मुख्य समाचार

टिचिङको आइसियूमा संक्रमण रोक्न नौलो प्रयोग

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– आइसियू अस्पतालकै संवेदनशील ठाउँ हो। त्यसैले पाइला–पाइलामा होस पुर्याउनुपर्छ। तर, मानवीय स्वभाव न हो, कहिलेकाहीँ भुलिन्छ भने कहिलेकाहीँ लापरबाही हुन्छ।

यस्ता क्रियाकलापबाट हुन सक्ने संक्रमणलाई रोक्न टिचिङ अस्पताल महाराजगञ्जमा नयाँ उपाय अपनाइएको छ। त्यो हो, त्यहाँ कार्यरत डाक्टर, नर्सले पालैपालो कालो क्याप लगाउने। क्यापमा लेखिएको छ– 'ह्यान्ड हाइजिन मनिटर'। यसले बिरामीलाई छुनुअघि हात धुन सम्झाउँछ। जसले गर्दा हातबाट सर्ने ब्याक्टेरिया सर्न पाउँदैनन्। उक्त क्याप लगाएको व्यक्तिको भूमिका त्यो दिनका लागि मनिटर सरह हुन्छ। सोमबार टिचिङको आइसियू पुग्दा त्यो क्याप नर्स दीपा रिमालले लगाएकी थिइन्।

अस्पतालको आइसियूमा कार्यरत डाक्टर सुवास आचार्यका अनुसार यो क्याप आइसियूमा कार्यरत डाक्टर र नर्सले पालैपालो लगाउने गर्छन्। उनी भन्छन्, ‘आफूभन्दा सिनियरलाई हात धुनुहोस् भन्न अप्ठ्यारो हुन्छ। यो क्याप देखेपछि आफैंले जानेर हात धुन्छन् भन्ने आशा छ।’

उपचारका क्रममा एक बिरामीलाई सेवा दिएपछि अर्काे बिरामीलाई छुँदा अनिवार्य हात धुनुपर्छ। तर, यसो गर्न बिर्सिँदा समेत क्यापले सम्झाउने गरेको उनले बताए। बिर्सिनेलाई सम्झाउन र लापरबाही गर्नेलाई झस्काउन उक्त क्यापले राम्रो भूमिका खेलेको उनी बताउँछन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live