मुख्य समाचार

वायु प्रदूषणले काठमाडौँमा बढ्दै छन् नसर्ने रोगका बिरामी

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुरोग, फोक्सोको क्यान्सर, दम लगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको तथ्यांक प्रस्तुत गरियो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीको सङ्ख्या बढिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सरका बिरामी १४ प्रतिशतले बढेको बताए।

कार्कीका अनुसार वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको छ।

उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीले वायु प्रदूषण बढ्नुका प्रमुख कारण पुराना गाडी भएकाले यसको न्यूनीकरणका लागि पहिलो चरणमा सरकारी कार्यालयका २० वर्षभन्दा पुराना गाडी हटाउनुपर्नेमा जोड दिए।

वातावरणविद् डा. भूषण तुलाधरले वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण प्रमुख कारण रहेको बताए। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा बर्सेनि ९ हजार ९ सय ४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन्। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live