मुख्य समाचार

अन्धोपनको दोस्रो कारणका रुपमा रहेको ट्रकोमा रोग नेपालबाट निवारण

None

काठमाडौं-

काठमाडौं- नेपालमा कुनै समय अन्धोपनको दोस्रो कारणको रुपमा रहेको ट्रकोमा (खस्रे रोग) नेपालबाट निवारण भएको छ। नेपालमा ट्रकोमा रोग जनस्वास्थ्य समस्याका रुपमा नरहेपछि सरकारले विश्व स्वास्थ्य संगठनमा ट्रकोमा निवारण राष्ट्रका रुपमा घोषणा गर्न विश्व स्वास्थ्य संगठनमा प्रस्ताव पठाउने भएको छ।

ट्रकोमालाई जिल्लागत रुपमा युनिटका रुपमा हेरिने र उक्त जिल्लामा ५ प्रतिशतभन्दा कम जनसंख्यामा ‘एक्टिभ ट्रकोमा’ छ भने त्यसलाई निवरणको रुपमा लिन मिल्छ। नेपालका सबै जिल्लामा यो रोगको दर उक्त प्रतिशत भन्दा निकै कम पाइएपछि निवरण राष्ट्र प्रमाणिकरणका लागि विश्व स्वास्थ्य संगठनमा पठाउन लागिएको हो। 

नेपालमा नेपाल नेत्र ज्योती संघले यो रोगको क्षेत्रमा काम गरिरहेको छ। संघले आज यो रोग जनस्वास्थ्यको समस्याको रुपमा नरहेको भन्दै स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई ट्रकोमा निवारणका लागि आवश्यक तथ्यांक सहितको प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनलाई मन्त्रालयले अब विश्व स्वास्थ्य संगठनमा पठाउने र संगठनले आवश्यक अध्ययन गरेर निवारणको प्रमाणिकरण गर्नेछ। 

कार्यक्रममा स्वास्थ्य सचिव डा चौधरीले विश्व स्वास्थ्य संगठनले नेपालले ट्रकोमा रोगको क्षेत्रमा गरेको प्रगतिलाई पहिलेदेखि नै हेरिरहेका कारण सम्भवत अबको डेढ महिनाभित्र नै निवारणको प्रमाणिकरण हुने विश्वास व्यक्त गरिन्। ‘आगामि मे २ तारिख अर्थात वैशाख १९ गतेका दिन प्रमाणिकरणको घोषणा हुने सम्भावना छ,’ उनले भनिन्, ‘यो हाम्रा लागि निकै खुसीको कुरा हो।’

कार्यक्रममा संघका अध्यक्ष तीर्थ मिश्रले सन् २००२ देखि ट्रकोमा रोगबाट प्रभावित जिल्लामा राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको बताए। नेपालमा यो रोग विशेषगरि २० वटा जिल्लामा बढी देखिएको थियो। ति जिल्लामा  कैलाली, कञ्चनपुर, अछाम, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दिया हुन्। 

झिंगाको माध्यमबाट सर्ने यो रोगको लक्षण ५ देखि १४ दिनमा देखिन्छ । संक्रमितमा केही दिन आँखाको परेलामा दाना देखिने र विस्तारै आँखा सुन्निने, खत बस्ने र आँखा सेतो हुने लक्षण हुन्छ। यसका साथै आँखाको परेला भित्र नानीतिर फर्किएर घोच्ने गर्छ। समयमा नै उपचार नभए संक्रमण बढ्दै गएर आँखाको ज्योति गुम्ने गर्छ। सरसफाइको कमीका कारण नै यो रोग बढी लाग्ने गर्छ। दिनमा दुर्इ पटक आँखा धोएमा यो रोग लाग्नबाट धेरै जोगिन सकिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ४१ देशमा ट्रकोमा एक प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको र १९ लाख मानिसहरु दृष्टिबिहीन हुनुको पछाडि ट्रकोमा रहेको पाइन्छ। संगठनले सन् २०१६ मा १९ करोड २० लाख मानिसहरु ट्रकोमाको उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेको जनाएको छ।

यो सरुवा रोग भएकाले यसको प्रकोपलाई न्यूनीकरण गर्दै लैजाने उद्देश्यले सन् १९९८ मा ट्रकोमालाई विश्वव्यापी रुपमा नै उन्मुलन गर्ने एक प्रस्ताव पारित गरेको थियो। सोही अनुसार संगठनले सहयोगी संस्थाहरुको सहकार्यमा सन् २०२० सम्ममा विश्वबाट नै यो रोग उन्मूलन गर्ने घोषणा गरेको थियो। सोही अनुसार नेपालमा पनि यो रोग न्यूनिकरणका कार्यक्रम नेत्र ज्योति संघ मार्फत देशभर सञ्चालन भएका छन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने