मुख्य समाचार

३५ अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले ३५ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ। मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये ३५ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए। 

स्वास्थ्यमन्त्री गगन थापाले सोमबार ३५ अस्पतालमा पदाधिकारी नियुक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए। लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो। अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो। 

स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति एवं मनोनयनसम्बन्धी मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री थापाले पेस गरेको मापदण्डलाई सरकारले मङ्सिर १६ गते स्वीकृत गरेको थियो। 

मापदण्डअनुसार जिल्ला अस्पतालको अध्यक्षका लागि स्नातक तथा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालका अध्यक्षका लागि स्नातकोत्तर पास हुनुपर्नेछ। समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्नुपर्नेछ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने