मुख्य समाचार

३१ करोडको भ्रष्टाचार मुद्दाका आरोपी साहले लिएका यी अस्पतालको निर्माण अलपत्र

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सञ्जय साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जनकपुर बम काण्डमा संलग्न रहेको आरोपमा जेलमा रहेका साहले अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माणको ठेक्कासमेत लिएका थिए। तर, ती सबै भवन निर्माणको काम अहिले अलपत्र परेको छ। राजनीतिक दबाब र प्रभावमा तत्कालीन सभासद एवं सद्भावना पार्टीका उपाध्यक्ष साहले ७ वर्षअघि जनकपुर जिल्ला अस्पतालको भवन निर्माणको ठेक्का पाएका थिए। तर, निर्माण सुरु भएको ७ वर्ष भइसक्दा पनि भवन निर्माणको काम अझै सकिएको छैन।

ठेकेदार कम्पनीले समयमा नै काम गरेको भए उक्त भवन २०६८ साल असारमै निर्माण भइसक्नु पर्ने थियो। राजनीतिक पहुँचका आधारमा क्षमता नभए पनि अस्पताल निर्माणको जिम्मेवारी लिएका साहले ठेक्का लिएपछि काम अगाडि नबढाउँदा निर्माण अलपत्र परेको हो। उनी त्यसबेला भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयका राज्यमन्त्री थिए।

राज्यमन्त्रीको शक्ति र दबाबका भरमा उनले जनकपुरका मात्र चार वटा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका थिए। तर कुनै पनि काम सम्पन्न हुन सकेको छैन। करोडौँ रुपैयाँको ठेक्का हालेर साहले भवन निर्माणको पैसा अन्यत्र खर्च गरेका कारण निर्माण कार्य अलपत्र परेको भवन विभागका कर्मचारी बताउँछन्। साहले ०६६ असार २४ गते जिल्ला अस्पतालको निर्माणको जिम्मा लिएका हुन्। दुई वर्षभित्र कम सम्पन्न गर्ने भनेर उनले महादेव खिम्ती, देव सयार, पुष्पाञ्जली नामका निर्माण कम्पनीसँग संयुक्त रुपमा ठेक्का हालेका थिए।

दुई वर्षभित्र काम सम्पन्न नभएपछि साहले दबाबका भरमा पटक पटक म्याद थपे। तर कहिले पनि काम पुरा भएन। झन् डेढ वर्ष अगाडि जनकपुर बम बिस्फोटमा साहको संलग्नता देखिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि झन्डै चार करोड लागतमा निर्माणाधीन जिल्ला अस्पताल भवनको काम बिचमै अड्किएको छ। साहले जिल्लाकै बटेश्वर आयुर्वेद औषधालयको निर्माणको ठेक्का समेत लिएका छन्। उक्त काम पनि अलपत्र भएको छ। साह अहिले जेलमा छन्। नियमपूर्वक नै काम गरेको भए साहले भवन निर्माणको काम जेल जानुभन्दा दुई वर्ष अगाडि नै सक्नुपर्ने थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live