समाचार

डेङ्गु सार्ने लामखट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान


रत्ननगर, चितवन- चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको हो। 

गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलनसक्ने भएकाले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिए। चितवनको राप्ती नगरपालिकामा सोमबारदेखि तीन दिने अभियान शुरु भएको छ। 

यस्तै भरतपुर महानगरपालिकामा भोलिदेखि अभियान शुरु हुँदै छ भने कालिका नगरपालिकामा आगामी बिहीबारदेखि तीन दिने ‘खोज र नष्ट गर’ अभियान चलाइने केसीले जानकारी दिए। 

उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवीका गरी करिब १०० जना परिचालन गरिने छ । खैरहनी नगरपालिकामा भने रोगको विषयमा प्रशिक्षण कार्यक्रम राखिएको छ। 

स्वयंसेवकले घरघरमा गएर डेङ्गु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने र फेला परेमा नष्ट गर्ने गर्छन्। 

चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेकामा ३१ जना चितवनका बिरामी र अरु बाँकी भने अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एक जनाको मृत्यु भएको जनाइएको छ । माघ र फागुनमा भने डेङ्गु भेटिएको छैन। 

मुुख्यगरी ‘एडिस एजेप्टाई’ नामको संक्रमित पोथी लामखट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए। डेङ्गु सार्ने लामखुट्टले जमेको सफा पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिनु हुँदैन। 

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेङ्गु देखिएको थियो । २०१० अर्थात आर्थिक वर्ष २०६७÷६८ मा चितवनमा महामारी फैलिँदा पाँच जनाको मृत्यु भएको थियो। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने