डक्टर्स आर्टिकल

मधुमेह  हुन नदिन  र भएपछि कस्तो खानपान गर्ने ?


काठमाडौं-

साधारणतया हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । प्याङ्क्रियाजबाट निस्कने इन्सुलिनले ग्लुकोजलाई कोषहरुमा पुर्‍याउँछ र शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्‍याउँछ । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुँदा या प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुँदा रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ। 

प्याङ्क्रियाजले इन्सुलिन बनाउन नसकेको अवस्थामा शुरुबाटै इन्सुलिन लिनुपर्ने हुन्छ । यस प्रकारको मधुमेह विशेषगरी बालबालिकामा हुन्छ। 

बनेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्दा पनि मधुमेह हुन्छ । साधारणतया ३० वर्ष नाघेका वयस्क व्यक्तिमा यस्तो हुने भए पनि परिवर्तित जीवनशैली, अस्वस्थकर खाना,  शारीरिक रुपले निस्क्रिय, मद्यपान, मानसिक तनाव लगायतका कारणले कम उमेरका व्यक्तिमा मधुमेहको समस्या देखिने गरेको पाइन्छ। 

गर्भवती महिलामा पनि गर्भ रहेको ३ देखि ६ महिनामा मधुमेह देखिन सक्छ । तर, बच्चा जन्मेपछि भने मधुमेह ठीक हुन सक्छ । यस्तो समस्याबाट बच्न गर्भवती हुनु अघिदेखि शरीरमा चिनीको मात्रा कम राख्न शरीरको तौल पनि ठीक राख्नुपर्छ। 

कस्तो अवस्थामा मधुमेह हुने सम्भावना हुन्छ ?
१. परिवारका सदस्यमा मधुमेह भएमा,
२. शरीरको तौल बढी भएमा, 
३. कम्मरको गोलाई पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी भएमा, 
४. निस्क्रिय जीवनशैली एवं शारीरिक व्यायाममा कमी भएमा, 
५. गर्भवती अवस्थामा, 
६. रगतमा चिल्लोको मात्रा बढी भएमा, 
७. उच्च रक्तचाप भएमा, 
८. मानसिक तनाव एवं चिन्ता भएमा, आदि । 
साधारणतया ३० वर्ष नाघेको अवस्थामा मधुमेहको जोखिम बढ्छ । साथै, शरीरको आवश्यकताभन्दा बढी शक्ति अथवा ‘क्यालोरी’ खानाबाट प्राप्त गर्दा पनि मधुमेहको जोखिम रहन्छ । रिस, चिन्ता, डर, तनाव, निद्रामा व्यवधान जस्ता मानसिक तनावका कारण रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ । 
यस्तै, मस्तिष्कघात, हृदयाघात, अन्धोपन, स्नायु तथा मिर्गौला जस्ता स्वास्थ्य समस्याका कारण पनि मधुमेहको समस्या निम्तन्छ । 

बच्ने उपाय 
१. रगतमा चिनी÷ग्लुकोजको मात्र ठीक राख्नुपर्छ । 
२. उचाइअनुसार शरीरको तौल ठीक राख्नुपर्छ ।
३. रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । 
४. कोलेस्टेरोल (चिल्लो पदार्थ) नियन्त्रणमा राख्नुपर्छ । 
नियमित स्वास्थ्य जाँचले मधुमेहका कारण हुन सक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न तथा नियन्त्रण गर्न सकिन्छ । मधुमेह भएकाले खाली पेटमा र खाना खाएको २ घन्टापछि रगतको जाँच गर्नुपर्छ । प्रत्येक वर्ष रगतको लिपिड प्रोफाइल, मिर्गौला, कलेजो, थाइराइड, आँखा तथा मुटुको जाँच गर्नुपर्छ । साथै, पिसाबको रुटिन जाँच पनि गर्नुपर्छ । 
नियन्त्रण एवं व्यवस्थापन गर्ने उपाय
खानामा कार्बोहाइड्रेटको बढी प्रयोग, विलासी हुँदै गएको जीवनशैली, कम शारीरिक श्रम गर्ने प्रवृत्तिबाट निम्तिएको मोटापना लगायतका कारण आजकाल मधुमेहको जोखिम बढ्दै गएको हो । मधुमेह नियन्त्रण एवं व्यवस्थापनका लागि नियमित व्यायाम, औषधि सेवन, इन्सुलिनको प्रयोगका साथै खानपान नियन्त्रण गर्नु जरुरी छ । खानपान व्यवस्थापनका लागि निम्न कार्य गर्न सकिन्छः

१. साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठीक परिमाणमा दैनिक भोजनमा समावेश गर्नुपर्छ । सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले खाना सन्तुलित हुनुपर्छ । 
२. बोसो तथा छालारहित मासु, माछा, अन्डा, चिल्लोरहित दूध तथा वनस्पति स्रोतबाट प्राप्त दाल गेडागुडी ठिक्क मात्रामा खानुपर्छ ।
३. तोकिएको क्यालोरी प्राप्त हुने किसिमले भोजनको व्यवस्था हुनुपर्छ ।
४. डाइटिसियनसँग उचित परामर्श लिई परिवारले खाने खानामा फेरबदल गरी सन्तुलित भोजन खानुपर्छ । 
५. दैनिक नियमित तथा हरेक पटकको छाक नछोडी ठिक समयमा खानुपर्छ, भोकै बस्नु हुँदैन । 
६. दुई खानाको बीचमा ४ देखि ६ घन्टाभन्दा बढी समयको ग्याप भएमा स्वस्थ्यकर पोषिलो खाजा अर्थात् स्न्याक्स ठिक परिमाणमा खानुपर्छ । 
७. हरेक पटक खानाको परिमाणमा विशेष ध्यान दिनुपर्छ, बढी खानाले स्वास्थ्यमा प्रतिकुल असर पर्नेहुन्छ । 
८. गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जामजेली, चकलेट, जुस नखानु नै बुद्धिमानी हुन्छ । 
९. खानामा रेसायुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ । 
१०. सफा–शुद्ध पानी प्रसस्त पिउनुपर्छ । 
११. खानेकुरा बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाउने विधिलाई प्राथमिकता दिनुपर्छ । घिउ–तेलमा फ्राइ गरेको खाद्यपदार्थको उपभोग नगर्दा बेस हुन्छ । 
१२. दूध तथा दही क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत भएकाले दैनिक भोजनमा समावेश गर्नुपर्छ । तर चिल्लोरहित वा कम चिल्लो (१ प्रतिशत वा २ प्रतिशत भएको) दूध प्रयोग  गर्दा उपयुक्त हुन्छ । 
१३. रेस्टुरेन्ट, होटलमा खाँदा कम चिल्लो भएको खाद्य परिकार छनोटका साथै परिमाणमा पनि ध्यान दिनुपर्ने हुन्छ । 
१४. औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सकको सिफारिसअनुसार खानाको तालिका मिलाउनुपर्छ ।
१५. नुनको प्रयोगमा पनि सावधानी अपनाउनुपर्छ । यसका साथै धूमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनुपर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने