फिचर

नर्सिङ शिक्षाका लागि ‘बेकार बैङ्गलोर’

img

अनिल न्यौपाने

हजारौं विद्यार्थी पुग्ने कलेजका अवस्थाबारे स्थलगत समाचार संकलनका लागि स्वास्थ्य खबरपत्रिकाको टोली बैङ्गलोर पुग्दा विद्यार्थीका सपनामाथि खेलबाड गर्दै कलेज र कन्सल्टेन्सीवालाहरूको ठगी रहस्य खुलेको हो -

हजारौं विद्यार्थी पुग्ने कलेजका अवस्थाबारे स्थलगत समाचार संकलनका लागि स्वास्थ्य खबरपत्रिकाको टोली बैङ्गलोर पुग्दा विद्यार्थीका सपनामाथि खेलबाड गर्दै कलेज र कन्सल्टेन्सीवालाहरूको ठगीको रहस्य खुलेको हो ।   विदेश पढेर फर्किएका नर्सहरू ज्ञानले पूर्ण र सीपले दक्ष होलान् भन्ने सोच्नु भएको छ भने तपाईं सत्य नहुन सक्नुहुन्छ । भारतको बैङ्गलोरस्थित ‘डब्बा कलेज’का उत्पादनलाई झेल्नुप¥यो भने धेरैले नाक खुम्च्याउँदै भन्नेछन्, ‘यस्ता पनि नर्स !’ नेपाली विद्यार्थीलाई लक्षित गरेर बैङ्गलोरका चोकचोकमा खुलेका नर्सिङ कलेजहरू कुनै हिसाबले पनि कलेज भन्न लायक छैनन् । न ती कलेजका उत्पादनहरू नर्सिङ जनशक्ति भन्न सुहाउने नै छन्।

 नर्सिङ शिक्षामा ख्याति कमाएको बैङ्गलोरको पुरानो ख्याति सम्झिएर यहाँ पढ्न जानेमध्ये  थोरै भाग्यमानी विद्यार्थी मात्रै राम्रा कलेजमा पुगेका छन् । त्यस्ता भाग्यमानीहरू ज्ञान र सीपका हिसाबले अब्बल पनि छन् । गुणस्तरीय शिक्षाका लागि जतिसुकै खर्च गर्न तयार हुने अविभावक र राम्रो कलेज पढ्न चाहाने विद्यार्थीको आंकक्षाको फाइदा उठाएर  कन्सल्टेन्सी (दलाल)मार्फत् त्यस्ता कलेजमा पु¥याइएकाहरूको शिक्षाको अवस्था मात्रै होइन दैनिक जीवन पनि कष्टप्रद छ ।

‘डब्बा’ कलेजका होस्टलमा बस्ने नेपाली विद्यार्थीको दैनिकी कुनै कैदीको भन्दा भिन्न छैन । अनलाइनमा देखाइने अत्याधुनिक भवन, चिट चोराएको भरमा ल्याइएको परिणामको प्रतिशत र व्यवस्थित तथा सुरक्षित जीवनशैली देखेर दक्ष नर्स बन्ने सपना बोकेर बैङ्गलोर पुग्ने नेपाली विद्यार्थी प्रत्येक पल पछुताएर र आफू ठगिएको महसुस गरेर ‘जसोतसो’ पढाइ त पूरा गरेर फर्किन्छन् । तर, दक्ष जनशक्ति बन्नका लागि आवश्यक पर्ने कुनै सीप उनीहरूले सिक्न पाएका हुँदैनन् ।

हजारौं विद्यार्थी पुग्ने कलेजका अवस्थाबारे स्थलगत समाचार संकलनका लागि स्वास्थ्य खबरपत्रिकाको टोली बैङ्गलोर पुग्दा विद्यार्थीका सपनामाथि खेलबाड गर्दै कलेज र कन्सल्टेन्सीवालाहरूको ठगी रहस्य खुलेको हो ।   बैङ्गलोरका नेपाली विद्यार्थी लक्षित सयभन्दा बढी कलेजमा तीन हजारभन्दा बढी विद्यार्थी बीएस्सी र पाँच सयभन्दा बढी विद्यार्थी एमएस्सी नर्सिङ अध्ययनरत रहेको अनुमान छ । राजीव गान्धी युनिर्भसिटि अफ हेल्थ साइन्सले यकिन तथ्यांक दिन मानेन । यी विद्यार्थीसँगै  नर्सिङ शिक्षाका लागि कर्नाटक प्रदेशमा मात्र वर्षेनी पाँच अर्ब नेपाली रुपैयाँ पुग्ने गरेको अनुमान छ । यसको बदलामा नेपालले गुणस्तरहीन जनशक्तिसँग नेपाली बिरामीमाथि जोखिम मोलिरहेको छ ।

पीसीएल (जीएनएम) पढ्ने विद्यार्थीको संख्या न्यून छ । नेपालबाट लाँदा विद्यार्थीलाई राम्रा कलेज, योग्य शिक्षक, आफ्नै अस्पताल, सुरुदेखि नै प्रयोगात्मक अभ्यास, सुविधासम्पन्न होस्टल र नेपाली खानाको व्यवस्था हुन्छ भनेर प्रलोभनमा पारिन्छ । तर, त्यहाँका अधिकांश कलेज भाडामा लिइएका साँघुरा कोठा भएका घरमा सञ्चालित छन् । केही कलेजमा प्रिन्सिपल कक्ष र पढाइ कोठासमेत एउटै रहेको देखियो । त्यहाँ न पुस्तकालय हुन्छ, न उपयुक्त प्रयोगशाला।

पढाउने शिक्षकको गुणस्तरमा पनि मनग्ने प्रश्न उठेका छन् । त्यसैले अध्ययन गुणस्तरीय छैन । अधिकांश कलेजले चौथो वर्ष अध्ययनरत विद्यार्थीलाई नै पहिलो वर्षका लागि पढाउन दिएका हुन्छन् । माथिल्लो तहमा समेत अधिकांश भर्खर पास गरेका र पढाउने अनुभव बटुल्न आउने प्रशिक्षार्थी शिक्षकहरू भेटिए । नेपाली विद्यार्थी लक्षित ती कलेजहरूले पैसा खुवाएको भरमा विश्वविद्यालयको समेत अनुगमन खेप्नुपर्दैन । यी कलेजमा मुस्किलले मात्रै भारतीय विद्यार्थी पुग्ने भएकाले विश्वविद्यालयका लागि कलेजको गुणस्तर टाउको दुखाइको विषय बन्दैन। 

बैङ्गलोरस्थित दयानन्द सागर कलेज अफ नर्सिङकी प्रिन्सिपल लक्ष्मी टी गोदारले अधिकांश कलेजले पैसाको भरमा स्वीकृत लिने र नवीकरण गराउने गरेको बताइन् । ‘नेपाली विद्यार्थीलाई लक्षित गरी व्यापारिक प्रयोजनले खोलेका कलेज हुन्, कसरी गुणस्तरी शिक्षा हुन्छ ?’ उनले भनिन्, ‘सरकारलाई सबै कुरा थाहा छ, तर थाहा नपाएजस्तो गरी बसेको छ ।’ उनले त्यहाँका कलेजलाई ‘डब्बा’ कलेजको संज्ञा दिइन् । त्यहाँका कलेजको पढाइको अवस्था यति नाजुक छ कि भारतकै अर्को प्रान्त केरलाले समेत बैङ्गलोरमा उत्पादित नर्सहरूलाई मान्यता दिएको छैन। 

बैङ्गलोरको सरकारी अस्पताल भिक्टोरियामा भेटिएकी आचार्य कलेज अफ नर्सिङमा बिएस्सी चौथो वर्षमा अध्ययनरत सुलोचना (नाम परिवर्तन) तेस्रो वर्षमा पुग्दा मात्र रक्तचाप नाप्न जानेको बताउँछिन् । पहिलो वर्षदेखि नै अस्पतालमा प्रयोगात्मक अभ्यास गराइनुपर्ने भए पनि उनलाई चौथो वर्षमा पुग्दासम्म बिरामीलाई सिरिन्ज लगाउने आत्मविश्वास छैन । हामीले बैङ्गलोर भ्रमणको उद्देश्य खुलाएपछि उनले आफ्ना पीडा सुनाइन्।

‘कन्सल्टेन्सीले व्याख्या गरेजस्तो केही पनि छैन । न पढाउने शिक्षक छन्, न प्राक्टिकल नै,’ उनको गुनासो थियो, ‘बच्चैदेखिको सपना चकनाचुर भयो ।’ उनका अनुसार यति सानोसानो कुरा पनि झुट हुन्छ कि, दिनमा चार पटक खाना खुवाउने भने पनि तीन पटकभन्दा खुवाउँदैनन् कलेजहरूले । प्याकेज भनेर तिरेको पैसाभन्दा दुई लाख भारतीय रुपैयाँभन्दा बढी खर्च भइसकेको उनको अनुभव थियो ।  पुतलीसडकस्थित नेम इन्टिच्युटमार्फत बैङ्गलोर पुगेकी सुलोचनालाई यहाँ आउनुपूर्व कन्सल्टेन्सी सञ्चालकहरूले केही गुनासा भए हामी आएरै हल गर्छौं भनेका थिए । तर, चार वर्षसम्म दजर्नौं पटक गुनासो गर्दासमेत उनीहरूको अत्तोपत्तो नपाइएको गुनासो उनको छ । यो त उदाहरण मात्र हो, सुलोचनाजस्ता धेरै विद्यार्थी ‘फँसियो’ भन्दै पछुताइरहेका छन्। 

नेपाली कन्सल्टेन्सीले बाँड्ने झुट त एक ठाउँमा छ । कलेजबाट झेल्नुपर्ने तनाव अर्को ठूलो समस्या हुन्छ नेपाली विद्यार्थीका लागि । पद्यमश्री कलेज अफ नर्सिङमा अध्ययनरत प्रतिमा पोखरेललाई दुई वर्षअघि आत्महत्याको अवस्थामा पु¥यायो, कलेजकै तनाबले । केआर कलेज अफ नर्सिङकी एक नेपाली छात्राले आत्महत्या प्रयास गरिन् । साथीहरूले उनलाई त बचाए तर पढाइ पूरा नगरी नेपाल फर्किनुप¥यो ।   केआर कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार बागबजारस्थित ग्लोबल नामको कन्सल्टेन्सीले प्याकेज भनेर पठाए पनि कलेजले पास हुनका लागि छुट्टै पैसा, कोठा भाडामा बसेजस्तो पानी, बिजुलीको छुट्टाछुट्टै पैसा मागेर तनाबै दिन्छ । शान्तिनगरस्थित इन्डो एसियन कन्सल्टेन्सीबाट बैङ्गलोरको इन्डोएसियन कलेजमा पु¥याइएका विद्यार्थीले कन्सल्टेन्सीले देखाएभन्दा फरक भवनमा पढ्नुपरेको थियो। 

झुटैझुटले पु¥याइन्छन् बैङ्गलोर

नर्सिङ पढ्ने तीव्र इच्छा राख्नेहरू जब विकल्पको खोजीमा कुनै कन्सलटेन्सीमा पुग्छन्, कन्सलटेन्सी सञ्चालकहरूले उनीहरूलाई प्रभावमा पार्दै झुटैझुटले लोभ्याउँछन् । बैङ्गलोरमा शैक्षिक सत्र नेपालका कलेजहरूको भन्दा करिब तीन महिना अगावै सुरु हुने हुनाले कन्सलटेन्सीवालाले नेपाली कलेजको भरमा पर्दा नाम ननिस्किए एक वर्ष ढिला हुन्छ भन्दै विद्यार्थीलाई सुरुमै डर देखाउँछन् । साथै, उनीहरूले बैङ्गलोरका कलेजका झुटपूर्ण विशेषता रटान लगाउँछन् ।   आचार्य कलेज अफ नर्सिङमा अध्ययनरत सीमा शर्मा (नाम परिवर्तन) नेपालमा नाम ननिस्किए एक वर्ष खेर जाने डरले बैङ्गलोर आएको बताउँछिन् । कलेजका विशेषता र शुल्कका प्याकेज भन्दै बताइएका कुरा बैङ्गलोर पुगेपछि सबै झुट रहेको प्रमाणित हुने गरेको त्यहाँ पुगेका अधिकांश विद्यार्थीको तीतो अनुभव छ। 

रमाइलो कुरा त के छ भने, काठमाडौंका रहेका कन्सल्टेन्सी सञ्चालकहरू आफूहरूले पठाउने बाहेकका अरू सबै कलेज ठगीका लागि खोलिएका हुन् भन्ने दाबी गर्छन् ।  पुतलीसडकस्थित ग्रिनवीच इन्टरनेसनल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत राजेश चापागाईंलाई बैङ्गलोरका अधिकांश कलेज नेपालको सीटीईभीटीका भन्दा कमजोर गुणस्तरको रहेको थाहा छ । ‘त्यहाँ ‘ए’देखि ‘डी’ग्रेडसम्मका कलेज छन्’ उनको दाबी थियो, ‘केही कलेजले विद्यार्थीसँग अनावश्यक पैसा पनि लिने गरेका छन् तर हामीले पठाउने कलेज उत्कृष्ट नै छ ।’ आफूले पठाउने कलेजबाहेकका सबै नराम्रा भन्ने भनाइ सबै कन्सलटेन्सीवालाको छ। 

नेम अन्तर्गतको निर्भना इन्टरनेसनलका सीईओ सन्तोष सिटौलाको दाबी पनि चापागाईंको भन्दा भिन्न छैन ।  इन्डोएसियन कन्सल्टेन्सीका निर्देशक रमेश जोशीले आफूहरूले पठाएका विद्यार्थीले बैङ्गलोरमा गोल्ड मेडलसमेत पाएको दाबी गरे । भने, ‘हामीले झुक्याएर पठाएका छैनौं त्यस्तो पाए भन्नुस्, सजाय भोग्छु ।’ त्यहाँ पुगेका नेपाली विद्यार्थीले पढाइमा मिहेनत गर्नुको विकल्प रहन्न । कलेजले नपढाउने र बाहिर निस्किन पनि नदिने भएपछि विद्यार्थीसँग थ्यौरी घोक्नुबाहेक कुनै काम हुँदैन । धेरै कलेजले परिणाम राम्रो देखाउन परीक्षामा सीसीटीभी राखे पनि नदेखिने ठाउँमा बसेर शिक्षकहरूलाई उत्तर बताउन लगाएर परीक्षामा सघाउँछन् । बैङ्गलोर दयानन्दसागर कलेजकी प्रिन्सिपल गोदार पनि नेपाली विद्यार्थीको मेहनतको प्रशंसा गर्छिन् । ‘सेल्फ एजुकेसनले गोल्डमेडल त ल्याउँछन्, तर नर्सिङ शिक्षामा पास हुनुले मात्र अर्थ राख्दैन,’ उनले थपिन् ‘प्राक्टिकल ज्ञान नै छैन भने त्यस्तो शिक्षाले झन् स्वास्थ्य प्रणालीमा नै जोखिम बढाउँछ।’ 

नेपालस्थित निमास एजुकेसनका कार्यकारी निर्देशक सरोज थापा त बैङ्गलोरका निजी कलेजले प्राक्टिकल गर्न नदिने राजिव गान्धी विश्वविद्यालयकै नियम भएको दाबी गर्छन्। उनको भनाइ शत्प्रतिशत झुट हो । ग्लोबलकी एड्मिसन संयोजक निता योगी आफूले पठाउने कलेजले पहिलो वर्षदेखि नै क्लिनिकल प्राक्टिस गराउने दाबी गर्छिन् । तर, यथार्थ नेपालका एजेन्ट, दलाल र कन्सलटेन्सीले बोलेको भन्दा धेरै फरक छ । 

गोदारका अनुसार बैङ्गलोरका १० प्रतिशत नर्सिङ कलेजमा मात्रै राम्रो पढाइ हुन्छ । ‘९० प्रतिशत नेपाली विद्यार्थी गुणस्तरहीन कलेजमा भर्ना भएका छन्,’ गोदारले यथार्थ बताइन्, ‘कमिसनका आधारमा एजेन्टले कलेज खोजेर विद्यार्थी भर्ना गर्छन् र भाग्छन् । मलाई त यो देख्दा विद्यार्थी खरिदबिक्री भएजस्तो लाग्छ ।’

प्याकेज भन्दै ठग्दै 

विद्यार्थीलाई बैङ्गलोर पठाउने समयमा कन्सल्टेन्सीले प्याकेज शुल्क भनेर पठाए पनि त्यहाँ पुगेपछि विद्यार्थीलाई विभिन्न डर, धम्की देखाएर अप्ठेरोमा पार्दै अनेक बहानामा कलेजहरूले बढी शुल्क असुल्ने गरेका छन् । अधिकांश कलेजमा पढ्ने विद्यार्थीले नेपालका कन्सलटेन्सीले भनेभन्दा औसत तीन लाख नेपाली रुपैँया बढी तिर्नुपरेको छ । पहिला तोकेभन्दा बढी पैसा नदिएमा आन्तरिक नम्बर नै नदिएर अनुत्तीर्ण गराइदिने धम्कीसमेत कलेजले दिन्छन् । यस्ता धम्कीबाट आजित भएका विद्यार्थीले आफूलाई पठाएको कन्सल्टेन्सीमा जति गुनासो गरे पनि उनीहरूको समस्याको सम्बोधन हँुदैन।

पुतलीसडकको इन्डो वर्ड कन्सल्टेन्सीबाट इन्डियन एकेडेमी पुगेकी रोशनीले सो कन्सल्टेन्सीले कलेजको भवन पनि अर्कै देखाएर झुक्याएको कलेज पुगेपछि मात्रै चाल पाइन् । सो कलेजमा चार वर्षमा चार वटा होस्टेल परिवर्तन भयो । प्याकेजभन्दा तीन लाख बढी खर्च गरेकी रोशनीले कन्सल्टेन्सीवालाले बोलेका मध्ये २० प्रतिशत कुरा मात्रै सत्य पाइन् ।   आचार्य कलेज अफ नर्सिङमा प्याकेज ६ लाख शुल्क बताए पनि कलेजले ८ लाख रुपैयाँ असुल्छ । यो कलेजको नर्सिङका लागि आफ्नो भवन, होस्टेल र अस्पताल समेत छैन । प्राक्टिसका लागि अस्पतालले लिने शुल्कभन्दा दोब्बर शुल्क कलेजले असुल्छ ।

जति कन्सल्टेन्सी उति फरक शुल्क 

बैङ्गलोरका कलेजका नाममा नेपालका कन्सल्टेन्सीको कति मनोमानी छ भन्नका लागि ती कन्सल्टेन्सीले भन्ने शुल्कको सूची हेर्दा पनि थाहा हुन्छ । एउटै कलेजका नाममा नेपाली कन्सल्टेन्सीले असुल्ने शुल्कमा लाखभन्दा बढीको भिन्नता छ । आचार्य कलेज अफ नर्सिङका लागि अल्फाबिटा एजुकेसनल कन्सल्टेन्सीले प्याकेज शुल्क नेपाली रुपैयाँ आठ लाख ८० हजार, नेम इन्स्टिच्युट अन्तर्गतको निर्भनाले सात लाख १२ हजार, बागबजारको निमास एजुकेसनले ६ लाख ९६ हजार रुपैयाँ शुल्क रहेको बताउँछन् । कृपानिधि कलेजका लागि अल्फाबिटाले प्याकेज शुल्क सात लाख २० हजार, ग्रिनविच इन्टरनेसनल एजुकेसनले ६ लाख ९६ हजार, ग्लोबल एजुकेसन कन्सल्टेन्सीले पाँच लाख ९६ हजार ६ सय ८० नेपाली रुपैयाँ लाग्ने बताएका छन्। 

केआर कलेजका लागि नेमले ६ लाख ८० हजार, ग्रिनविचले ६ लाख र अल्फबिटाले सात लाख २० हजार लाग्ने बताएका छन् । प्रसाथी कलेजका लागि निमासले ६ लाख ७४ हजार चार सय र ग्रिनविचले पाँच लाख ८४ हजार रुपैयाँ लाग्ने भन्दै छुट्टाछुट्टै शुल्क उठाउँछन् । इन्डियन एकेडेमीका लागि ग्लोबलले ६ लाख १२ हजार, अल्फाबिटाले ६ लाख आठ हजार असुल्छन् । कन्सल्टेन्सीको यस्तो सूची हेर्दा लाग्छ बैङ्गलोरका नर्सिङ कलेजका नाममा लुटको छुट छ, जसले जति लुटे पनि हुन्छ ।


ठूला अस्पतालको नाम बेच्दै भर्ना गर्दै

नेपालमा बैङ्गलोरका राम्रा कलेज भन्दै कन्सल्टेन्सीहरूले विज्ञापन गरिरहेका कलेजको हालत त्यहाँ पुगेपछि मात्रै कति नाजुक छ भन्ने थाहा हुन्छ । अधिकांश कलेजको आफ्नो अस्पताल छैन र अस्पताल भएका कलेजले पनि आफ्नै विद्यार्थीलाई समेत बिरामी छुन दिँदैनन् । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका अस्पतालको नाम बेच्दै विद्यार्थी बैङ्गलोर पु¥याइन्छन् । बैङ्गलोरका अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका एपोलो, मणिपाल, नारायण हृदयम, फोर्टिस, मल्लिगे, हस्म्याट, कोलम्बिया एसियाजस्ता नामी अस्पतालका नाम धेरै कलेजका ब्रोसरमा बेचिएका छन् । यिनै अस्पतालमा प्राक्टिकल गराइन्छ भन्दै विद्यार्थीलाई फसाइन्छ । तर, यस्ता कुनै पनि अस्पतालले अन्य कलेजका विद्यार्थीलाई बिरामी छुन पनि दिदैनन् । त्यस्ता अस्पतालमा विद्यार्थीले बिरामीको बेड मिलाउने, पिसाबको ट्रे सफा गर्ने र ब्लडप्रेसर नाप्ने सामान्य काम पाउन पनि मुस्किल छ। 

बैङ्गलोर मेडिकल टुरिजम सिटी भएकाले विदेशी बिरामी बढी आउँछन् । अस्पतालले जोखिम लिन नचाहने भएकाले विद्यार्थीलाई बिरामी छुन नदिइने गरेको एपोलो अस्पतालका एक चिकित्सकले बताए । विद्यार्थीले अध्ययनअनुसारको अभ्यास गर्न पाउनु त कता हो कता बिरामीलाई नजिकबाट देख्नसमेत पाउँदैनन् ।

परीक्षामा घोटाला 

२०६९ सालमा भएको पीसीएल नर्सिङ (जीएनएम) परीक्षामा घोटाला भएपछि बैङ्गलोरका ५० हजारभन्दा बढी विद्यार्थीले पुनः परीक्षा दिनुप¥यो । बैङ्गलोरका एक सय ४४ नर्सिङ कलेज फर्जी कार्यमा संलग्न भएको पाइएपछि ५२ हजार ३७ विद्यार्थीले पुनः परीक्षा दिनुपरेको थियो । पुनः परीक्षा जिल्लाको साहयक कमिसनरको नेतृत्वमा भएको थियो । फर्जी कार्यमा संलग्न प्रमुख निरीक्षक र अनुगमनकर्तासहित दुई सय ५५ जना अन्य पदाधिकारीलाई एक वर्षका लागि निलम्बनसमेत गरियो । एक सय ४४ कलेजका करिब पाँच हजार विद्यार्थी फर्जी कार्यमा संलग्न थिए । यसमध्ये पनि एक हजार तीन सय ४६ जना विद्यार्थीको प्रयोगात्मक र लिखित उत्तर पुस्तिकाको हस्ताक्षर मिलेको थिएन । बाँकी तीन हजार ६ सय ५५ विद्यार्थीको भने अक्षर र हस्ताक्षर पूरै फरक थियो । अनुसन्धान अनुसार एउटा पनि उत्तर नलेखेका विद्यार्थीले पनि ५० अंकमा ४० भन्दा बढी ल्याएको पाइएको थियो । यस्तै अवस्था बीएस्सी नर्सिङमा पनि रहेको विद्यार्थीको भनाइ छ ।

नेपाली नगए कलेजै बन्द 

बैङ्गलोरको इन्डो एसियन एकेडेमीमा बीएस्सी नर्सिङमा दुई सय ४० जना नेपाली विद्यार्थी छन् । इन्डियन एकेडेमी अफ नर्सिङ कलेजमा बीएस्सीमा कुल ७४ विद्यार्थी छन् । जसमध्ये ६८ जना नेपाली र २ जना नेपालीभाषी भारतीय हुन् । आचार्य कलेज अफ नर्सिङमा एक सय जना नेपाली विद्यार्थी नर्सिङमा अध्ययनरत छन् । उनीहरूमध्ये ९१ जना बीएस्सीमै पढ्छन् ।   सीएमआर कलेज अफ नर्सिङमा अध्ययनरतमध्ये ९० जना नेपाली विद्यार्थी हुन् । त्यसैगरी, केआर कलेज अफ नर्सिङमा ८० जना नेपाली विद्यार्थी अध्यनरत छन् । इन्डियन एकेडेमी अफ नर्सिङमा ७८ विद्यार्थीमध्ये ७४ जना नेपाली छन् । यस्तै, मंगला कलेज अफ नर्सिङमा ५० नेपाली विद्यार्थी बीएस्सी नर्सिङमा अध्ययनरत छन् । अन्य कलेजको आँकडा पनि यो भन्दा भिन्न छैन।

कर्नाटक स्टेट नर्र्सिङ काउन्सिलले पाँच सय ३७ नर्र्सिङ कलेजलाई सम्बन्धन दिएको छ । यीमध्ये अहिले करिब दुई सय २५ कलेज सञ्चालित छन् । नेपाली विद्यार्थी नगए बैङ्गलोरका ५० भन्दा बढी कलेज त बन्द नै हुन्छन् भने करिब एक सय कलेज संकटमा पर्नेछन् । बैङ्गलोरमा नर्सिङ अध्ययन गर्नेमध्ये नेपालीपछि ठूलो संख्या भारतीय मूलका नेपालीको नै छ । भारतीय मूलका नेपाली पनि नजाने हो भने करिब दुई सय नर्सिङ कलेज बन्द हुने अनुमान गर्न सकिन्छ।

पछुताउँदै विद्यार्थी

 म सत्यनिष्ठाले भगवान्भन्दा अघि यहाँहरूसँग पवित्र मन र इमान्दारितापूर्वक पेसागत अभ्यास गर्ने प्रतिज्ञा गर्दछु । मैले जीवनभर कसैलाई हानीकारक औषधि दिनेछैन र जानीबुझी कसैको क्षति पु¥याउनेछैन । मेरो पेसाको गुणस्तर र प्रगतिका लागि मेरो सबै सामथ्र्य लगाउनेछु । म व्यक्तिगत तथा पारिवारिक कारणले मेरो पेसाबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दछु । म मेरो पेसाप्रति वफादारिताका साथ चिकित्सकलाई सहयोग र बिरामीको सेवामा समर्पित रहन प्रतिबद्ध छु ।

बैङ्गलोरबाट बीएस्सी नर्सिङको अध्ययन पूरा गरी नेपाल फर्किएकी काठमाडौँकी सिता चापागाईलाई नर्सिङ सेवाकी आदर्श फ्लोरेन्स नाइटिङ्गेलको नाममा लिइने यो सपथ सम्झिँदा पनि आत्मग्लानी हुन्छ । अब्बल नर्स बनेर पेसागत धर्म निर्वाह गर्ने सोचले बैङ्गलोर पुगेकी उनालाई चार वर्षको पढाई सकेर आउँदा सपथमा उल्लेखित प्रतिबद्धताले नै मन पोल्ने अवस्था ल्यायो । कारण थियो, बैङ्गलोरको गुणस्तरहीन शिक्षा र त्यहाँसम्म पु¥याउने कन्सल्टेन्सीको बेइमानी ।

नेम इन्टिच्युटका दलालले दिएको भ्रमपूर्ण तथ्यले बैङ्लोरको आचार्य कलेज पुगेकी चापागाईंले चार वर्ष बिताउँदा कुनै गर्व गर्न लायक एउटै सीप सिक्न सकिनन् । अहिले उनी बैङ्गलोरमा अधुरा रहेका सपना पूरा गर्न सिनामङ्गलस्थित नोवल अस्पतालमा पैसा तिरेर सीप सिक्दैछिन् । पेसागत दायित्व र क्षमताको मर्म बोकेको सपथले भित्रभित्रै पोल्न थालेपछि पढाइका लागि बिताएको समय र खर्च गरेको पैसामै पछुताउने चापागाईंजस्ता विद्यार्थीको संख्या हजारौं छ । यसले विद्यार्थीको भविष्यसमेत अन्धकार बनाउँदै लगेको छ ।

-  प्रकाशित मिति:२०७० फागुन २ गते 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live