मुख्य समाचार

मेडिकल कलेजका सञ्चालकले हालेको मुद्दामा डा केसीले दिए सर्वोच्चमा यस्तो जबाफ

None

काठमाडौं-

काठमाडौं- डा गोविन्द केसीले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दामा लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीशबाट गोपाल पराजुली नहटेसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्। 

काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले हालेको मुद्दामा मंगलबार आफैं अदालत उपस्थित हुँदै डा केसीले यस्तो जवाफ बुझाएका हुन्। केसीको लिखित जवाफमा आफ्नो लडाइँ न्यायलय विरुद्ध नभई भ्रष्ट न्यायिक नेतृत्व मात्र भएकाले अदालतको अवहेलना नहुने जिकिर गरिएको छ। 

पराजुलीको विभिन्न मितिमा कीर्ते नागरिकता जारी भएको तथा शैक्षिक प्रमाणपत्र समेत फर्जी भएकाले त्यस विरुद्ध आफूले आवाज उठाएको केसीको लिखित जवाफमा उल्लेख छ। आवश्यक पूर्वाधार नै नपुगेको काठमाडौं नेसनललाई सम्बन्धन दिनू भनी सर्वोच्च अदालतबाट पराजुलीको इशारामा अन्तरिम आदेश भएको आरोप समेत केसीले लगाएका छन्। 

स्वास्थ्य मन्त्रालय र सरकारको अनुगमनमा समेत मापदण्ड नपुगेको पाइएको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनू भनी न्यायाधीशबाट आदेश जारी भएकाले त्यसको एक सार्वभौम नागरिकले विरोध गर्न पाउने संवैधानिक अधिकार अन्तर्गत आफूले आलोचना गरेको केसीको लिखित जवाफमा उल्लेख छ। 

सुरक्षा माग्दै जिल्ला प्रशासनमा निवेदन 

केसीले मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा आफ्नो सुरक्षाको माग गर्दै निवेदन दिएका छन्।

झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूलाई ज्यान मार्ने धम्की दिएको र उक्त भिडियो प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो सामाजिक सञ्चालमा सेयर गरेको दाबी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको निवेदनमा उल्लेख छ। 

पराजुलीको नागरिकता बदर गर्न माग

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पराजुलीको नाममा दुई पटक नागरिकता जारी भएकाले कीर्ते नागरिकता बदर हुनुपर्ने माग गर्दै केसीले अर्को निवेदन दर्ता गराएका छन्। 

नागरिकता ऐन र जिल्ला प्रशासनलाई प्राप्त अधिकार अन्तर्गत पराजुलीको नाममा जारी भएको नागरिकता बदर गर्न निवेदनमा माग गरिएको छ। तनहुँ स्थायी ठेगाना भएका पराजुलीले प्रतिलिपिको रुपमा काठमाडौंबाट नागरिकता निकालेका थिए। उक्त नागरिकतामा महिना र गते थप गरी कीर्ते गरिएको केसीको निवेदनमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने