विश्व स्वास्थ्य

जहाँ विश्वमै सबैभन्द बढी अंगदान हुन्छ

स्वास्थ्य खबरपत्रिका

एजेन्सी– विश्व स्वास्थ्यमा अंगदानको आयाम फराकिलो बन्दै गएको छ। शरीरका कुनै अंगले काम गर्न छाडेपछि दाताको अंग लिएर प्रत्यारोपण गर्ने क्रम विश्वव्यापी रुपमै छ। तर, अंगदानलाई ठाउँ अनुसार फरक–फरक रुपमा बुझ्ने गरिएको छ। कसैले धार्मिक, सांस्कृतिक आस्थाका रुपमा अंगदानलाई उपयुक्त मान्दैनन्। कसैले मानवीयताको धर्मका रुपमा अंगदानलाई पुन्य कर्म ठान्छन्।

धेरैलाई कौतुहल हुनसक्छ संसारमा सबैभन्दा बढी कहाँ अंगदान हुँदो हो भनेर। त्यसको जवाफ हो, स्पेन। स्पेनमा प्रति १० लाख मानिसमा ३६ जनाले अंग दान गर्छन्। मृतकका अंगबाट धेरै बिरामी मानिसले नयाँ जीवन पाउने गरेका छन्। अंग दानमा स्पेनले प्रगति गर्नुका पछाडिको रहस्य के होला त?

सन् १९८९ मा स्पेनको स्वास्थ्य मन्त्रालयले नेसनल डि ट्रान्सप्लान्ट नाम गरेको संस्था स्थापना गरेको थियो। सो संस्थाले स्पेनमा अंगदान र प्रत्यारोपणका गतिविधिबारे अवलोकन गर्छ। संस्थाले सम्भावित दाता खोज्ने र संयोजन गर्ने काम गर्दछ।

स्पेनमा अंग दान गर्न सक्ने स्थितिमा मृत्यु भएका बिरामीबाट अंग निकाल्न संस्थाले विशेष चिकित्सक नै नियुक्त गरेको हुन्छ। ती चिकित्सक सघन उपचारमा दक्ष हुन्छन्। स्पेनिस मोडल अनुसार सघन उपचार इकाइहरुमा मात्र होइन आपतकालीन विभाग र अस्पतालका वार्डहरुमा पनि अंगदानको अवसर उपलब्ध गराइन्छ।

यस बाहेक ६५ वर्ष माथिका मानिसलाई अंगदान गर्न प्रेरित गरिन्छ। साथै, रक्त प्रबाह बन्द भएपछि (रक्त सञ्चालन, मुटुको चाल, श्वासप्रश्वास रोकिनु) मात्र अंगदान गर्नुपर्ने भनी प्रोत्साहित गरिन्छ। तर, ब्रेन डेथमा यी सबै उपाय अपनाइन्छ। स्पेनले अपनाएको मोडल अन्य देशले पनि लागू गर्ने हो भने अंगदान गर्नेको संख्या बढ्न सक्ने विज्ञहरु बताउँछन्।


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने