समाचार

भरतपुर महानगरपालिका अन्तर्गत २३ स्वास्थ्य संस्था, १ सय २७ स्वास्थ्यकर्मी

None

काठमाडौं-

चितवन– भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १ सय २७ जना स्वास्थ्यकर्मी र दुई सय सात जना स्वास्थ्य स्वयंसेविका आएका छन्। आइतबार भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकाहरुमा वडा नम्बर १४स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट दस जना कर्मचारी र करारमा कार्यरत चार जना चिकित्सक रहेका छन्। यसैगरी १३  वटा स्वास्थ्यचौकीबाट ८६ जना, आठ वटा नगर स्वास्थ्य केन्द्रबाट २४ जना र सामुदायिक स्वास्थ्य इकाई कविलासका तीन जना कर्मचारी महानगर मातहत आएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पत्ती र कर्मचारी विवरणसहितको अलगअलग फाइल एकमुष्ठ रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे। फाइल ग्रहण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताए।

भरतपुर महानगरका २९ वडामध्ये नौवटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भएपनि राम्रो कामको सुरुवात भएको बताए। उनले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडाहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने पनि बताए।

स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्र भएको धारणा राख्दै महानगर प्रमुख दाहालले जनताप्रति उत्तरदायी भएर सक्रियतापूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। उनले कार्यक्रममा उपस्थित वडाध्यक्षहरुलाई पदीय जिम्मेवारी पूरा गर्न सक्रिय रहन सुझाव दिए। स्थानीय तह अन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडा अध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ । अन्य पाँच जना सदस्यमध्ये एक जना महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकेका करिब चार दर्जन सूचांक पूरा गर्नुपर्ने चुनौती महानगरलाई थपिएको छ । ती सूचांक पूरा गर्न नसक्दा विगतमा ६५ औं जिल्ला बनेको चितवनलाई गतवर्ष २८ औं जिल्ला बनाउन सफल भएका छौं । यसपल्ट चितवनलाई उत्कृष्ट पाँचभित्र ल्याउने गरी काम गर्नुपर्ने छ।’

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वडा वडामा समन्वय र अनुगमन गरिने बताए। उनले पूर्ण खोपयुक्त वडा घोषणा गर्दै सिंगो महानगरलाई नै पूर्ण खोपयुक्त बनाउनेतर्फ महानगर लाग्ने योजना बताए।  उनले भने, ‘सम्पूर्ण वडा कार्यालयले आआफ्नो वडाभित्र स्वास्थ्य संस्थाको व्यवस्थापनसँगै अनुगमन र नियमन गर्नुपर्ने हुन्छ।’

महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १४ नम्बर वडाका अध्यक्ष ओमप्रकाश पोखरेल, महानगरको स्वास्थ्य शाखाकी परिवार नियोजन अधिकृत सीता दाहाल लगायतले  आफ्ना धारणा राखेका थिए।


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने