मुख्य समाचार

आन्दोलन गर्न ४ सय अहेब आइपुगे काठमाडौं

स्वास्थ्य खबरपत्रिका

संयोजक अनिल पाण्डे लगायतका अहेबहरु

काठमाडौं– स्वास्थ्यचौकी प्रमुखको जिम्मेवारी आफूहरुले पाउनु पर्ने भन्दै ४ सय अहेब तथा स्वसरहका स्वास्थ्यकर्मीहरु काठमाडौं आइपुगेका छन् । विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेको आन्दोलनको नेतृत्व गरिरहेका अनिल पाण्डेले बताएका छन्  । आफ्ना माग पूरा नगरे ३५ सय स्वास्थ्यकर्मी काठमाडौं उतार्ने उनले बताए ।

विगत केही समयदेखि स्वास्थ्यचौकी प्रमुखको जिम्मेवारी कसले पाउने भन्नेमा हेल्थ असिस्टेन्ट र अहेव वा सो सरहबाट बढुवा भएकाहरुबिच विवाद चलिरहेको छ ।

स्वास्थ्य सेवा ऐन अनुसार  हेल्थ असिस्टेन्ट सेवा सुरु गर्दा पाचौं तह हुन्छ । यही ऐनको बढुवा प्रावधान अनुसार अहेब वा अनमीलगायतबाट सेवा सुरु गरेकाहरु केही वर्षमा बढुवा भएर सातौं तहसम्म पुग्ने गरेका छन् । उनीहरुलाई सिनियर अहेब, सिनियर अनमी लगायतका पद दिइने प्रचलन छ ।

सेवाको सुरुवात पाचौं तहबाट गरेको र योग्यता  बढी भएकाले स्वास्थ्य चौकी प्रमुख आफूहरु हुनुपर्ने हेल्थ असिस्टेन्टको माग छ । स्वास्थ्य मन्त्रालयले ऐनलाई शंशोधन गर्दै योग्यतालाई प्राथमिकता दिने प्रावधान पनि बनाएको छ ।

योग्यतालाई आधार मानेर आफू भन्दा तल्लो तहको कर्मचारी हाकिम हुने प्रावधानमा त्रुटी रहेको भन्दै सच्याउन आन्दोलित स्वास्थ्यकर्मीहरुले माग राखेका छन् । आन्दोलनका संयोजक अनिल पाण्डे भन्छन्, ‘आठौं तहबाट तहलाई प्राथमिकता दिने र त्यो भन्दा तल योग्यतालाई प्राथमिकता दिने गलत प्रणाली सुधार्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उनीहरुले स्वास्थ्य सेवा ऐन २०५३ दफा ९ ख अनुसार पद समायोजन गर्नुपर्ने माग राखेका छन् ।

सरकारले स्वास्थ्य सेवामा अहेव छैठौं विशेष पदस्थापना दिए पनि विद्यमान स्वास्थ्य संगठनको संरचना र लोकसेवामा अहेव छैटौं पदको कुनै दरवन्दी नभएको हेल्थ असिस्टेन्टहरु बताउँछन् । यसकारण यो व्यवस्थामै हेरफेर गर्नुपर्ने हेल्थ असिस्टेन्टहरुको माग छ ।

सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी अहेब, अनमीलगायतको दिएका छन् । स्वास्थ्य संस्था छाडेर आन्दोलन गर्न स्वास्थ्य मन्त्रालय पुगेका अहेब भन्छन्, ‘हाम्रा माग पूरा नभए स्वास्थ्य चौकीबाट दिइने सेवा ठप्प पार्छाैं ।’


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने