प्रोफाइल

मुटुरोगमा महिला विशेषज्ञ


काठमाडौं-

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले एकदिन कुराकानीका क्रममा भनेका थिए– एकजना महिला डाक्टरले कार्डियोलोजीमा डिएम गर्नुभएको छ । मेरो अनुमानमा मुटुरोगमा डिएम (पिएचडी सरह) गर्ने उहाँ पहिलो नेपाली महिला हुनुपर्छ ।’

मैले ‘हो र?’ भन्दै जिज्ञासु प्रतिक्रिया दर्शाएको थिएँ । कुराकानी गर्ने चाहनाका साथ डा भवानी मानन्धरको नम्बर टिपेको थिएँ ।

मुटुरोगमा पिएचडी सरह भन्नेबित्तिकै दिमागमा डा भवानीको एउटा चित्र बनेको थियो । मेरो दिमागको त्यो चित्रमा डा भवानी अलि पाको उमेरकी थिइन् । त्यसको केही दिनपछि फोन गरेर म उनलाई भेट्न ग्रान्डी इन्टरनेसनल अस्पताल पुगें । तेस्रो तल्लामा रहेको कार्डियोलोजी विभागमा डा भवानी मानन्धर लेखिएको नेमप्लेट पछ्याउँदै गएँ । ढोका बन्द थियो र आफू आएको जनाउ दिनु थियो । फोन गरें।

कालो बुट्टादार लङकोट लगाएर भित्रबाट जो निस्किइन्, ती मेरो दिमाग बनेको अनुमानित तस्बिरभन्दा फरक थिइन् । पाकी होइन, युवा !

आफूले महसुस गरेको यही कुरालाई प्रस्तुत गर्न सुरुमै भनें, ‘कति चाँडै सक्नु भएछ है पढाइ ?’

उनले  हाँस्दै भनिन्,  ‘पढ्नका लागि चाहिने अनुभव लिने बाहेक त्यति धेरै ग्याप भएन । म भन्दा चाँडै डिएमसम्मको पढाइ पूरा गर्ने पनि हुनुहुन्छ।’

तर, यसो भनिरहँदा उनले अहिलेसम्मको एउटा भोगाइ सुनाइन् । मुटुरोगकी यी विशेषज्ञलाई बिरामीले भने ‘नर्स’ ठान्दा रहेछन्।

‘नर्सलाई कम आँकेर यस्तो भन्न खोजेकी होइन । महिला डाक्टर भए पनि नर्स नै ठान्नु पुरुषप्रधान समाजको सोचको एउटा अवशेष हो जस्तो लाग्छ मलाई,’ उनले मनको तीतो पोखिन्। 

कामको सम्मान गर्ने भएकाले उनी ‘सिस्टर’ भनेर सम्बोधन गरिदिँदा पनि चित्त दुखाउँदिनन् । तर, कुरा फेरि सामाजिक सोचमै आएर ठोक्किन्छ । बिरामी र उनीहरुका आफन्तले डाक्टर र नर्ससँग गर्ने व्यवहारमा आकाश–पाताल फरक छ । त्यतिबेला भने उनको चित्त दुख्छ । यसरी ‘सिस्टर’ भनेर आउनेहरुलाई जब उनले उपचार सेवा दिन्छिन्, त्यसपछि कतिपयले भने महिला भएकै आधारमा नर्स भनी सम्बोधन गरेकोमा लज्जाबोध गर्छन्। 

मुटुरोगको उपचारमा पछिल्लो समय फाट्टफुट्ट महिलाको उपस्थिति देखिन थालेको छ । त्यसैले मुटु जँचाउन अस्पताल पुग्नेहरुले महिला विशेषज्ञको परिकल्पना गर्दैनन् र यस्तो ठान्छन् भन्ने उनको बुझाइ छ। 

तुलनात्मक रुपले चिकित्सा पेशामा महिलाको उपस्थिति सुरु देखि नै त्यति कमजोर छैन । विशेषज्ञता हासिल गर्दा भने महिलाले सहज बाटो रोज्ने गरेको देखिन्छ । ‘जुन पेशा, व्यवसाय, पद, प्रतिष्ठामा पुगे पनि नेपाली समाजमा घरधन्दा महिलाकै जिम्मामा हुन्छ । यही कारण इमर्जेन्सी रुपमा उपस्थित हुनुपर्ने, राति धेरै समय ड्युटी पर्ने वा लगातार लामो समय खट्नुपर्ने किसिमका उपचार सेवामा महिलाको कमी देखिन्छ,’ भवानी भन्छिन्। 

पछिल्लो समय मुटु उपचार सेवामा पनि महिला डाक्टरको उपस्थिति बढ्दै गएको छ । कार्डियोलोजीमा डिएम (पिएचडी सरह) गर्न थालेका छन् नेपाली महिला डाक्टरले।

ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत डा मानन्धरले ६ महिनाअघि मात्रै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मुटुरोगमा डिएम सकेकी हुन्। 

मुटुरोगमा महिला डाक्टर आकर्षित नहुनुमा विभिन्न कारण छन् । त्यसमध्ये समय निकाल्न मुस्किल पर्नु एउटा कारण रहेको डा मानन्धरको अनुभव छ । उनी भन्छिन्, ‘एमबिबिएस वा एमडी सकाउँदासम्म धेरैको विवाह भइसक्छ । जुन पेशामा भए पनि घरबार महिलाले सम्हाल्नुपर्ने चलनले मटुरोग रोज्न गाह्रो पर्छ ।’ अर्को कारण भने मुटुरोगमा विशेषज्ञता गर्ने डाक्टरले आफूलाई जुनसुकै बेला उपचारका लागि दौडिन तयार राख्नुपर्छ । यसमा पनि नेपाली परिवेश अनुसार महिलाका लागि त्यति सहज नभएको उनको ठम्याइ छ। 

डा मानन्धरले जुन दिन डाक्टर बन्ने सपना देखिन्, त्यतिबेलै उनले मुटुकै उपचार लाग्ने ठानेकी थिइन् । मुटुरोगकै डाक्टर बन्नुपर्छ भन्ने उनको दिमागमा कसरी  पर्न गयो उनलाई समेत थाहा छैन । तर, ‘डाक्टर बन्नुपर्छ’ भनेर उनका बुवा कृष्ण मानन्धर सानैदेखि भनिरहन्थे । इन्द्रचोकमा कपडा पसल गर्ने मध्यमवर्गीय मानन्धर परिवारको चाहना तीन सन्तानमध्ये कम्तिमा एकजना डाक्टर बनोस् भन्ने थियो ।  दुइटी छोरीहरु डा भवानी र डा तारा मानन्धरले बुवाको सपना पूरा गरे । डा तारा गाइनोक्लोजिस्ट हुन्।

बुवा सपना पूरा गर्ने लक्ष्य त लिइन् भवानीले । ‘डाक्टर बन्नलाई धेरै पढ्नुपर्छ’ सबैले भन्ने कुरा यस्तै थियो । उनको दिमागमा यही कुराले डेरा बनाएर बसेको थियो । त्यसैले उनले पढाइमा आफूलाई कहिल्यै कमजोर बनाइनन् । सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी पास गरिन्। एसएलसीमा छात्रामध्ये उच्च अंक हासिल गरेपछि उनले ‘हिरादेवी कंसकार गोल्ड मेडल’ पाएकी थिइन् । त्यसैगरी उनले केन्द्रीय मानन्धर गोल्ड मेडल र ताखा छैया सिरपा गोल्ड मेडल पनि पाइन्। 

उनको पढाइको स्तर प्रवीणता प्रमाण पत्र तहमा झन् उकासियो । सन् १९९८ मा विज्ञानमा प्रवीणता उत्तीर्ण गर्ने देशभरिकै छात्रामा उनी प्रथम भइन् भने बोर्डमा नवौं । छात्रामा प्रथम हुनेले पाउने ऐश्वर्या विद्या पदक उनले जितिन् । पढाइमा अब्बल साबित हुँदै गएपछि डाक्टर बन्ने उनको सपना साकार गर्ने बाटो पनि खुल्दै गयो। 

उनले स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा काठामाडौं युनिभर्सिटी अन्तर्गत एमबिबिएस पढिन्। चिकित्सा शास्त्र अध्ययन संस्थानमा इन्टरनल मेडिसिन पनि उनले छात्रवृत्तिमै पढिन् । एमडी अध्ययन गर्दा पनि उनको पढाइप्रतिको लगाव २० को १९ भएन । त्यसैले सन् २००९ मा उनले ‘बेस्ट रेसिडेन्ट अवार्ड’ पाइन्। 

‘इन्टरनल मेडिसिन पढ्दै गर्दा पनि रुची भने मुटुरोगमै थियो,’ उनी सम्झिन्छन्, ‘सबै विषयमा उत्तिकै ध्यान दिए पनि मुटु बारे पढाउँदा रुचीकर लाग्थ्यो ।’ उनलाई भविष्यमा मुटुरोगमै विशेषज्ञता हासिल गर्नुपर्छ भनेर डा ओममूर्ति अनिल लगायतले हौस्याइरहन्थे । ‘ओममूर्ति दाइहरुकै प्रेरणाले पनि आँट बढ्दै गएको हो,’ उनले भनिन्।

उनका हजुरबुवाको हृदयाघातबाट मृत्यु भयो । यो घटनाले मुटुरोग विशेषज्ञ बन्ने चाहना झन् मुखरित बनाइदियो । ‘त्यसपछि त मैले आफ्नो रुची र लक्ष्य दुईटै मोड्न चाहिनँ,’ उनी भन्छिन्।

यसबीचमा उनको विवाह भइसकेको थियो । मुटुरोगमा डिएम गर्न थाल्दा उनीसँग डेढ वर्षको बच्चा थियो । मुटुरोगमै डिएम गर्ने लक्ष्य लिएकी उनी हडबडाइनन् । उनलाई परिवारले हौसला र साथ दियो । ‘श्रीमान्ले कार्डियोलोजीमा डिएम गर्नुपर्छ भनेर हौस्याइरहनुहुन्थ्यो,’ उनले भनिन्, ‘सासुससुराले बच्चाको जिम्मेवारी सम्हालिदिएपछि म ढुक्कले पढ्न निस्कएँ ।’ उनका श्रीमान् डा पंकज बिएन प्याथालोजिस्ट हुन् । उनी पनि ग्रान्डी इन्टरनेसनल अस्पतालमै कार्यरत छन्।

डिएम गर्दागर्दै पनि उनी कार एक्सिडेन्टमा परेर घाइते भइन् । उनका श्रीमान् डा पंकजले त्यो समय पनि लक्ष्यबाट पछि नहट्न ठूलो आडभरोसा दिए। भन्छिन्, ‘मलाई सहयोग गर्न उहाँले आफ्नै करियर समेत पछि धकेलेर आउनुभयो।’

जसको प्रतिफल आज उनी कार्डियोलोजीमा डिएम गर्ने महिलाका रुपमा परिचित छिन् । आफ्नो रुचीको क्षेत्र भएकाले दत्तचित्त भएर काम गर्ने र आफूलाई अब्बल सावित गर्ने उनी बताउँछिन् । डा भवानीले भारतको अल इन्डिया मेडिकल साइन्सेज (एम्स) बाट डिएम कार्डियोलोजी ट्रेनीका रुपमा ६ महिना अनुभव लिएकी छिन्। 

उनले मेडिकल अफिसरका रुपमा पाटन हस्पिटलमा काम गरेकी थिइन् । यस्तै, इन्टरनल मेडिसिन विभागको एसिस्टेन्ट प्रोफेसरका रुपमा कास्थेवा मणिपाल मेडिकल कलेज, मणिपाल भारतमा उनले दुई वर्ष बिताइन् । एसिस्टेन्ट प्रोफेसरकै रुपमा नेसनल मेडिकल कलेज वीरगञ्जमा पनि उनले काम गरिन्। 

उनी मुटुरोगको उपचारका विभिन्न आयाम सिक्दैछिन् । उनलाई थाहा छ डिएम गर्नु भनेको पारङ्गत हुनु होइन । त्यसैले उनी आफूलाई अब्बल बनाउन पढाइ र सिकाइलाई निरन्तरता दिइरहेकी छिन्। 

अहिले डा भवानी पूर्णरुपमा मुटुरोगको उपचारमा केन्द्रित छिन् । उनलाई आफूले उपचार गरिरहँदा आफ्नो सपना पूरा भइरहेको जस्तो लाग्छ । उनी भन्छिन्, ‘सुरुदेखिको रहरले पनि होला मलाई मुटुरोगका बिरामीलाई ‘डिल’ गर्न सहज लाग्छ । यो कामबाट म सन्तुष्ट छु ।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने