । मेरो विशेषज्ञता इन्टरनल मेडिसिन र कार्डियोलोजीमा हो । पहिला त आकस्मिक कक्षदेखि वार्डहरुमा पूर्ण कालिन सेवा दिएँ । तर अब उमेर बढेकाले पार्ट टाइम गर्न थालेँ ।


म जाने बेलामा अमेरिकामा पनि डाक्टरहरुको कमी थियो । मैले भिसाको लागि आवेदन दिएको थिएँ । त्यसको दुई हप्तामा नै मलाई ग्रिन कार्ड दिएको थियो । त्यतीबेला मलाई क्यानडाले पनि ग्रिन कार्ड दिएको थियो । तर क्यानडा नजाने निधो गरेँ । अमेरिकन कलेज अफ फिजिसियन बोर्ड पास गरेका कारण त्यतै काममा व्यस्त भएँ । बिरामीहरुले पनि निकै सम्मान गर्छन् । सुरुमा भने गोरा बिरामीले गोरा छाला भएकै डाक्टर खोज्थे । तर पछि उनीहरुले बुझे डाक्टर भनेको सबैका लागि समान हुन् भन्ने । एक पटक एक जना गोरा बिरामी निमोनियाको उपचारका लागि आएका थिए । अस्पतालमा म नै थिएँ । उसले गोरो डाक्टर छैन भन्यो । मैले छैन यहाँ म मात्र छु । तपाईलाई म प्रति विस्वास छैन भने अन्यत्र जान सक्नुहुन्छ भनेपछि उसले लिखित रुपमा नै क्षमा माग्यो ।


लामो समय सेवा गरेका कारण होला मलाई त्यहाँ सबैले माया गर्छन । आदर गर्छन । आफ्नै परिवारका सदस्य झैँ व्यवहार गर्छन । मलाई पनि त्यो आफ्नो घर जस्तो लाग्छ । जन्मघर जन्मेको देश जस्तो त हुन्न । त्यही भएर म समय समयमा नेपाल आउने गरेको छु । नेपालको स्वास्थ्य सेवा विस्तार र विकासका लागि निजी प्रयासमा पनि सहयोग गरीरहेको छु । यसका साथै संस्थागत रुपमा पनि सहयोग गरेको छु । त्रिवि शिक्षण अस्पताल, ओम अस्पताल, अर्थोपेडिक्स अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज लगायतका संस्थाहरुमा सहयोग गरेको छु । गाँउ गाउँमा सेवा पु¥याउने टिमलाई सहयोग गरेको छु । नेपालको स्वास्थ्य सेवा विस्तार र नेपालीको उपचारका लागि मेरो सहयोग निरन्तर रहने छ ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live