फिचर

हिप प्रत्यारोपणपछि १०४ वर्षीया सेतीले भनिन्, ‘स्याँउ कम जि चौदु’

डिबी खड्का

उमेरः १०४ वर्ष
नामः सेती महर्जन
ठेगानाः असन, काठमाडौं
बेड नंः ४४४, ट्रमा सेन्टर
कस्तो छ हजुरआमा अहिले?
नेपालीमा सोधिएको प्रश्नको उनकी माइली छोरी पञ्चमाया महर्जनले नेवारीमा रुपान्तरण गरिदिइन्। भर्खर जाउलो खाइसकेकी उनले ओठमा लागेको दालको रस पुछ्दै नेवारीमा उत्तर दिइन्, ‘स्याँउ कम जि चौदु।’ जसको नेपाली अर्थ ‘दुखाइ कम हुँदै गएको छ’ भन्ने हुँदो रहेछ।

जीवनको १०४ वर्षे यात्रामा अस्पतालको आँगन नटेकेकी सेती महर्जन हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा उपचारत छिन्। केही दिनअघि मात्रै अर्थोपेडिक सर्जन डा. श्रीकृष्ण गिरी नेतृत्वको चिकित्सक समूहले उनको बायाँ हिप प्रत्यारोपण गरिदिएका छन्। जसले उनलाई फेरि दुई साताअघिकै जीवनशैली दोहोर्याउन सक्ने आशा जगाएको छ। यसैले उनको ओठमा मुस्कान फुलेको छ। डाक्टर, आफन्त वा अरु कोही उनीसँग बोल्न जाँदा मज्जाले हाँसिदिन्छिन्, लाग्छ केही भएकै थिएन।

तीन हप्ताअघिसम्मको उनको जीवनशैली देख्नेलाई चकित पार्ने खालको थियो। सुन्नेले नपत्याउन सक्छन्। उनकी माइली छोरी पञ्चमायाले बेलिबिस्तार लगाइन्, ‘उहाँ पाँच तलाको घरको छतमा आफैं चढेर घाम ताप्नुहुन्थ्यो। आफैं लुगा धुने र नुहाउने गर्नुहुन्थ्यो।’

एकदिन खाटबाट ओर्लिने क्रममा एक्कासी लडिन्, उनको हिपको हड्डी भाँच्चियो। डा. गिरीका अनुसार यो उमेरमा हड्डी कमजोर हुने हुँदा अलिकति ब्यालेन्स बिग्रिए पनि भाँचिने जोखिम हुन्छ। त्यसपछि थलिइन्, सेती महर्जन। तर, हिम्मत हारिनन्। आफन्तलाई पाको उमेर भएकाले स्वभाविक रुपमा थलिएको होला भन्ने लाग्यो। भाँचिएको ठाउँमा दुखाइ बढिरह्यो। बिस्ताराबाट उठ्न नसक्ने सेतीले आफ्नै खुट्टा नाँपिन्। बायाँ खुट्टा छोटो पाइन्। त्यसपछि छोरीलाई खुट्टा भाँचिएर छोटो भएको बताइन्।

केही दिनअघिसम्म हाँसखेल गरिरहेकी आमा चोटले थलिएको छोरीहरु सानुमाया, पञ्चमाया र शान्तालाई सह्य भएन। उनीहरुले अस्पताल पुर्याए। डाक्टरले एक्स–रे गरेपछि हिपको हड्डी भाँचिएको पाए। ‘हिप प्रत्यारोपण गर्नुपर्ने त देखियो तर सेतीको उमेर जोखिमपूर्ण थियो। कतै उमेरले शल्यक्रिया सहेन भने...,’ यस्तै लाग्यो डा. गिरीको समूहलाई। देखिएको कुरा आफन्तलाई बताइदिए। यसै पनि धेरै मानिस बाँच्ने औसत उमेर पार गरिसकेकी आमा–हजुरआमाले दुःख पाएर बाँचेको सन्तानले हेर्न चाहेनन्। शल्यक्रिया गरेर हिप प्रत्यारोपण गराउने निक्र्याैलमा पुगे उनीहरु।

आफन्तको अठोटले डाक्टर गिरीको समूहलाई हौसला मिल्यो र गरियो हिप रिप्लेसमेन्ट। जसको परिणाम सेती फेरि तंग्रिन थालेकी छिन्। दुखाइ भुल्दै मुस्कुराउन थालेकी छिन्।

‘उमेरले ५० उकालो लागेपछि जिन्दगी सकियो भन्ठान्नेहरु धेरै छन्। उनीहरुका लागि सेती महर्जन प्रेरणा, हौसला र उदाहरण हुन्,’ डा. गिरीले भने, ‘आफ्नै आत्मबल कमजोर पारेर असमयमै सक्रिय जीवनबाट भाग्नेहरुका लागि उहाँ प्रेरणा बन्न सक्नुहुन्छ।’

सेती महर्जनसँग कुरा गर्दै अर्थोपेडिक सर्जन डा. श्रीकृष्ण गिरी।

एक शताब्दी पार गर्दासम्म एउटा ट्याब्लेट औषधी मुखमा नराखेको बताउने सेती महर्जनको स्वास्थ्य रहस्य खोतल्न मन लाग्यो।

‘कसरी आजसम्म स्वस्थ रहनुभयो त?’

उनले नेवारीमै जवाफ दिइन्, ‘टन्न त्याङ्कनया बुइ ज्यायावः अर्थात् समयमै टन्न खाएर खेतमा बेस्सरी काम गर्थें।’

असनकी स्थायी बासिन्दा सेतीले आफ्नै भाषामा काठमाडौंको पुरानो रुप बताइन्। प्रसस्त खेत, चारैतिर हरियाली थियो ऊ बेला। अघिल्लो भुइँचालोमा धरहराको टुप्पो कसरी भाँचिएको थियो भन्ने पनि उनले सुनाइन्। गत वर्षको भुइँचालोले धरहरा नै निमिट्यान्न पारेको सुन्दा उनको मन अमिलो भएको थियो।

फोटो खिच्ने अनुमति माग्दा उनी मज्जाले हाँसिन्। खाटमा पल्टिरहेकी उनले नातिहरुलाई उठाइदिन भनिन्। त्यसपछि क्यामेराको फ्ल्यास र उनको ओठको मुस्काले एकछिन पौँठेजोरी खेले। उनलाई तस्विर देखाएँ, फेरि हाँसिन्।

उनीसँग बिदा माग्दै गर्दा भनिन्, ‘टाकन लङ्का बियु अर्थात् मलाई चाँडै निको पार्देऊ।’ हामीसँगै रहेका डा. गिरीले भने, ‘प्रयास जारी छ। उहाँको आत्मबलले अपेक्षाभन्दा छिटो स्वास्थ्यमा सुधार आइरहेको छ।’

एक शताब्दी चिहाएका सेती महर्जनका आँखा कमजोर भएका छैनन्। कान टाठै छन्। सेती महर्जनको १०४ वर्षे जोवनलाई मनैदेखि सलाम।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live