विचार/ब्लग

जनस्वास्थ्य सेवा सुधारका लागि ९ सुझाव

None

काठमाडौं-

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ६ वर्षदेखि हरेक वर्ष फागुन १५ गते 'स्वास्थ्य सेवा दिवस' मनाउँदै आएको छ। आज देशभर छैटौं स्वास्थ्य सेवा दिवस मनाइँदैछ। निजामती राष्ट्रसेवक कर्मचारीले निजामती सेवा दिवस मनाएझैं २०५३ मा स्वास्थ्य सेवा ऐन पारित भएको आधार र स्वास्थ्य सेवाका कर्मचारीलाई छुट्टै सेवामा आवद्ध गरिएको उपलक्षमा निजामती सेवा दिवसका साथै २०६८/६९ देखि हरेक वर्ष यो दिवस मनाइन लागिएको हो। 

छुट्टै ऐन र छुट्टै सेवाका रुपमा आइसकेपछि स्वास्थ्य सेवाका कर्मचारीलाई छुट्टै दिवसको आवश्यकता महसुस गरी यो दिवस मनाउन थालिएको हो। निजामती कर्मचारीको ४० प्रतिशत स्वास्थ्य सेवाका मात्र स्वास्थ्यकर्मी भएकाले स्वास्थ्यका संगठनहरु,स्वास्थ्यकर्मी र मन्त्रालयले पनि यस दिवसको आवश्यकता महसुस गरी मनाउन लागेको हो।

स्वास्थ्य सेवा दिवसको उद्देश्य र औचित्य
राष्ट्रिय स्वास्थ्य सेवा दिवसको प्रमुख उद्देश्य नै स्वास्थ्यकर्मीहरुले काम गर्दा लगनशीलताका साथ सेवा गर्ने भावना विकास गर्ने उत्कृष्ट कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गर्ने, स्वास्थ्य सम्बन्धी चेतना दिने, जनस्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्ने र आम जनतालाई सहभागी हुन प्रेरित गर्ने,  स्वास्थ्य सम्बन्धी सन्देश फैलाउने हो।

राष्ट्रिय स्वास्थ्य सेवा दिवसको औचित्य नै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नु हो।  दिवसलाई उपयोग गरेर स्वास्थ्यकर्मीहरुलाई थप प्रेरित र प्रतिबद्ध भएर काम गर्न प्ररित गर्दछ। स्वास्थ्य सेवा दिवसकै सन्दर्भमा स्वास्थ्य सम्बन्धी चेतना दिऔं, यस्ता कार्यक्रममा आम जनतालाई सहभागी हुन प्रेरित गरौं, स्वास्थ्यका सन्देशहरु फैलाऔं भन्ने उद्देश्यले यस पटक दिवस मनाइँदैछ।

स्वास्थ्य सेवा दिवसको महत्व 
यो दिवसले आम जनतामा स्वस्थ जीवनशैली अपनाउने र स्वास्थ्य सेवा सम्बन्धी चेतनाको अभिवृद्धि गर्दछ। सहश्राब्दी विकास लक्ष्यका साथै स्वास्थ्य क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हासिल भएका तमाम सकारात्मक सूचकका बाबजुद  मुलुकमा समयसमयमा देखा पर्ने महामारी तथा मधुमेह, उच्च रक्तचाप, क्यान्सर र मुटुको रोगजस्ता नसर्ने रोगका चुनौतीमा उल्लेख्य प्रगति हासिल गर्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्य सेवकलाई यस दिवसले थप प्रतिबद्ध भएर सेवा दिन अभिप्रेरित गर्दछ। 

स्वास्थ्यकर्मीमा सेवा भावनाको विकास गराउँछ भने प्रत्येक वर्ष उत्कृष्ट कर्मचारी स्वास्थ्यकर्मीको पहिचान गरी पुरस्कृत गर्न मद्दत पुर्याउँछ। स्वास्थ्यकर्मीको कर्तव्य के हो, आफ्नो कर्तव्यपथमा निष्ठावान् तथा प्रतिबद्धताको भावना पनि जागृत गराउँछ। स्वास्थ्यकर्मीहरुको कर्तव्यप्रतिको भावनालाई सुदृढ गर्न दिवसको महत्व रहेको छ। 

सन् २००४/५ देखि नेपालमा स्वास्थ्य सुधार कार्यक्रम अगाडि बढेको हो। अहिले उक्त कार्यक्रमको चौथो चरणमा सहश्राब्दी विकास लक्ष्य पूरा गर्ने क्रममा अग्ररुपमा  विकसित भएको छ।स्वास्थ्य क्षेत्रमा संसारलाई नेपालले अचम्मित पारेको छ। किनभने नेपालले मात्रृशिशु मृत्यु दरलाई अपत्यारिलो किसिमले घटाउन सफल भयो। यो दुई दशकमा नेपालको स्वास्थ्य क्षेत्रले ठूलाठूला उपलब्धि हासिल गरेको छ। नेपालमा स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धीलाई विश्वले प्रसंशा मात्र नगरी  मनन गरी पुरस्कृतसमेत गरेको छ।

स्वास्थ्य क्षेत्रको कभरेज र गुणस्तर बढेको छ। ठूलो सञ्जाल भएको स्वास्थ्य क्षेत्रका संस्थाहरुमा स्वास्थ्यकर्मीहरु खटिएका छन्। धेरै स्वास्थ्यकर्मीहरु दक्ष, तालिम प्राप्त र अनुभवी छन्। गाउँ–गाउँका स्वास्थ्य इकाइहरु जस्तै, जिल्ला अस्पतालमा ७० किसिमका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका र स्वास्थ्य चौकीमा ३५ किसिमका औषधिहरु पठाइएको छ। प्याक्ट सूचकभन्दा मात्रृ मृत्युदर, शिशु मृत्युदर घटाइएको छ। यी बाहेक परिवर्तनमध्ये राष्ट्रिय जनगणना, जनसांख्यिक सर्वेक्षणको निरन्तरता र स्वास्थ्य सर्वेक्षणका परिणाम,जनस्वास्थ्य ऐन, स्वास्थ्य बीमा ऐन लगायतका ऐनहरुको मस्यौदा तयार भइसकेका छन्। 

स्वास्थ्य संस्थामा जनताको सहज पहुँचका लागि स्वास्थ्य संस्थाहरुलाई सेवाका आधारमा वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसका लागि दात्रृ निकाय, निजी स्वास्थ्य संस्था, मुलुकका स्वास्थ्य सेवा प्रवाह गर्ने अन्य सम्पूर्ण निकाय र चिकित्सा तथा स्वास्थ्यकर्मी उत्पादनमा कार्यरत शैक्षिक संस्थाहरुसँगको सहकार्य अगाडि बढाइएको छ। साथै संविधान प्रदत्त स्वस्थ भई बाँच्न पाउने अधिकारलाई सम्बोधन गर्न र मुलुकको संघीय संरचना अनुकूलको स्वास्थ्य सेवा प्रवाहका लागि मन्त्रालयले थुप्रै नीतिगत प्रयासको थालनी गरेको छ। 

मुलुकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र परिचालनका लागि मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज लगायत विभिन्न संघ, संस्थाहरुसंग सहकार्य गरेको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा भएका प्रगति
स्वास्थ्य सेवालाई उपचारात्मक, प्रतिकारात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा गरी तीन भागमा वाँडिएको छ। 

प्रतिकारात्मक स्वास्थ्य सेवामा काम गरेर केही उपलब्धिका रुपमा देशलाई पोलियो मुक्त भएको, दादुरा निवारण, नवजात शिशुमा हुने धनुष्टंकार निर्मूल, कालाजार निराकरण र कुष्ठरोग निवारणको अवस्थामा पुगेको छ। 
यसैगरी प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेका संक्रामक रोगहरुको नियन्त्रणमा उपलब्धि हासिल भएको छ। पछिल्लो दुई दशकमा उपचारात्मक र प्रतिकारात्मक सेवाको

विकासको गति र लगानी हेर्दा नमिलेको देखिन्छ। प्रतिकारात्मक र प्रवर्द्धनात्मक सेवाको तुलनामा पछिल्लो समयमा उपचारात्मक सेवामा जति लगानी गर्नुपर्ने थियो त्यति पुगेको छैन। त्यसमा तेस्रो चरणमा स्वास्थ्य सुधार कार्यक्रममा उपचारात्मक सेवालाई पनि लगानी प्रशस्त गर्नुपर्ने देखिन्छ। वास्तवमा आम जनताले स्वास्थ्य सेवाको महशुस भनेको स्वास्थ्य सेवाबारे बिरामी स्वास्थ्य संस्था वा अस्पतालमा प्राप्त अनुभव सूचकको रुपमा प्रतिविम्बित हुन्छ। आम नागरिकका लागि  सरकारी, गैरसरकारी र निजी क्षेत्रले दिइरहेको सेवालाई सुलभ र गुणस्तरीय सेवाका साथै कलेजो जस्ता आवश्यक अंगको प्रत्यारोपणमा केही गर्न खोजेको देखिन्छ।

स्वास्थ्य सेवाको गुणस्तरमा ध्यान कति?
स्वास्थ्य मन्त्रालयले केन्द्रदेखि जनताको घरदैलोसम्म स्वास्थ्य सेवाको सञ्जाल विस्तार गरी उपचारात्मक, प्रतिकारात्मक र प्रवर्द्धनात्मक एवम् पुनर्स्थापनात्मक स्वास्थ्य सेवाहरु योजनाबद्ध ढंगले प्रवाह गर्दै आइरहेको छ। 

दक्ष र स्वस्थ्य जनशक्तिको परिचालन गरी सबै सरकारी र निजी स्वास्थ्य सेवा तथा कार्यक्रमहरु सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड तयार भएको छ। व्यवस्थापकीय रुपमा ध्यान दिने हो भने सरकारी संस्थालाईलाई सरसफाइदेखि लिएर भौतिक पूर्वाधार, उपकरण समेतको दक्ष र सक्षम बनाउन सकिन्छ। सरकारी स्वास्थ्य संस्थामा व्यवस्थापकीय कमजोररीको कारण गुणस्तरमा सुधार गर्नुपर्ने देखिन्छ। सन् २०२०/२०२१ सम्ममा सबै सरकारी अस्पतालहरु र स्वास्थ्य संस्थाहरु निजीभन्दा सक्षम र सबल हुनुपर्ने देखिन्छ।

कसरी सुधार्ने जनस्वास्थ्य सेवालाई?
नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत र आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले आम नागरिकको स्वास्थ्यको आवश्यकता पूरा गर्न योजनाबद्ध ढंगले वैज्ञानिक एवम् वस्तुगत स्वास्थ्य ऐन, राष्ट्रिय स्वास्थ्य नीति, स्वास्थ्य कार्यक्रम तर्जुमा भए  पनि जनस्वास्थ्य सेवा दयनीय छ। ठूलो सञ्जाल भएको स्वास्थ्य क्षेत्रमा केहीलाई छाडेर अधिकांश स्वास्थ्यकर्मीको लापरबाही, समन्वय र सेवा भावनाको अभाव, अटेरीपन र अकर्मण्यता फस्टाउँदो छ। 

स्वास्थ्य सेवाको उद्देश्य एकातिर, कार्यान्वयन असाध्यै गतिहीन भएको छ। सामान्य स्वास्थ्य समस्याका लागि स्थानीय र प्रदेशतहको मुख ताकेर बसेको देखिन्छ। बजेट पुग्दा पनि औषधि खरिद हुन सक्दैन। सुपरिवेक्षण र अनुगमन केवल अभिलेखमा सीमित छ। अधिकांश स्वास्थ्यकर्मी खटिएको संस्थामा जाँदैनन्/बस्दैनन्। त्यसकारण यस्तो भताभुंग भएको स्वास्थ्य सेवालाई यस वर्षको राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा सुधार गर्न केही सुझाव पेस गरेको छु।

१. यदि नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने प्रयास गर्ने हो भने स्वास्थ्य सेवा ऐन २०५३ लाई व्यापक परिवर्तन गर्नैपर्दछ। स्वास्थ्य सेवाका सहायक चौथो तहदेखि एघारौं तहसम्मका प्राविधिक जनशक्तिलाई समेट्नेगरी संशोधन गरिनुपर्दछ। जुन तहमा स्तरोन्नति वा स्तरवृद्धि हुने हो सोका लागि आवश्यक योग्यता हासिल गरी लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा छनौट हुनुपर्ने व्यवस्था गरिनुपर्दछ।

२. स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायले स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधारको उपयुक्त व्यवस्था गर्नुपर्दछ। भवन तथा औषधि उपकरणको समयमै आपूर्ति व्यवस्था गरिनुपर्दछ। 

३. स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्दा दुर्गम क्षेत्रका उम्मेदवारलाई नै अधिकतम संख्यामा प्राथमिकता दिई छनौट गरिनुपर्दछ। यसो गरेमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन निकै सजिलो हुन्छ। चिकित्सकहरु जिल्लामा जान नमान्ने, तुरुन्तै फर्कने, केवल सहरमा मात्र बस्न खोज्ने, छिटै सरुवा हुने प्रचलन बढ्दा सेवा कार्य प्रभावित हुने हुँदा स्वास्थ्य सेवाका जुनसुकै पदका लागि रिक्त रहेका जिल्लाबाटै छनौट गर्नुपर्दछ। सरुवा र काजको अवधि कम्तीमा दुई वर्षसम्मको प्रावधान राख्नुपर्दछ। यदि अत्यावश्यक नै परेमा करारमा नियुक्ति गरी खटाउन सक्नुपर्छ।

४. स्वास्थ्य सेवाको सबैभन्दा तल्लो चौथो तहबाट योग्य जनशक्तिलाई सहायक पाँचौं तहको आवश्यक कोर्स वा तालिममा सहभागिता गराइनुपर्छ। उदाहरणका लागि अहेबबा सिनियर अहेब वा हेल्थ असिस्टेन्ट, अनमीबा सिनियर अनमी वा स्टाफनर्स, ल्याब असिस्टेन्टबाट ल्याव टेक्निसियन, हेल्थ असिस्टेन्टबाट एमबिबिएस कोर्स अध्ययन गर्ने प्रावधान राख्नैपर्छ। यसो गर्दा अनुभवी तथा योग्य जनशक्तिको स्तरोन्नति हुनुका साथै अझ बढी प्रोत्साहित भई कार्य सम्पादन हुन सक्छ।

५. स्वास्थ्य मन्त्रालयको सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकन गर्ने परिपाटी अत्यन्त नाजुक छ। वास्तविक समस्याको प्रभावकारी किसिमले समाधान गरिदिनुपर्दछ। साथै उपयुक्त सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गर्ने परिपाटीलाई सुदृढ गराउनु अति आवश्यक छ। प्रथम हुने संस्था, जिल्लाका कर्मचारीलाई  पुरस्कृत गरिनुपर्छ। कर्मचारीको वृत्ति विकास, सरुवा, बढुवा आदिमा गम्भीर र प्रभावकारी नीति बनाई कार्यान्वयन गरिनुपर्छ।

६. स्वास्थ्य मन्त्रालयद्वारा हरेक वर्ष विभिन्न स्वास्थ्य सूचकांकका आधारमा जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालय तथा अन्तर्गतका जनस्वास्थ्य कार्यक्रमको राम्रो र प्रभावकारी मूल्यांकन त गरिन्छ तर पुरस्कृत गर्ने परिपाटीनै छैन। त्यसकारण सो मूल्यांकनबाटै हरेक वर्षको उत्कृष्ट पुरस्कार प्रदान गरिनुपर्दछ।

७. नेपालको स्वास्थ्य क्षेत्रमा गैरसरकारी क्षेत्र हाबी भएको छ। चाहे संयुक्त राष्ट्रसंघीय संस्था वा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सबैजसो संस्थाको इसारामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा मातहतका निकाय चलिरहेका छन्। त्यसकारण देशमा 'डोनर ड्राइभिङ' हुनुपर्नेमा 'डोनर्स ड्राइभेन' भएको छ। देशको स्वास्थ्य क्षेत्रको योजना उनीहरुकै अभिरुचिमा भर पर्नाले प्रभावकारी योजना तर्जुमा हुन सकेको छैन। त्यसकारण गैरसरकारी संघसंस्थाबाट सहयोग, सुझाव मात्र लिन सकिन्छ।

८. देशका नागरिकको गुणस्तरीय स्वास्थ्यको सुनिश्चितता गर्ने स्वास्थ्य बिमा कार्यक्रम क्रमशः लागू हुँदैछ तर यसलाई अत्यन्त गम्भीरता साथ अगाडि बढाउनुपर्दछ। यसको सफलताका लागि स्वास्थ्य बीमा कार्यक्रममा करारमा नियुक्त कर्मचारीलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्दछ र स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रम व्यापक रुपमा बढाउनु पर्दछ।

९. हरेक स्वास्थ्य नीतिमा आधुनिक स्वास्थ्य प्रणालीका साथै वैकल्पिक स्वास्थ्य प्रणालीको समेत विकास गर्दै लैजाने भनी राखिएको हुन्छ, तर नीति बमोजिम प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीको विकास तथा कार्यान्वयन हुन सकेको छैन। त्यसकारण वैकल्पिक स्वास्थ्य प्रणाली समेतको विकास गरी तदनुरुप कार्यान्वयन गर्दा सेवाग्राहीले स्वास्थ्य सेवा पाउन सक्छन्।

(लेखक ४० वर्ष स्वास्थ्य सेवा गरी निर्देशक पदबाट सेवानिवृत्त भइसकेका छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने