समाचार

विषादी हालेका तरकारी कालीमाटी नल्याएर अन्तै बिक्री 

ललितपुर– किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ । 

उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए। 

थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी÷फलफूल बिक्री हुनसक्ने देखियो,” उनले भने ।  

कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ । परीक्षण सुरु हुँदा दैनिक तीन÷चार वटासम्म नमुनामा विषादी पाइए पनि अहिले महिनाको एक÷दुईवटा नमुनामा मात्रै विषादी पाइन थालेको शर्मा बताउनुहुन्छ । नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशनालयले जनाएको छ । रासस 


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने