फिचर

लास्ट बेन्चर थिए डा भगवान कोइराला

लामो समयदेखि सर्जरी गरेर मानव मुटुको रोग निवारण गरिरहेका डा भगवान कोइराला अहिले स्वास्थ्य शिक्षाको ‘अपरेशन’मा छन् । स्वास्थ्य क्षेत्रको मुटु मानिने स्वास्थ्य शिक्षा नै बिरामी पर्दै गएको छ । मुटुरोगको उपचार र स्वास्थ्य क्षेत्रको सुधार दुईटैमा खरो उत्रिरहेका डा कोइराला यो ठाउँसम्म पुग्नुको कहानी निकै लम्बाचौडा छ । उनले गरेका कामको सूची पनि लामो छ । जसको बेलिविस्तार उनले चाँडै आउन लागेको आत्मकथा लगाएका छन् । डिबी खड्काले उनलाई मुटुको सर्जन बन्नुको कारण र केही स्मरणीय सर्जरी सोधेका छन् ।

लास्ट बेन्चर

डा कोइरालाको प्रगति र अहिलेको प्रस्तुति हेर्दा हरेकले ठान्छ– उनी बच्चैदेखि यस्तै टाठा हुन् । तर, उनको बिगत धेरैले अनुमान गर्नेभन्दा फरक छ । पढाइमा ठिकै भएपनि लजालु स्वभावका उनी कक्षामा लास्ट बेन्चर हुन रुचाउँथे । ‘म लजालु स्वभावको थिएँ । त्यसैले पछाडि गएर बस्थें । सरले प्रश्न गरिहाले उत्तर दिन्थें, नत्र चुप लागेर बस्ने बानी थियो,’ उनले स्मरण गरे । कुनै काममा लागेपछि दुःख गर्ने र एकहोरो लाग्ने स्वभावका उनलाई हेल्थ एसिस्टेन्ट प्रथम वर्ष पढ्न साह्रै हम्मे पर्यो । पाल्पाको सरकारी स्कुलमा पढेका उनलाई अँग्रेजीले दिनु दुःख दियो । ‘पहिलो वर्ष बल्लतल्ल पास भएँ,’ उनले भने ।

 

‘सर्जन बन्नुपर्छ बुझ्यौ’

एचए पहिलो वर्ष मुश्किलले पास गरेपनि त्यसपछि भने उनको पढाइको स्पिड बढ्यो । गुरुहरुको नजरमा चढ्न थाले । गुरुमध्येका डा गोविन्द शर्माले उनलाई एकदिन भनिदिए– सर्जन बन्नपर्छ बुझ्यौ । उनले बुझेनन् । एचए पढ्दै थिए, डाक्टर कहिले बन्ने र त्यसपछि सर्जन ! सर्जनसम्म पुग्ने बाटो लामै थियो । चिकित्सा शास्त्र अध्ययन संस्थानको पाचौं ब्याचका एचएमा उनले टपिदिए । त्यो बेला टपरले सरकारी कोटामा बंगलादेशमा एमबिबिएस पढ्न पाउँथ्यो । डा कोइरालाले पाएनन् । ‘सर्जन बन्ने चस्का गुरुले पसाएपछि जहाँ पुगेर भएपनि डाक्टर त बन्नैपर्छ भन्ने लाग्यो । त्यसपछि रुस गएँ । गुरुहरु सन्तुष्ट हुनुहुन्थेन,’ उनले सम्झिए ।

 

नो गर्लफ्रेन्ड, नो अल्कोहल

परिवार र गुरुको असन्तुष्टिबिच पनि डाक्टर बन्न रुस जान ईख र सपनाले  उचालेको थियो । त्यहाँ पुगेपछि पढाई राम्रो गर्नैपर्ने भयो । युवा उमेर, त्यस्तै साथी । उनका साथीहरु रमाइलो गर्न रुचाउँथे । त्यही रमाइलो मिसिएर पढाइ चौपट होला भन्ने उनको चिन्ता थियो । त्यसपछि उनले ‘नो अल्कोहल, नो गर्लफ्रेन्ड’ ग्रुप बनाए । त्यसपछि पढाइमा उनी अब्बल देखिदै गए । गुरुहरुको विश्वास यति जितेकी एमबिबिएस तेस्रो वर्षमै सर्जरी गर्ने मौका पाए । ‘मेरो पहिलो सर्जरी अनुभव थियो । गुरुहरुको रोहबरमा एपेन्डिसाइटिसको अपरेशनमा संलग्न भएको थिँए,’ उनले भने । त्यहाँको पढाइसकेपछि शिक्षण अस्पतालमा हाउस अफिसरका रुपमा उनले दुईवर्ष काम गरे । त्यो समयमा भने थुप्रै अपरेशन गर्नुपर्यो ।

 

पहिलोपल्ट मुटु ढुकढुक भएको देख्दा

दुई वर्ष शिक्षण अस्पतालमा बिताएपछि उनी एमएस गर्न बंगलादेश गए । सर्जरी पढिरहँदा पहिलोपल्ट बंगलादेशमै उनले मुटु चलिरहेको देखेका हुन् । उनले भने, ‘पहिलोपल्ट प्रत्यक्ष मुटु चलिरहेको देख्दा मलाई एक प्रकारको उत्प्रेरणा मिलेको थियो ।’ त्यसपछि नेपाल आएर केही समय काम गरेपछि उनी मुटुको सर्जरी सम्बन्धि थप ज्ञान लिन अमेरिका गएका थिए ।

 

इतिहास अर्थात् १९९७ फेब्रुअरी २७

नेपालमा क्लोज हर्ट सर्जरी सुरु भएको केही समय भइसकेको थियो । विदेशी डाक्टरको समूहमा आवद्ध भएर ओपन हर्ट सर्जरी पनि केही भइसकेको थिए । तर, नेपाली डाक्टरकै नेतृत्वमा ओपन हर्ट सर्जरी सुरु भएको दिन हो, १९९७ फेब्रुअरी २७ । डा कोइराला सम्झिन्छन्, ‘६ वर्षकी बच्चीको मुटुमा प्वाल थियो । त्यो टाल्न हाम्रो समूह सफल भयो । शिक्षण अस्पताल त्यसअघि नै अमेरिकी डाक्टरसँग मिलेर उनले ६ वटा अपरेशन गरिसकेका थिए  । भन्छन्, ‘त्यसअघि अरुसँग मिलेर गरेको र पढेको भएर डर थिएन तर अलि अलि नर्भस थिएँ ।’ अपरेशन सफल भएपछि पत्रपत्रिकाले सम्पादकीय लेखे, ‘नेपाली सक्षम छन् ।’  डा भगवानमा तिनले झन् ऊर्जा थप्यो । पत्रिकाका कटिङ जोगाएर राखेका छन् ।

 

आमाबच्चा जोगाउन सक्दा

डाक्टरको कामै बिरामी निको पार्ने हो । त्यसैले उनी आफूले निको पारेका बिरामीको हिसाबकिताब राख्दैनन् । तर, ८ महिनाकी गर्भवतीको मुटुको पाइपमा एनोरिजम भएपछि ह्यान्डिल गरेको केस उनको सम्झना आइरहन्छ ।

शहिद गंगालाल हृदय केन्द्रका डाइरेक्टर हुँदाको घटना थियो त्यो । उनले भने, ‘गर्भावस्थामा यस्तो अपरेशन गर्दा ठूलो जोखिम हुन्छ । अन्य बिरामीको पनि यस्तो अपरेशनमा मृत्युदर १५ देखि २० प्रतिशत छ ।’ उपचारका लागि बिरामी आएपछि अन्तिमसम्म जोगाउने प्रयास गर्नु चिकित्सकको धर्म नै हो । त्यसैले उनले शिक्षण अस्पतालबाट स्त्रीरोग विशेषज्ञ बोलाएर डेलिभरी गराएपछि मुटुको अपरेशन गरेका थिए । अपरेशन सफल भयो, आमाछोरी नै जोगिए । अहिले आमाछोरी नै बेला–बेला आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनीकहाँ आइरहन्छन् ।

उनले यसपल्ट यत्ति सम्झिए । अझ भनौं, यो भन्दा बढी सम्झिन लोभ गरे । किनभने धेरैथोक त उनले भर्खरै पहिलो ड्राफ्ट लेखिसकाएको आत्मकथा राखेका छन् । उनले आत्मकथामा आफ्ना बारे भन्दा पनि मुटु रोग, नेपालमा यसको उपचार प्रणालीको विकास र मुटु सम्बन्धि अन्य जानकारी समेट्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने