Collapse
Expand

मुख्य समाचार

काठमाडौँको वायु प्रदूषण रोक्न स्वास्थ्यमन्त्रीका १५ सूत्र

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौँमा बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा भयावह अवस्था आउन सक्ने बताएका छन्। मन्त्री थापाले वायु प्रदूषण तत्काल नियन्त्रण गर्न नसके श्वासप्रश्वास, मुटुरोग, क्यान्सर जस्‍ता प्राणघातक रोगका बिरामी बढ्दै जाने बताए। वायू प्रदूषणसम्बन्धी धारणा राख्दै मन्त्री थापाले भने, 'काठमाडौँ सहर जति फैलँदो छ, वायु प्रदूषणको असर पनि बढ्दो छ। दैनिक थपिने सवारी साधन काठमाडौँको वायु प्रदूषणको प्रमुख स्रोत बनेका छन्।' उनले सम्बन्धित सरकारी निकायले प्रदूषण नियन्त्रणमा तत्काल ध्यान पुर्याउनु पर्नेमा जोड दिए।

मन्त्री थापाले वायु प्रदूषण नियन्त्रणबारे आफ्ना धारण यसरी राखेः

विश्वस्वास्थ्य संगठनले तोकेको पिएम २ दशमलब ५ मापदण्डभन्दा काठमाडौँको वायु प्रदूषण पाँच गुणा ज्यादा छ। अझ बर्खामा भन्दा हिउँदको मौसममा काठमाडौँमा वायु प्रदूषण तीन गुणा ज्यादा हुने गरेको छ। काठमाडौँको ३८ प्रतिशत वायु प्रदूषण यातायातका कारण हुने गरेको तथ्यांक छ।

२०७१/२०७२ मा काठमाडौँका १३ अस्पतालमा भर्ना भएका श्वासप्रश्वास रोगका बिरामी मध्ये ३९ प्रतिशतमा सिओपिडी (गम्भीर प्रकृतिको दम) र २९ प्रतिशतमा निमोनिया पाइएको थियो। श्वासप्रश्वासका ती बिरामीमध्ये २६ प्रतिशत बालबालिका र ५५ प्रतिशत बृद्धबृद्धा थिए। सडकमा खटिने ट्राफिक प्रहरीमा वायु प्रदूषणको असर उस्तै भयावह छ।

काठमाडौँमा वायु प्रदूषण नियन्त्रणका लागि सर्वप्रथम यातायातबाट हुने वायु प्रदूषण नियन्त्रण गर्नुपर्छ। यस्तै, सडकको धुलो नियन्त्रण, इँटा भट्टाहरुमा सुधार र फोहोर जलाउने काम नियन्त्रण गर्नुपर्दछ।

काठमाडौँको वायु प्रदूषण नियन्त्रण गर्न तत्काल गर्नुपर्ने कामहरुः

  • निर्माण कार्य (सडक विस्तार र मेलम्ची पाइपलाइन आदि) को धुलो नियन्त्रण गर्न पानी छर्कने व्यवस्था मिलाउने र त्यसको नियमित अनुगमन गर्ने।
  • गाडीहरुको प्रदूषण जाँच प्रणाली (हरियो र रातो स्टिकर टाँस्ने) लाई प्रभावकारी बनाई सडकमा समेत छड्के जाँच गर्ने।
  • इँटा भट्टाहरुको प्रविधिमा सुधार ल्याउने।
  • वायु प्रदूषण नियन्त्रणका लागि कार्य योजना तयार गरी मन्त्रिपरिषदबाट अनुमोदन गराउने।
  • प्रदूषण नियन्त्रण करबाट संकलित रकमको सदुपयोग गर्न आवश्यक निर्देशिका तथा प्रस्‍ताव तयारी गरी कार्यान्वयनमा ल्याउने।
  • वायु प्रदूषणको नियमित अनुगमन गर्ने र त्यसको नतिजा सर्वसाधारणलाई उपलब्ध गराई जनचेतना अभिबृद्धि गर्ने।
  • वायु प्रदूषण नियन्त्रण गर्न विभिन्न निकायहरुबीच समन्वय गर्न वातावरण संरक्षण परिषद्लाई सक्रिय बनाउने।
  • काठमाडौँको यातायात व्यवस्थापन नीति र गुरु योजना तर्जुमा गर्ने।
  • काठमाडौँ दिगो यातायात आयोजना (केएसयुटिपी) कार्यान्वयन प्रभावकारी बनाउने।
  • सार्वजनिक यातायात सुधारका लागि बस, बस बिसौनी र रुटहरुको सुधारमा लगानी गर्ने।
  • , साइकल र विद्युतीय सवारी जस्ता वातावरणमैत्री यातायातको प्रवर्धन गर्न वातावरणमैत्री यातायात नीति कार्यान्वयन गर्ने।
  • फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाई जथाभावि फोहोर फ्याल्ने र जलाउनेलाई कारबाही गर्ने।
  • निर्माण सामाग्री बाटोमा राख्न नदिने र बाटो र फुटपाथको अतिक्रमण रोक्ने।
  • भित्रि सहरहरुमा पैदल यात्रुलाई प्रवर्धन गर्ने।
  • वायु प्रदूषणबाट स्वास्थ्यमा हुने असर र यसबाट बच्ने उपायबारे अनुसन्धान र जनचेताना  अभिवृद्भि गर्ने।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने