Collapse
Expand

मुख्य समाचार

जिल्लालाई ५ लाख सम्मको औषधि सोझै किन्ने अनुमति

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्य मन्त्रालयले औषधिको आभाव पूर्ति गर्न ७५ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पाँच लाखसम्मको औषधि सोझै खरिद गर्न निर्देशन दिएको छ।

मन्त्रालयले जिल्लाहरुमा औषधिको भण्डारण कम रहेको भन्दै सार्वजनिक खरिद नियमावलीको चौथौ संशोधनमा भएको व्यवस्था अनुसार पाँच लाख रुपैयाँसम्मको औषधि सोझै खरिद गरी वितरण गर्न निर्देशन दिएको हो। संशोधित नियमावलीको नियम ८४ ले अत्यावश्यक औषधि खरिद गर्न ५ लाखसम्म सोझै र ५० लाख सम्मको बोलपत्रबाट किन्न सक्ने अधिकार जिल्लालाई दिएको छ।

मन्त्रालयले निर्देशनको पत्र सबै जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ। स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने औषधि खरिदका लागि तीन महिना लाग्ने भएकाले जिल्लालाई सोझै खरिद गरी समस्या समाधान गर्न निर्देशन दिएको स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले बताए।

मन्त्रालयले खरिद प्रक्रियाका लागि बोलपत्र आह्वान गरेका जिल्लाहरुको हकमा भने चार दिनभित्र (पुस मसान्त) खरिद प्रक्रिया टुंग्याई आ–आफ्नो स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। प्रक्रिया सुरु नभएकालाई भने १५ दिने सूचना तत्काल निकाल्न मन्त्रालयले भनेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने