विचार/ब्लग

प्यारालाइसिस गराउने 'विश्वमै दुर्लभ रेबिज' नेपालमा देखियो


रेबिज रोग दुई प्रकार हुन्छन्। पहिलो, क्लासिकल अथवा फिउरिअस र दोस्रो, प्यारालाइसिस गराउने रेबिज अथवा प्यारालाइटिक रेबिज।

यी रेबिजका प्रकारहरु लक्षणका आधारमा पहिचान वा छुट्याउने गर्ने गरिन्छ। प्यारालाइटिक रेबिज अति दुर्लभ रेबिज हो। तथ्यांकलाई आधार मान्ने हो भने सबै रेबिजका केश झन्डै ३० प्रतिशत प्यारालाइटिक रेबिज हुने गर्दछ। तर जनावरको सानोतिनो टोकाइ वा चिथारेको इतिहास भने धेरै व्यक्तिले बिर्सने गरेकाले प्यारालाइटिक रेबिजका रोगी स्नायु अथवा हाडजोर्नी विशेषज्ञहरुकहाँ पुग्ने गर्दछन्। तसर्थ ३० प्रतिशतसम्म देखिनुपर्ने प्यारालाइटिक रेबिज नेपालमा अहिलेसम्म सप्रमाण देखिएको कुरा कुनै अनुसन्धान लेखमा पाइँदैन। यो केश नै प्यारालाइटिक रेबिजको नेपालमा पहिलो केश हुनुपर्छ। तसर्थ यदि पहिले कुनै जनावरले टोकेको इतिहास भए रेबिजलाई पनि अरु रोगसँगै छुट्याउनु आवश्यक हुन्छ। 

केही हप्ताअघि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभागमा स्यालको टोकाइबाट पीडित ३५ वर्षीय पुरुष आइपुगेका थिए। उनलाई एक महिनाअगाडि स्यालले टोकेको रहेछ। एक हप्ताअघि सुरुमा तल्लो ढाड असाध्य दुखेको र लगतै एउटा खुट्टा राम्रोसँग नचल्ने भएकोले परामर्श र उपचारका लागि उनी काठमाडौँ आएका रहेछन्।

स्यालले बिरामीको टाउको, आँखा र खुट्टा लगायत विभिन्न भाग टोकेको थियो। अस्पताल आउँदा बिरामीको चेतनाको स्तर सामान्य थियो भने अधिकांश रेबिज रोगीमा देखिने हावा र पानीदेखि डराउने लक्षण थिएन। त्यतिबेला लगभग अरु १५ जनालाई पनि त्यही स्यालले टोकेको थियो, जसमा एक जनाको तत्काल मृत्यु भयो। रेबिजविरुद्धको सुई लगाउँदै गर्दा उनमा लक्षणहरु देखा परेको थियो। बिरामीले स्थानीय अस्पतालमा उपचार गरे तर सुधार भएन। यस अस्पतालमा पिसाब फेर्नमा कठिनाइ लगायतका स्वास्थ्य समस्या थपिँदै गएपछि बिरामीलाई आफ्नै घर लगिएको थियो। त्यहाँ पुगेपछि पूर्ण रुपमा बिरामीको बोली बन्द भयो। अन्तत: उनको  मृत्यु भयो।

विश्वमै भारत सबैभन्दा बढी रेबिज रोगको कारणले मृत्यु हुने देशमा पर्दछ। विश्व स्वास्थ्य संगठन अनुसार विश्वको झन्डै ३६ प्रतिशत रेबिजको कारणले हुने मृत्यु भारतमा मात्रै हुने गर्दछ। तथ्यांकले रेबिजका केशहरुमा झन्डै ३० प्रतिशत प्यारालाइसिस गराउने रेबिज हुन्छ भने पनि भारतमा फाट्टफुट्ट मात्र रिपोर्ट हुने गरेको पाइन्छ। त्यसमा पनि कुकुर वा बिरालोको कारण प्यारालाइटिक रेबिज देखिएको अति कम केशहरु रिपोर्ट भएका छन्। 

विश्वमा एउटा मात्र स्यालको टोकाइबाट प्यारालाइटिक रेबिज भएको रिपोर्ट भएकोले सायद यो नै विश्वमा दोस्रो स्यालको टोकाइबाट भएको प्यारालाइटिक रेबिज हुन सक्दछ। 

हालसम्म प्रकाशित वैज्ञानिक लेख होस् वा मेडिसिनका किताब। प्यारालाइटिक रेबिज धेरै जस्तो जंगली चमेराका कारणले हुने कुरा पढ्न पाइन्छ। नेपालको यो केशले हालसम्म पढ्दै आएको शिक्षा वा जानकारीलाई नै चुनौती दिएको छ भने नयाँ अनुसन्धानको आवश्यकता र बिस्तारै शिक्षामा समेत परिमार्जन गर्दै जानुपर्ने महसुस गराएको छ। 

चिकित्सकीय शिक्षा सधैँ परिवर्तनशील र परिमार्जित हुँदै आएको छ र हुनु पनि पर्छ। नयाँ मेडिसिनका जानकारीहरु विकसित देशबाट मात्र सिक्नुपर्छ भन्ने छैन। अनुसन्धानको अवसर पाए नेपाल जस्तो देशहरुले पनि नयाँ तथ्य पत्ता लगाउन सक्छ। त्यो विश्वको लागि नै अनुकरणीय हुन सक्दछ। 

आगामी वर्षदेखि विश्व स्वास्थ्य संगठनले जनावरको टोकाइपछि लगाउने एन्टी रेबिज सुईमा लगाउने तरिका र मात्रामा ठूलो परिवर्तन गर्दैछ र यो परिवर्तन कुनै विकसित देशका वैज्ञानिकहरुले गरेको अनुसन्धानको आधारमा नभई हाम्रै छिमेकी देश भारतका एक सरकारी चिकित्सक वैज्ञानिकको अनुसन्धानको आधारमा हुन लागेको हो। जुन हाम्रो जस्तो देशको लागि प्रेरणादायी हुनेछ। 

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने