विश्व स्वास्थ्य

दक्षिण सुडानमा मस्तिष्क ज्वरोको प्रकोप, २८ जनाको मृत्यु


जुबा– दक्षिण सुडानको पूर्वी भागमा फैलिएको मस्तिष्क ज्वरोका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारीअनुसार मस्तिष्क ज्वरोबाट प्रभावित हुनेको संख्या हाल १ सय ७ पुगेको छ। केही दिनदेखि फैलिँदै गएको रोगको प्रकोप नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या अझै बढ्ने खतरा रहेको डब्लुएचओको आपतकालीन र सहायता प्राविधिक अधिकृत रमादान ओटीमले बताए।  

अहिले इमाटोङ प्रदेशको तोरिट जिल्लामा पर्ने लिरे र इमुरोक पायाममा मस्तिष्क ज्वरोको प्रकोप बढी फैलिएको बताइएको छ। पायाम भन्ने ठाँउ त्यस जिल्लाको दोस्रो ठूलो प्रशासनिक केन्द्र मानिन्छ। 

‘प्राप्त विवरणअनुसार अहिलेसम्म मस्तिष्क ज्वरोका कारण २८ जनाको मृत्यु भएको छ र १ सय ७ जना बिरामी भएका छन्। यी घटनाहरू टोरिटको लिरे र इमुरोक पायाममा भएका हुन्,' ओटीमले भने। 

रोग प्रभावित ठाँउहरूमा रोगका बारेमा अनुसन्धान गर्न, पहिचान गर्न र त्यसका विरुद्धमा रोकथामका उपायहरू अपनाउन विभिन्न टोलीहरू पनि खटाइएको उनले जानकारी दिए।

दक्षिण सुडान जस्तै अन्य २६ अफ्रिकी मुलुकलाई पनि ‘मस्तिष्क ज्वरोको प्रभावित क्षेत्र मानिन्छ। ती देशहरूमा यस्ता सरुवा रोगहरूका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने